धेरै घुमियो, अनि लेखियो : राजकर्णिकार

काठमाडौं, १९ भदौं । यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वः (भीमरथारोहण अर्थात् बूढो पास्नी) मनाउन लागेका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफैं निम्तो दिन छोरीहरुका साथ दिनभर आफै कार हाँकेर घरघर पुगे ।

उनी र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्व सन्ध्यामा भदौ १५ गते भिक्षु भिक्षुणीहरुले बौद्ध परम्परानुसार परित्राण पाठ गरी शुभकामना र आशिष दिए भने भदौ १७ गते साहित्यकारहरु मात्र जमघट गराई उनले बधाई र शुभकामना थाले । यसै वर्ष उनको साहित्य लेखनको ५५ वर्ष पनि पुग्दैछ ।

उनी हालसम्म एशिया, युरोप र अमेरिकाका २० भन्दा बढी राष्ट्र पुगे भने छिमेकी देश चीन पुग्न पनि तीव्र लालायित छन् । जहाँ टेके पनि नियात्रा लेख्ने उनी ल्हासा मात्र जाने निमन्त्रणा आए पनि त्यहाँ गएका छैनन् । स्वदेशभन्दा उनलाई बढी विदेशकै यात्राले बढी तानेको छ । संयोग र व्यावसायिक काम पनि त्यस्तै प¥यो उनलाई । कति देश घुमियो भनी कण्ठस्थ भन्न पनि सक्दैनन् ।

उनको पहिलो नियात्रा कृति ‘विदेशको यात्रा स्वदेशको सम्झना’ (२०३७) यति लोकप्रिय भई दियो कि उनी आफै प्रकाशक रहेको सो कृतिको सातौं संस्करण प्रकाशन भइसकेको छ । सरल भाषाशैली, तीव्र अनुभूति र कौतुहलता तथा पाठकलाई लेखकले घुमेको स्थानमा लान सक्ने विशेषता सो कृतिको भएको भनी आफूले पाठकको प्रतिक्रिया पाएको लेखक बताउँछन् ।

यात्रा विवरणमा निजी अनुभूति घोलिने नियात्रालाई लोकप्रिय बनाएका लेखकका नियात्रासम्बन्धी मात्रै नेपाली र अङ्ग्रेजी गरी छ कृति प्रकाशित छन् ।

‘विदेशको यात्रा स्वदेशको सम्झना’, ‘देशप्रदेशको भ्रमण’ २०४३ (तेस्रो संस्करण), ‘बौद्ध तीर्थयात्राः नालन्दादेखि लुम्बिनीसम्म’ २०६० (तेस्रो संस्करण) ‘यात्रा अमेरिकाको माया नेपालको’ २०६९ (तेस्रो संस्करण), ‘यात्राको लहरीमा हिउँफूलकी रानी’ २०७४ र ‘माइ ट्राभल्स इष्ट एण्ड वेष्ट’, सन् २०१३ (विसं २०७०) नियात्रा कृतिमध्ये ‘यात्राको लहरीमा…’ (डिकुरा प्रकाशन) ले त रु एक लाखको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार पनि जितेको छ ।

त्यसो त उनले संस्कृति मन्त्रालयबाट प्रदान गरिएको रु एक लाखको महाकवि देवकोटा पुरस्कार २०७१ र एक लाखकै शमी साहित्य साधना सम्मान २०७३ लगायत करीब दुई दर्जन सम्मान, पुरस्कार एवं पदक पनि पाइसकेका छन् ।

बौद्धदर्शन, उद्यम र लेखनलाई एकसाथ अपनाउँदै आएका राजकर्णिकार लेखनले नै आफूलाई समाजमा चिनाएको बताउँछन् । विशेष गरी व्यावसायिक कामको सिलसिलाले विदेशमा पुर्‍याए पनि त्यसलाई लेखनमा उतारी शुरुशुरुमा आफै प्रकाशक बनी प्रकाशन गर्न पाएकाले कृति बजारमा आउन सकेकामा उनी गौरव गर्व गर्छन् । ‘पैसा नभएको भए कृति पनि कहाँ निक्लन्थ्यो र ?’ उनी आफैसँग प्रश्न गर्छन् ।

उनका ‘केही चिन्तन केही मन्थन’ ( २०३५), ‘सम्झनाको लहरमा लहरिँदै जाँदा’ (२०५२), ‘पवित्र सम्झना आमाको’ (२०५५), ‘गजराज राजकर्णिकारको वंशावली’ (२०६१), ‘अनुभव र अनुभूतिमा घनश्याम राजकर्णिकार’(२०६२), ‘बुद्धज्योतिका केही रश्मि’ (२०६४) कृति र ‘बुद्धको सम्झना कल्याणको कामना’(२०३९) सम्पादित कृतिले पनि उनलाई विशिष्ट पहिचान दिलाएका छन् ।

बिहानको समय योग, विपश्यना ध्यान, संस्कार च्यानलमा अध्यात्म विषय र युट्युबाट बौद्ध प्रवचन श्रवण गर्ने राजकर्णिकार प्रातः भोजनपछि १० बजे कृष्ण पाउरोटी भण्डार प्रालिको आफ्नो कारखानामा नित्य पुगी २ बजेसम्म रेखदेख गर्छन् जहाँ धर्मपत्नी शान्ता तथा पाँच छोरीहरु रीना ताम्राकार, दीपा ताम्राकार, प्रज्ञा श्रेष्ठ, सृष्टि श्रेष्ठ र पूजा शिख्राकार सञ्चालक र प्रबन्धक रही आफ्नो कम्पनीलाई अघि बढाइरहेका छन् ।

कारखानामा पाउरोटी, केक, कुकिज, पेस्ट्री आदिका मात्र ६०–७० आइटमहरु बन्छन् । दिउँसो बाहिरी काम र साहित्यिक कार्यक्रमहरुमा पुग्ने उनी बेलुकी मात्र लेखपढमा लाग्छन् । उनले घुमेका देशमा मन परेकामा जापान, अमेरिका र सिङ्गापुर, शहरमा टोक्यो, हिरोशिमा, न्यूयोर्क, चेन्नई, पुने, पेरिस र लण्डन, विदेशी खानामा साउथ इण्डियन खाना, पिजा, ब्रेड बटर, ब्राउन ब्रेड, मल्टीग्रेन ब्रेड, हाइ फाइबर कुकिज, चिज केक, ब्ल्याक फरेष्ट पेष्ट्री, पेय पदार्थमा अमेरिकी मिल्क कफी र क्यापाचिनो कफी, वेशभूषामा जापानी किमोनो लागेको छ ।

‘अमेरिकीहरु फ्रेण्डली पाएँ, जापानीहरु रमाइला लागे, जर्मनहरु कर्तव्यनिष्ठ र डेनिसहरु फुर्तिलो पाएँ’, उनले भने । नेपालका कमै ठाउँमा पुगेका उनी पोखरा, अन्नपूर्ण, लुम्बिनी र नगरकोट मन पराउँछन् । आफन्तहरुसँग सम्पत्तिका मामिलामा निकै उतारचढाव, तनाव र द्वन्द्व भोगेका राजकर्णिकार विपश्यना ध्यानले नै आफूलाई हृदयाघातबाट जोगाएको जिकिर गर्छन् ।

विपश्यनापछि माछामासु छाडेका उनी उच्च रक्तचाप र मधुमेहले नछुँदा भने सन्तोष व्यक्त गर्छन् ।
‘मनमा शान्ति लिन सकूँ, लोभ गर्न नपरोस्, लिनुभन्दा दिन सकूँ, बुद्धको शिक्षा पालना गर्न सकूँ’, कृष्ण पाउरोटी भण्डार प्रालि र बौद्ध प्रवचन समाजका अध्यक्ष राजकर्णिकार कामना गर्छन् । उनी हाल घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा र पाउरोटीका अग्रणी मेरा पिताजी दुई कृति प्रकाशनको तयारीमा छन् ।

सके नियात्रा पुरस्कार र घनश्याम राजकर्णिकार फाउण्डेशन खडा गर्ने सोचमा छन् । ‘मलाई अब घुम्न पुग्यो, चीनको ग्रेटवाल र नेता माओत्सेतुङको शव हेर्ने रहर चाहिँ खूबै छ । धेरै घुमियो, धेरै देखियो, लेख्नचाहिँ कहिल्यै छाड्दिन’, उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्