अपर नौगाडको विद्युत उत्पादन असोज पहिलो हप्ताबाट


२० भाद्र २०७६, शुक्रबार
Upper nougad hidro

दार्चुला, २० भदौं । दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको आयोजनाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेघावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि हाइड्रोपावरले माथिल्लो नौगाड जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुर्‍याएको हो ।

यसअघि चैतभित्रै विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएकोमा साउन महिनाको बाढी र प्राविधिक कारणले निर्माण कार्यमा केही ढिलाइ हुन गएको आयोजनाका इञ्चार्ज मधुसुदन कोइरालाले जानकारी दिए । एक अर्ब ८० करोड रुपैयाँको लागतमा माथिल्लो नौगाड निर्माण हुँदैछ । आठ मेगावट विद्युत् थप भएसँगै सुदूरपश्चिममा भइरहेको विद्युतको अनियमित कटौती पनि घट्ने विश्वास गरिएको छ ।

निजी क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा अपि हाइड्रोपावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालेको हो । अहिले विद्युत गृहमा इलेक्ट्रोनिक मेकानिकल जडान तथा परीक्षणको काम भइरहेको कोइरालाले बताए । विद्युत्गृहमा चार–चार मेगावाट क्षमताका दुईटा युनिट राखिएको आयोजनाले जनाएको छ ।

भारतबाट विद्युत गृहको सामान ल्याएर जडान गरिएको छ । विसं २०७५ साउनको बाढीबाट निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएका कारण आयोजनाको लागत र समय थप गरिएको उनको भनाइ छ । गएको साउनमा आएको बाढीले मात्रै आयोजनामा रु १० करोडको क्षति भएको थियो ।

नौगाड गाउँपालिका–६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको विद्युत्गृहमा खसालिएको छ । पाइपलाइन (पेनस्टक) को लम्बाइ पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको थियो ।

अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिने छ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको आयोजना इञ्चार्ज कोइरालाले बताए ।

विसं २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको नौगाड प्रथम जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरिकै नमूना योजना बनेको थियो । कोइरालाका अनुसार माथिल्लो नौगाड आयोजनाको बहुवित्तीय व्यवस्थापन नेपाल एसबिआइ बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक लिमिटेड समेतको लगानीमा निर्माण भएको हो ।

यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरण र अपिपावर कम्पनी लिमिटेडबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) यसअघि नै भइसकेको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाइ कार्यक्रम भइसकेको आयोजनाले जनाएको छ । दार्चुलाको गुल्जरमा आयोजना निर्माण गर्नका लागि भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवर्धक कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले हस्ताक्षर गरेका थिए ।

यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग ग्रीड लाइन तथा जडानका लागि भने सम्झौता सम्पन्न भइसकेको अपि हाइड्रोपावर कम्पनीले जनाएको छ । शुरुमा साढे आठ मेघावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडेको अपि हाइड्रो पावरले थप आठ मेघावाट क्षमताको अपर नौगाडको निर्माण अन्तिम चरणमा र्पुयाएपछि माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको हो ।

अपर चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख करोड युनिट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । कम्पनीले दशैँपछि निर्माण सुरु गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड रुपैयाँको हिसाबले आयोजनाको कूल लागत ७ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान कम्पनीको छ ।

विद्युत् प्राधिकरण आफैंले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण लागत प्रतिमेगावाट झण्डै रु ५३ करोड पुगेको थियो । माथिल्लो चमेलिया आयोजनाको निर्माणपछि सुदूरपश्चिम प्रदेशमा विद्युत् आपूर्ति बढ्ने र भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास कम्पनीको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७