कामका लागि सुदूरपश्चिमका मजदुर तेह्रथुममा


६ पुष २०७४, बिहीबार
majdur
majdur
फाइल तस्बिर ।

 तेह्रथुम : कञ्चनपुरको बेलौरी नगरपालिकाका–४ का ३६ वर्षे प्रेमकुमार चौधरी आफ्ना दुईजना भान्जासहित मजदुरीका लागि सुदूर पूर्वको तेह्रथुममा छन् ।

डेढ महिनाअघि अलिअलि भएको बालीनाली थन्काएर चौधरी मजदुरीका लागि दोस्रो पटक यता आउनुभएको हो । उहाँ गत असारमा छ महिना यतै बसेर काम गरेर घर फर्किएका थिए ।

गाउँघरमा काम पाए पनि ज्याला कम हुने र कामको निरन्तरता पनि नहुने भएकाले घरमा श्रीमतीलाई एक्लै छाडेर पनि टाढासम्म आएर काम गरिरहेको उनले बताए ।

बेलौरी नगरपालिका–४ कै रामबहादुर चौधरीका दाजुभाइ पनि अहिले तेह्रथुममै मजदुरी गरिरहेका छन् । उमेरमा २५ नकटेका यी दुई युवा घरमा भएका आमा, बुबा र बहिनीको समेत पेट पाल्न मजदुरी गर्छन् ।

“गाउँमा खेती गरिखाने जमिन कम छ, मजदुरी गर्दा ज्याला पनि कममात्रै पाइन्छ” रामबहादुरले भने, ‘त्यसैले दुई चार पैसा जोहो गर्न यता आएका हौँ ।’

पढ्ने र भविष्य बनाउने उमेरका धेरै युवा पनि गरिबीका कारण मजदुरी गर्न बाध्य देखिए । कक्षा–११ को परीक्षा दिएर पढाइ पूरा गर्ने खर्च नहुँदा मजदुरी गर्न यहाँ आउनुभएका बेलौरी नगरपालिका–६ का अशोककुमार चौधरीले पढ्न मन भएको तर कमजोर आर्थिक अवस्थाले मजदुरी गर्नुपर्ने बाध्यता सिर्जना गरेको बताए ।

यिनीहरू जस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका मात्रै २० जना युवा अहिले मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्डअन्तर्गत ओयाक्जुङमा कार्यरत छन् । ती युवाको नेतृत्व प्रेमकुमार चौधरीले गरेका छन् ।

लोकमार्गमा काम गर्दा दैनिक रु ५०० देखि एक हजार २०० सम्म कमाइ हुने चौधरीले बताए । ‘मिस्त्रीको दैनिक रु एक हजार २०० सम्म हुन्छ, अरु हेल्पर र ढुंगाको काम गर्नेको रु ५०० देखि रु ७०० वा रु ९०० सम्म कमाइ हुन्छ’ उनले भने ।

यसरी दैनिक ज्यालाबाट मासिक रु २५ हजार देखि रु ४० हजारसम्म कमाइ हुने गरेको छ । उनीहरू सिकिस्त बिरामी पर्दा र चाडपर्वबाहेक अन्य समयमा घर पुग्दैनन् । छ महिनामा एक पटकसम्म घरमा पुगेर घर व्यवहार मिलाउने र फेरि मजदुरीमै फर्किने चलन रहेको प्रेमकुमारले बताए । उनीहरूले ठेकेदार कम्पनीबाट काम लिएर मेसिनरी, वाल, ग्याभियन भर्ने, नाली निर्माण गर्नेलगायत काम गरिरहेका छन् ।

आफूहरू मजदुरीकै लागि दर्जनौँ जिल्ला पुगिसकेको उनीहरू बताउँछन् । परदेश जाँदा धेरै खर्च लाग्ने र परिवार साथीभाइभन्दा धेरै टाढा जानुपर्ने भएकाले स्वदेशमै काम गर्न आएको उनीहरू बताउँछन् । मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुममा तमोर नदीको माझीटार दोभानदेखि म्याङलुङ सडकखण्ड (८९ किमी) का विभिन्न क्षेत्रमा धमाधम काम भइरहेको छ ।

सडक निर्माणका क्रममा अहिले यहाँ एक हजार भन्दा बढी मजुदर कार्यरत रहेका छन् । १७ वर्षे ठिटादेखि विवाहित तथा परिपक्व बुढापाका पनि लोकमार्गमा मजदुरी गरिरहेका भेटिन्छन् ।

कतिपय परिवारसहित साना नानीहरूसमेत लिएर मजदुरी गरिरहेका भेटिन्छन् । तीमध्ये अधिकांश पश्चिम नेपालका मजदुरहरू रहेको लोकमार्गको सो खण्ड हेर्ने इञ्जिनियर सुरेश तुम्बाहाम्फेले बताए ।

उनका अनुसार पश्चिम नेपालका कञ्चनपुर, कैलाली, रुकुम, रोल्पा, सुर्खेत, सल्यान र डोटीका समेत गरी ७०० भन्दा बढी कामदार रहेका छन् । बाँकीमध्ये केही तेह्रथुमकै स्थानीय कामदार र संखुवासभा तथा भोजपुरका पनि केही कामदार रहेका उनले बताए ।

यहाँ मजदुरी गर्न आएकाहरू गत मंसिर २१ मा सम्पन्न भएको दोस्रो चरणको चुनावमा मतदान गर्नसमेत गाउँ फर्किएनन् ।

‘चुनावको बारेमा त थाहा थियो, गाउँ पुग्नै चार दिन लाग्थ्यो, खर्च पनि उत्तिकै,’ एक मजदुरले भने, ‘त्यसैले चुनावमा पनि गइएन ।’

खेती लगाउन गएका बेला परेकाले स्थानीय चुनावमा भने मतदान गरेको उनीहरू बताउँछन् । तर दोस्रो चरणमा प्रतिनिधि र प्रदेशसभाको चुनाव भएका जिल्लाका मजदुर कसैले पनि यो पटक भोट हालेनन् ।

भोट हाल्न जाँदा खर्च हुन्छ, त्यो खर्च कसैले पनि नदिने भएकाले आफूहरू भोट हाल्न नगएको उनीहरू बताउँछन् । त्यसो त निर्माण कम्पनीले उनीहरूलाई मतदान गर्न जाँदा छुटेका दिनको ज्याला पनि दिँदैन । काम छाडेर जाँदा फेरि काम गर्नै नदिनेजस्ता समस्या पनि उनीहरू माथि थियो । लोकमार्गको माझीटार—संक्रान्ति हुँदै म्याङलुङ जोडिने सडकखण्डमा अहिले ग्याभियन, ब्याक कटिङ, ड्रेन निर्माण तथा सडक चौडा गर्नेलगायत काम भइरहेका छन् ।

यो खण्डमा कालोपत्रेसम्म गर्नका लागि कोशी न्यौपाने, सिंह एण्ड ब्रदर्स, रसुवा, हिलाई, सिद्धिसाई, कालिकालगायत निर्माण कम्पनीले कामको जिम्मा पाएका इञ्जिनियर तुम्बाहाम्फेले टेलिफोनमा बताए । ‘विभिन्न खण्डको काम विभिन्न चरणमा गरेर भइरहेको छ’ उनले भने, ‘बीचबीचमा चुनाव र चाडपर्वले असर गरेपनि अहिले पुनः काम धमाधम शुरु हुँदैछ ।’

दुई वर्षअघि नै कालोपत्रेसम्मका लागि ठेक्का लागेका लोकमार्गका यी खण्डको कामको प्रगतिका आधारमा भने खासै सन्तोषजनक नभएको उनले बताए । तर अब कामको रफ्तार बढेको खण्डमा आगामी दुईवर्षभित्र माझीटारदेखि संक्रान्ति खण्ड कालोपत्रे भइसक्ने उनी बताउँछन् ।

त्यतिबेलासम्म ओयाक्जुङ—हलिमेला—म्याङलुङखण्ड पनि कालोपत्रे भइसक्ने उहाँले बताउनुभयो । बीचको केही भाग, कोयाखोला र खोरुंगा खोलामा पुल निर्माणको कामले समेत अब गति लिने इञ्जिनियर तुम्बाहाम्फेले दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७