प्रचण्डको गृह जिल्लामा नेकपाले लगायो ९८ वडाको टुङ्गो, कसको भागमा कति ?


२० भाद्र २०७६, शुक्रबार
nekapa

चितवन, २० भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वडा पूर्वएमाले र १४ वडा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ । राप्ती नगरपालिकाका १३ वडामध्ये सात वडा पूर्व एमाले र छ वडा पूर्व माओवादीको भागमा परेको छ ।

यस्तै खैरहनी नगरपालिकाको १३ मध्ये सात पूर्व एमाले र छ पूर्व माओवादीको भागमा परेको छ । रत्ननगर नगरपालिकाका १६ वडामध्ये पूर्व एमाले र पूर्व माओवादीको भागमा आठ–आठ वडा परेका छन् ।

कालिका नगरपालिकाका–११ वडामध्ये छ पूर्व एमाले र पाँच पूर्व माओवादीको भागमा परेको उनले जानकारी दिए । इच्छाकामनाका सात वडामध्ये चार पूर्व एमाले र तीन पूर्व माओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकाका नौ वडामध्ये पाँच पूर्व एमालेको भागमा र चार पूर्वमाओवादीको भागमा परेको छ ।

१२५ सदस्यीय महानगर कमिटीमा पूर्व एमालेको भागमा ६५ र पूर्व माओवादीको भागमा ६० जना परेको परियारले जानकारी दिए । इच्छाकामना गाउँ कमिटीमा ४० पूर्व एमाले र ३५ पूर्व माओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै माडी नगरपालिकामा ४० पूर्व एमाले र ४१ पूर्व माओवादीले नेतृत्व लिने सहमति भएको छ । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्व एमालेका तर्फबाट ४३ र पूर्व माओवादी केन्द्रको तर्फबाट ३८ जना परेका छन् ।

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति पनि टुङ्गो लगाएको छ । क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा क्षेत्र समन्वय समितिको संयोजक पूर्व एमालेको भागमा र क्षेत्र नम्बर ३ पूर्व माओवादी केन्द्रको भागमा परेको छ ।

यस्तै प्रदेशसभा क्षेत्र समन्वय समितिअन्तर्गत चितवन १ (क) मा पूर्व माओवादी केन्द्र, १ (ख)मा पूर्व एमालेको संयोजक हुने भएका छन् । यस्तै २ (क) मा पूर्वमाओवादी,२ (ख) मा पूर्व एमाले र ३ (क) मा पूर्व एमाले र ३ (ख) मा पूर्व माओवादीको भागमा परेको परियारले जानकारी दिए । भागबण्डासँगै ती पदहरुमा पूर्व एमाले र माओवादीका तर्फवाट जो अध्यक्ष रहेका थिए उनीहरु नै अध्यक्ष भएका छन् ।

सात पालिकाका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय सचिवालय, विभिन्न विभाग र जनवर्गीय सङ्गठनको टुङ्गो लगाउन बाँकी रहेको छ । बिहीबार बसेको पार्टीको बैठकमा अध्यक्ष परियारले प्रस्ताव पेश गरेका थिए । बैठकमा सहभागी केहीले आफ्नो राय दिएको भए पनि सर्वसम्मतबाट अनुमोदन गरिएको परियारले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७