यी हुन् गृहमन्त्रीले समेत छुन नसकेका पाँच सिडिओ


२१ भाद्र २०७६, शनिबार
cdo

काठमाडौं, २१ भदौं । सामान्यतया एक–एक वर्षमा सिडिओको सरुवा हुन्छ । गृह मन्त्रालयले यो वर्ष पनि सबै जिल्लाका सिडिओहरुको हालै हेरफेर गरेको छ । तर, सिडिओ सरुवामा केही अनौठो देखिएको छ । एक वर्ष पुगे पनि केही ‘पावरफुल’ सिडिओहरुलाई निरन्तरता दिएको छ ।

त्यसरी सरुवा रोक्न सक्नेमा पाँच जना सिडिओ छन् । जसमा भक्तपुरका नारायणप्रसाद भट्ट, चितवनका जितेन्द्र बस्नेत, स्याङजाका कोशहरी निरौला, गुल्मीमा यदुनाथ पौडेल र बर्दियाका रामबहादुर लिम्बू कुरुमवाङ हुन् । उनीहरु पाँचै जनाको कार्यकाल करिब १५ महिना पुगिसकेको छ । तर, जिल्लाका माफिया तथा शक्तिकेन्द्रहरुको सेटिङमा उनीहरुको सरुवा हुन सकेन ।

गृह प्रशासनको इतिहासमा यस्तो विकृती पहिलो पटक देखिएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । विगतमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकै कारण यस्तो भएको थियो । उनले आफु निकट सिडिओ गणेश कार्कीलाई दुई कार्यकाल मोरङमा राखेका थिए । जून विषय निकै विवादित समेत बनेको थियो ।

यसरी थमौती गरिएकमध्ये स्याङजाका निरौला र बर्दियाका कुरुमवाङ त उपसचिव हुन् । उपसचिवलाई ६ महिनाभन्दा लामो समय कुनै पनि कार्यालयको कायममुकाय दिन नमिल्ने निजामती सेवा ऐनमा व्यवस्था छ । तर, कानून मिचेर १५ महिनादेखि उनीहरुलाई सहसचिव हुने जिल्लामा कामु सिडिओको जिम्मेवारी दिइएको छ ।

चितवनका बस्नेत प्रचण्ड परिवारलाई रिझाएकाले त्यही बस्ने अवसर पाएका हुन् । त्यस्तै गुल्मीका पौडेलको परराष्ट्रपति प्रदीप ज्ञवालीमार्फत त्यही बस्न दबाब दिएका थिए । बर्दियाका लिम्बू र स्याङजाका निरौलालाई गृहसचिवको आशिवार्द रहेको स्रोत बताउँछ ।

त्यसो त यस पटकको सिडिओ सरुवामा पनि कामुको बिकृती हटेन । पाँच जिल्लामा उपसचिवलाई कामु सिडिओ बनाएर खटाइएको छ । धनकुटा, सप्तरी, महोत्तरी, काभ्रे र पाल्पामा उपसचिवलाई कामु दिएर खटाइएको छ ।

धनकुटामा डा कृष्ण प्रसाद घिमिरे, सप्तरीमा सुनिल खनाल, महोत्तरीमा सूर्यबहादुर खत्री, काभ्रेमा श्रवण कुमार तिमल्सिना र पाल्पामा उमेश कुमार ढकाललाई कामु सिडिओका रुपमा खटाइएको छ ।

हाल करिब दुई दर्जन जिल्लामा उपसचिवलाई कामु बनाएर सहसचिव हुने जिल्लामा खटाइएको छ । उपसचिवहरुको चलखेलका कारण गृहमा यस्तो विकृती भएको हो । गृहमन्त्रीलाई समेत थाहा नदिई उनको सचिवालय र एक विचौलिया समूहले यसरी सिडिओ सरुवामा चलखेल गर्दै आएको कुरा दृष्टि साप्ताहिकले खबर छापेको छ । चलखेलकै कारण सिडिओ सरुवा झन्डै एक महिना रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७