एनआरएनलाई गतिशिल बनाउने छु : पुनम गुरूङ


२१ भाद्र २०७६, शनिबार
Poonam Gurung 1

लण्डन, २१ भदौं । गैरआवसीय नेपाली संघलाई गतिशिल बनाउनु आजको आवश्यकता र समयको माग भएको गैरआवसीय नेपाली संघ (एनआरएन) की उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी पुनम गुरूङले बताएकी छन् ।

शुक्रवार लण्डनको साउथ हयारोमा रहेको गोल्डेनसीपमा युवा तथा सामाजिक संघसंस्थाका व्यक्तित्वहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा गुरूङले यस्तो बताएकी हुन् ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै गुरूङले गैरआवसीय नेपाली संघ (एनआरएन) हिजोको जस्तो परम्परागत ढर्रा शैली भन्दा फरक तवरले समय सन्दर्भ गतिशिल बनाउनु पर्ने धारणा व्यक्त गरेकी छन् । एनआरएनलाई समय परिस्थिति अनुसार गतिशिल बनाउन आफूले उम्मेद्वारी दिएको बताइन् ।

‘हिजो आफ्नै तरिकाले चल्दै आयो । आज समय र परिस्थिति फरक छ । समय र परिस्थितिलाई मध्यनजर गर्दै संस्थागत बिकासमा मेरो मुख्य ध्यान जानेछ’ उनले भनिन् । गुरुङले थपिन्, ‘गैरआवासीय नेपाली संघ स्थापना भएको लामो समय बितिसक्यो तर, यसले कुनै फड्को मार्न सकेको छैन । संस्थागत संरचना बलियो भए मात्रै संस्था मतबुत र गतिशिल हुन्छ । मेरो पहिलो प्राथमिकता एनआरएनलाई गतिशिल बनाउने काम हुनेछ र बाँकी कुराहरूलाई क्रमशः गर्दै जानेछु ।’

Poonam Program

गैरआवासीय नेपाली संघ बेलायत स्थापना भएको दुई दशक बित्न लाग्दा कार्यालय समेत छैन । संस्थाको अभिलेख पनि व्यवस्थित छैन । त्यसैले कार्य सञ्चालनमा सहजताका लागि व्यवस्थित बनाउने काम पहिलो काम हुने गुरुङले बताइन् । उनले भनिन्, ‘त्यसपछि गैरआवासीय नेपालीहरूको दोहोरो नागरिकता, नागरिकताको निरन्तरता, हकअधिकार सम्बन्धमा क्रमशः काम गर्दै जानेछु ।’

अन्तरक्रियाका क्रममा गुरूङले नागरिकता निरन्तरता सबै नेपालीहरूका लागि महत्वपूर्ण एजेण्डा भएको धारणा व्यक्त गरिन् । कुनै न कुनै माध्यमबाट यहाँको नागरिकता लिने परिस्थिति भए पनि नेपालसँग भावनात्मक र साँस्कृतिक साइनो रहेकाले नागरिकता निरन्तरता आफूहरुको महत्वमा पर्ने उनले बताइन् ।

उनले भनिन्, ‘हामी नेपाली नागरिक भएर बेलायतमा छौं । हाम्रो मन र योगदान नेपालप्रति छ । लगानी र सहयोगको हिसावमा पनि हामी नेपालप्रति उत्तरदायी छौं ।’

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले अबको एनआरएन र गोर्खा अधिकार, युवा सहभागिताको बिषयमा प्रश्न राखेका थिए । सहभागीहरूले राखेको प्रश्नको उत्तर दिदै गुरूङले सबै बर्ग समुदाय र समूहलाई समेटेर जाने प्रतिबद्धता व्यक्त गरिन् ।

हिजोका राम्रा कुराहरूलाई स्वामित्व ग्रहण गरेर नयाँ ठोस गतिशिल योजनाका साथ नयाँ आउने पिंढी युवा बर्गलाई समेत समेटेर जाने प्रतिवद्वता रहेको उनले बताएकी छन् । उनले भनिन्, ‘मेरो प्रतिवद्धता बोलीमा मात्रै सीमित हुँदैन । व्यवहारमा तदारुकताका साथ लागू गर्नेछु ।’

बेलायतमा मुलतः उमेर, व्यवहार, योग्यता र दक्षताको आधारमा फरक फरक पुस्ताबीच संस्थागत कुराहरुमा खाडल छ । त्यो खाडललाई हटाउन सबै पुस्तालाई समेटनु पर्ने हुन्छ । निर्वाचित भएपछि यी र यस्ता कामहरूलाई प्राथमिकता राखेर काम गर्ने गुरूङले बताइन् ।

अन्तरक्रिया कार्यक्रममा तामाङ समाज बेलायतका अध्यक्ष कुमार लामा र किरात राई यायोक्खा बेलायतका केन्द्रीय उपाध्यक्ष राजकुमार राईले पनि आफ्नो धारणा राखेका थिए ।

गैरआवासीय नेपाली संघ बेलायतको भूमिका बृहत् बनाउनुपर्ने धारणा तामाङ समाजका अध्यक्ष कुमार लामाले बताए । एनआरएनलाई बेलायतमा बस्ने नेपालीहरूको साझा थलोको रूपमा बिकास गर्नका लागि आगामी आउने नेतृत्वले विशेष ध्यान दिनुपर्ने लामाले सुझाव दिए ।

एनआरएन बिदेशमा बस्ने नेपालीहरूको साझा चौतारी भएको सबै नेपालीलाई यसको छाताभित्र ल्याउनुपर्ने किरात राई यायोक्खा बेलायतका केन्द्रीय उपाध्यक्ष राजकुमार राईले बताएका छन् । हामी देशको परिस्थितिको बाबजुत बिदेशमा बस्न बाध्य भएका छौं । नागरिकतालाई निरन्तरता दिएर हामीलाई सरकारले न्याय दिनुपर्ने राईको धारणा थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतको नेतृत्व चयनका लागि १४ सेप्टेम्बरमा निर्वाचन हुँदैछ । निर्वाचनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा पुनम गुरूङ र शेरबहादुर सुनार प्रतिष्पर्धामा छन् । दुवै अध्यक्षका उम्मेद्वारहरू नेतृत्व हत्याउन चुनावी अभियानमा व्यस्त छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७