लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का नेकपाबाट निलम्बित


२२ भाद्र २०७६, आईतवार
Gaunpalika

रामेछाप, २२ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई पार्टीबाट निलम्बन गरेको छ ।

पार्टीको नीति र अनुशासन विपरीत गतिविधि गरेको र सहकर्मीहरुलाई झुठा मुद्दामा फसाउन पदको दुरुपयोग गरेको भन्दै पार्टी सदस्यबाट निलम्बन गरिएको नेकपाले जनाएको छ ।

नेकपा–३ नम्बर प्रदेश कमिटीले खड्कामाथि ठाडो कार्बाही गरी कार्यान्वयनका लागि जिल्ला कमिटीमा निर्देशन पठाएको हो । खड्का नेकपाका रामेछाप जिल्ला कमिटी सदस्य पनि हुन् । उनी गत स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

खड्कालाई निलम्बनको कार्बाही गरिएको नेकपाका प्रदेश कमिटी सचिव आनन्द पोखरेलले पुष्टि गरेका छन् । पार्टीको संरचनाभित्र नबस्ने, छलफलमा भाग नलिने र बाहिरबाट अनुशासनहीन गतिविधि नरोकिएपछि रामेछापमा पार्टी जोगाउन यस्तो कदम चाल्नुपरेको उनले बताएका छन् ।

खड्काले गाउँपालिका उपाध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य दीपशिखा दाहाल, नेकपाका अर्का नेता धु्रव कार्की र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोरालाई झूठा मुद्दामा फसाउन पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

त्यस्तै दुरागाउँको विद्युतीकरणमा अनियमितता भएको र अनियमितता छानविन नगरी थप बजेट निकासा नगरौं भन्दा उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि नै आक्रमणमा उत्रिएको आरोप पनि उनीमाथि लागेको छ ।

अध्यक्षबाट असुरक्षित भएको भन्दै प्रशासकीय अधिकृत भुपेन्द्र राई गाउँपालिका फर्किएका छैनन् । एउटै पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीचको विवादका कारण गाउँपालिकाको काम समेत एक महिनादेखि ठप्प छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७