१२ बुँदे समझदारीमा भारतको कुनै संलग्नता छैन : वरिष्ठ नेता नेपाल


२२ भाद्र २०७६, आईतवार
madhav kumar nepal 3

काठमाडौं, २२ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन राजनीतिक दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका विदेश विभाग प्रमुख नेता नेपालले भारतको संलग्नतामा सो १२ बुँदे समझदारी भएको भन्ने भनाईमा कुनै सत्यता नभएको दावी गरेका छन् ।

लक्ष्मण पन्तद्धारा लिखित ‘नेपाल, भारत र छिमेक : चार दशकका मुख्य घटना’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीसँग १२ बुँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको बताएका छन् ।

सो समझदारीका लागि तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको नेता नेपालले स्पष्ट गरे ।

१२ बुँदे समझदारीको खेस्रा बनाउने पहिलो व्यक्ति आफू भएको जानकारी गराउँदै नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल सो समझदारीका लागि दिल्ली आएको पनि खुलासा गरे ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको जानकारी गराउँदै नेता नेपालले पुस्तकमा उक्त तथ्य नआएकोमा असन्तुष्टि समेत जनाए ।

नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र विद्रोही माओवादीको तर्फबाट डा. बाबुराम भट्टराईले १२ बुँदे समझदारीका लागि खेस्रा तयार पारेको पनि जानकारी गराए ।

बरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन विद्रोही माओवादीसँग दिल्लीमा १२ बुँदे समझदारी नभएको यसअघि पनि बताउँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७