नेपालगञ्जमा कर्णाली स्याउको भर


२३ भाद्र २०७६, सोमबार
apple

नेपालगञ्ज, २३ भदौं । नेपालगञ्ज बजारमा अहिले फलफूलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ ।

एक किलोको रु १०० देखि १२० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगञ्ज बजारबाट पाखा लगाइसकेको छ । नेपालगञ्जमा अहिले कर्णाली बाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताए ।

नेपालमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र मुगुको स्याउको खुबै नाम छ । जैविक मानिने भएकाले यो क्षेत्रको स्याउ प्रख्यात छ । नेपालगञ्जका फलफूल व्यापारीहरु अहिले कर्णाली जिल्लाका स्याउ बिक्रीमा व्यस्त छन् ।

जुम्ला लगायतका जिल्लामा मोटरबाटो पुगेकाले अहिले सडक मार्गबाटै स्याउ आउँदा सस्तो पर्ने गरेको छ । नेपालगञ्जमा दैनिक चार–पाँच ट्रक स्याउ आउने गरेको स्याउ व्यापारीहरु बताउँछन् ।

नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुट्कर बिक्रेताहरुले किनेर बजारमा बिक्री गरिरहेका छन् । स्याउका खुद्रा व्यापारी असलम अन्सारीले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौँमा पनि लैजाने गरेको बताए ।

कर्णालीको स्याउले नेपालगञ्जमा राम्रो बजार लिएपछि त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ ।

नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन्, ‘कर्णालीबाट अहिले एकै जातको स्याउलाई दुई वर्गमा विभाजित गरी नेपालगञ्ज पठाउने गरिएको छ ।’ नेपालगञ्ज ल्याइएका कर्णालीको स्याउ यहाँबाट बर्दिया र कैलालीमा पनि पठाउने गरिएको व्यवसायी साहुले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७