कार्यालय हिंडेकी युवतीमाथि १० जनाद्वारा सामुहिक बलात्कार

रसुवामा पनि दुई बालिकामाथि एकैपल्ट बलात्कृत


२४ भाद्र २०७६, मंगलवार
gang rape

नवलपुर, २४ भदौं । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिंडेकी १९ वर्षीया किशोरीमाथि १० जनाको समूहले सामुहिक बलात्कार गरेको छ । एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो ।

मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए । घटनास्थल भारतको सीमा नजिकै पर्छ ।

घटनाको एक घण्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । उजुरीलगत्तै पीडित किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको, एक जना भने अझै फरार रहेको इप्रका बेलटारीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रीमलले बताए ।

‘घटनास्थल भित्री सडकखण्डको एकान्तमा पर्छ,’ इन्स्पेक्टर श्रीमलले भने, ‘समयमै सूचना पाएकाले अभियुक्तहरूलाई छिटै पक्राउ गर्न सफल भयौँ । फरार रहेका एक जना पनि उम्किन सक्दैनन् ।’ पीडित किशोरी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न १९ देखि ४० वर्षसम्मका
बलात्कारमा संलग्नहरू १९ देखि ४० वर्षसम्मका छन् । १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका हुन् ।

उनीहरू सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ । तर, पीडितहरूसँग उनीहरूको चिनजान नभएको समेत प्रहरी बताउँछ । उनीहरूलाई जबरजस्ती करणी मुद्दामा सोमबार अदालतबाट म्याद थपेर हिरासतमा राखिएको नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आचार्यले बताए ।

कानुन भन्छ– सामुहिक बलात्कारका दोषीलाई १५ वर्ष कैद
मुलुकी अपराध संहिताको परिच्छेद १८ को दफा २९९ को उपदफा (७) अनुसार सामूहिक बलात्कार मुद्दामा १५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । १८ वर्षभन्दा माथिका युवतीमाथि हुने बलात्कारमा १० वर्ष कैद र सामूहिक बलात्कार भए थप पाँच वर्ष कैद सजाय हुने व्यवस्था छ । सोही सजाय माग दाबी गरी मुद्दा चलाउने प्रहरी तयारी छ ।

रसुवामा पनि दुई बालिकामाथि एकैपल्ट बलात्कृत
रसुवामा आइतबार दिउँसो ११ वर्षीया र ६ वर्षीया दुई बालिका बलात्कृत भएका छन् । उनीहरूको ठेगाना भने प्रहरीले गोप्य राखेको छ । बलात्कारको आरोपमा प्रहरीले रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरेको छ ।

उनले दुवै बालिकालाई फकाएर जंगलमा लगेर बलात्कार गरेको डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । सुनारलाई सोमबार जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको उनले बताए । दुवै बालिकालाई प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा ल्याई काउन्सिलिङ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७