डिएसपीले जोगाए देशको ‘इज्जत’


२४ भाद्र २०७६, मंगलवार
dysp hobindra

काठमाडौं, २४ भदौं । गत वर्ष भारतमा अन्तर्राष्ट्रिय एटिम ह्याकरले एकै रात ९४ करोड भारु गायब बनाए । हाइटीमा त्यसैगरी बैंकको एटिएमबाट करोडौं रकम लुटियो । ती घटनामा चिनियाँ गिरोह संलग्न रहेको आशंका गरिए पनि अभियुक्तहरु अहिलेसम्म पत्ता लागेको छैन ।

त्यही शैलीमा गत साता नेपालमा एटिएम ह्याकिङ गरेर पैसा चोर्न आएका चिनियाँ गिरोह भने एटिएम बुथबाट पैसा निकालेर होटल पुग्न नपाउँदै समातिएको छ । नेपाल प्रहरीको दु्रत एक्सनले बैंकहरुको करोडौं रकम मात्र होइन, देशकै इज्जतसमेत जोगिएको छ ।

यसरी प्रहरी र देशको इज्जत माथि उठाउने भूमिकाको केन्द्रमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र बोगटी थिए । उनको प्रयासमै ‘हाइटेक’ चिनियाँ गिरोह अपराध गरेर भाग्न नपाउँदै प्रहरी कब्जामा परेको थियो ।

व्यक्तिगत चिनजानका आधारमा केही व्यक्तिहरुबाट आएको सूचनाका आधारमा अघिल्लो शनिबार उनी आफ्नो टिम लिएर अनुसन्धानमा खटिएका थिए । नविल बैंकको एटिएम बुथबाट एक चिनियाँ पैसा निकालेर होटलतर्फ जाँदै थिए ।

त्यही क्रममा बाटैमा उनले ती चिनियाँलाई पक्राउ गरेर अनुसन्धान गर्दा थप पाँच चिनियाँ पक्राउ परेका हुन् । अर्का एक चिनियाँ मुलकी फ्रेन्च नागरिक भाग्ने क्रममा विमानस्थलमा पक्राउ परेका थिए ।

अवैधरुपमा डलर साट्न सहयोग गर्ने तीन नेपालीसहित नौ जनालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं परिसरका एक प्रहरी अधिकृत भन्छन् ‘बोगटीसाब मात्र त्यो दिन नभएको भए आइतबार दिउँसो मात्र यो कुरा बैंकहरुले थाहा पाउँथे, जतिबेलासम्म चिनियाँहरुले देश छाडिसकेका हुन्थे ।’

नेपाल प्रहरीको अन्य देशका प्रहरीले समेत उच्च प्रशंसा गरेका छन् । इन्टरपोलले समेत यससम्बन्धी चासो देखाएको छ । अन्तर्राष्ट्रियस्तरमै नेपाल प्रहरी कति बलियो छ भन्ने सन्देश विश्वमा पुगेको छ । अन्तर्राष्ट्रिय ह्याकर नेपालमा पक्राउ परेको घटनालाई विश्वभरिकै मिडियाले प्रमुखताका साथ समाचार छापेका छन् ।

निर्मला पन्त प्रकरणदेखि रवि लामिछाने प्रकरणसम्म प्रहरीले निकै आलोचना खेपेको थियो । प्रहरीप्रति सर्वसाधरणमा नकारात्मक धारण बढेको थियो । तर, प्रहरीको यो एटिएम ह्याकर अप्रेसनपछि धेरैले नेपाल प्रहरीको प्रशंसा गरेका छन् ।

हुन त अपराध अनुसन्धानमा नेपाल प्रहरीलाई विश्वकै उत्कृष्ट १० प्रहरी संगठनका रुपमा लिइने गरिएको छ । तर, सही व्यक्तिलाई सही ठाउँमा पदस्थापन नहुने, अत्याधिक राजनीतिक हस्तक्षेप हुने र सरुवा बढुवालाई पारदर्शी बनाउन नसक्दा देशले प्रहरी अधिकृतहरुको क्षमताको फाइदा लिनसकेको छैन ।

अर्काे दुःखको कुरा यसरी संगठनको लागि ज्यान दिएर काम गर्नेहरुको राज्यले उचित मूल्याङकन गर्ने गरेको छैन । बढुवा, सरुवा तथा विभूषणमा काम गर्ने भन्दा चाकडी गर्नेहरुले अवसर पाउने गरेको खबर दृष्टि साप्ताहिकले छापेको छ । संगठनका लागि सधैँ फिल्डमा खटिने डिएसपी बोगटी जस्ता अधिकृतहरु भने पछि पर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७