पश्चिमा सँस्कृतिलाई पछ्याएर नेपालको विकास हुँदैन : प्रदीप गिरी

‘सरकारले दुई–चार मान्छे मरे मरुन्, दुई–चार महिला बलात्कृत भए हुन् भन्न पाइँदैन’


२४ भाद्र २०७६, मंगलवार
pradeep giri

काठमाडौं, २४ भदौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले पश्चिमा सँस्कृतिलाई पछ्याएर नेपालको विकास नहुने दावी गरेका छन् ।

उनले नेपालको विकासका लागि अब सरकार र राज्यले बैकल्पिक बाटो खोज्नु पर्ने औंल्याएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिंडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने औंल्याए ।

स्व. वीपी कोइरालाले विकास गर्दा सँधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउँदै आएको स्मरण गराउँदै उनले वीपीले देखाएको बाटोमा हिंड्न आग्रह समेत गरे । उनले भने, ‘कुनै पनि विकास कुनै पनि समाजवाद कुनै पनि साम्यवाद मनुष्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ ।

मनुष्य साध्य हो । मनुष्य साधन होइन । केही हुँदैन विकास हुँदैछ । दुई–चार वटा मान्छे मरे मरुन् । दुई–चार महिला बलात्कृत भए हुन् । भन्न पाइँदैन । प्रत्येक मनुष्य साध्य हो । त्यो बीपीको मान्यता छ ।’

विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे ।

उनले थपे, ‘बीपीले बारम्बार भन्नु भयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पिएचडीलाई, डाक्टरलाई, बुद्धिजीवीलाई, विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु ।’

बीपीले सँधै ‘चहराइरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको वेरोजगारी, अर्धवेरोजारी र गुप्त वेरोजारी सम्बोधन गर्न तथा ठूलाठूला हवाईजहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दै उनले विकासका बारेमा बीपीले देखाएको बैकल्पिक बाटोतर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै सांसद अनिलकुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुनस्र्थापनाको काम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए । प्रत्येक बर्ष प्रदेश–२ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उनले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पूर्व तयारीलगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए ।

सांसद रंगमति शाहीले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपूर्तिलगायत कुनै पनि क्षेत्रमा सरकार प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गरिन् । साइकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेलसँग कर असुली गर्न नसकेको आरोप पनि उनले लगाइन् ।

उनले भनिन्, ‘खाली हात जाने कि भरी हात जाने भनेर हामीलाई चिन्ता भइरहेको छ । जनताको माझ के सन्देश लिएर जाउँ ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ । टिकट काट्नका लागि आव्हान गर्नुहुन्छ । जनता लाईनमा छन् जनताले टिकट पाएका छैनन भनेर जाउँ कि ? मेलम्चीको पानी बगेर काठमाडौंका खाल्डाखुल्डीमा भरिएको छ । ती खाल्डामा पानी जहाज चलेका छन् भनेर जाउँ कि ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७