पत्नी वियोगले विक्षिप्त युवकले गरे आत्महत्या, चिठ्ठीमा लेखे, ‘तिम्रो पछिपछि आउँदैछु’


२४ भाद्र २०७६, मंगलवार
susite 1

काठमाडौं, २४ भदौं । पत्नीको वियोगमा विक्षिप्त भएका ओखलढुङ्गाका एक युवकले आत्महत्या गरेका छन् ।

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका २२ वर्षीय नविन परियारले आईतबार आत्महत्या गरेको स्थानीयले जानकारी दिएका छन् । गत जेठ महिनाको अन्तिम साता बैबाहिक बन्धनमा बाँधिएकी खोटाङ रावाबेसी गाउँपालिका–२ की २१ वर्षीय गंगा परियारले गत भदौ ४ गते माइतीमै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

भर्खरै विवाह गरेकी पत्नीले अचानक आत्महत्याको बाटो रोजेपछि उनी विक्षिप्त बनेका थिए । एसइइको मौका परीक्षा दिन माइत गएको समयमा गंगाले झुण्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतलाई उदृत गर्दै भदौरे–६ का वडा अध्यक्ष कृष्णबहादुर केप्छाकी मगरले जानकारी दिएका छन् ।

वैवाहिक बन्धनमा बाँधिएपछि गंगा घरमा बस्दै आएकी थिइन् भने नविन कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । तर श्रीमती परीक्षा दिन माइत जाने भएपछि घर आएका नविन परीक्षा सकेको २ दिन पनि नबित्दै श्रीमतीले आत्महत्या गरेपछि बिक्षिप्त बनेका थिए । गंगाले आत्महत्या गर्नुको कारण नखुले पनि नविनले भने पत्नी वियोगका कारण आत्महत्या गरेको पुष्टि भएको छ ।

घर नजिकै रहेको रुखमा सलको पासो लगाएर आत्महत्या गरेका नविनले आत्महत्या गर्नुअघि श्रीमतीको नाममा लेखेको चिठ्ठी समेत लेखेको फेला परेको छ । चिठ्ठीमा उनले ‘प्यारी श्रीमती ! तिमी म भन्दा अगापड गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु , यो कदम मैले कसैको करकापले लिएर हैन’ भनि लेखेका छन् ।

दुई छोरा रहेको परिवारमा कान्छा छोरा–बुहारीले आत्महत्या गरेपछि उनको परिवारमा पीडामाथि पीडा थपिएको छ । आत्महत्यापछि नविनको शवलाई पोष्टमार्टम गरी दाहासंस्कार गरिएको परिवारिकजनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७