सरुवामा समेत ‘बाहिर’को हस्तक्षेप : प्रहरी कमाण्ड कसको हातमा ?


२५ भाद्र २०७६, बुधबार
Nepal police

काठमाडौं, २५ भदौ :  राजनीतिक पहुँचका आधारमा पोष्टिङ खाने प्रहरीका लागि दुःखको कुरा छ कि बद्मासी गरेको ४८ घण्टा नकट्दै सर्वेन्द्र खनालको फन्दामा परिन्छ ! गोरु तस्करसँग साँठगाँठ गरेको उजुरी परेपछि कपिलवस्तुबाट एसपी मनोज यादव तानिए । त्यसपछि त्यहाँ अच्युतम पुडासैनी गए ।

काम गर्न नसक्दा उनी पनि ६ महिनामै तानिए । अहिले धादिङका एसपी राजकुमार वैदवारको हालत त्यही छ । त्यहाँका गुण्डा नाइके राधे भण्डारीसँग उनको गम्भीर मिलेमतोबारे हेडक्वार्टरमा उजुरी परेपछि तान्ने तयारी भइरहेको छ । तर, दिनरात तानिदिनुपर्‍यो भनेर नेकपाका प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री प्रभु साह आइजिपीलाई कराइरहेका छन् । तर, आइजी सर्वेन्द्र प्रभुलाई भन्दै छन्, ‘मेरो संगठन म चलाउँछु, तपाईंको पार्टी तपाईं चलाउनुस् ।’

कुरा के रहेछ भने, रौतहटका एसपी भूपेन्द्र खत्रीले केही पोके तस्करदेखि हतियारधारी व्यक्तिलाई ‘दुःख’ दिएको प्रभुलाई मन परेको छैन । तर, आइजीलाई त्यही कुरा मन परेपछि उनी तानिएका छैनन्, तत्काल तान्ने तयारी पनि छैन । आइजिपीले नमानेपछि प्रभु पुगेका छन्, गृहमा । सचिवसँग भन्दै छन्, ‘यो एसपी त्यहीँ रहने हो भने मेरो त राजनीति सकिन्छ !’

नेताले भन्दैमा प्रहरी प्रमुख हेरफेर गर्ने हो भने संगठन चलाउन नसकिने आइजीको मनसाय बुझेपछि गृहसचिवले प्रभुलाई ‘म कुरा गरौँला’ भनेर फर्काइदिएका छन् । बरु, सर्लाहीमा एसपी गोपालचन्द्र भट्टराईको कमाण्ड कन्ट्रोलमा समस्या आएको भन्दै गृहले हेडक्वार्टरलाई त्यसबारे बुझ्न भनेको छ ।

बरु, गृहसचिव प्रेम राई एसपी चन्द्रकुवेर खापुङलाई जिल्ला इञ्चार्ज बनाउन इच्छुक छन् । आइजी सर्वेन्द्रको पनि इच्छा त्यस्तै छ । तर, बाधक बनिरहेको छ, अख्तियार । अहिले हेडक्वार्टरको कप्रमा रहेका खापुङलाई सचिव र आइजीले सल्लाह गरेरै जिप्रका रूपन्देही पठाउन खोजे । तर, अख्तियारमा तीन वर्ष काम गरेका हेम थापालाई रूपन्देही पठाउने त्यताको दबाबका अगाडि सचिव र आइजीको केही चलेन ।

अहिले झापाबाट दिनेश मैनालीलाई तानेर खापुङलाई पठाउने सल्लाह छ । तर, त्यहीँका लागि अख्तियारबाट एक भारी नाम आएको छ, कृष्णप्रसाद पंगेनी, कृष्ण कोइरालादेखि प्रवीण पोखरेलसम्मको । नाम आएका एसपीहरू कोहीभन्दा कम छैनन् । तर, प्राथमिकता सूची (रोस्टर) मा लामो समयदेखि छिरेका एसपी एकपछि अर्को गर्दै पीडित भइरहने, शक्तिकेन्द्रले नयाँ–नयाँ नाम पठाइरहने कुराले हैरानी दिएको छ ।

त्यस्तै, अग्नि सापकोटाले आफ्नो जिल्ला सिन्धुपाल्चोकमा पठाइदिन भनी सिफारिस गरेका एसपी प्रचण्डकै फोनका कारण ठण्डाराम भएका छन् । अग्निले विनोद घिमिरेलाई सिफारिस गरेका थिए । तर, प्रचण्डबाट फोन गराएर प्रज्वल महर्जन सिन्धुपाल्चोक पुगेका छन् । अर्कातिर, काभ्रेमा एसपी जयराज सापकोटाको गणेश–तीर्थ लामाहरूसँग अनुचित साँठगाँठ भएको, बालुवा चोरी निकासी नियन्त्रणमा कमजोरी देखिएको भनी गृहमा कुरा पुगेपछि अहिले हेडक्वार्टरले कुरा बुझ्दै छ ।


त्यस्तै, पुलिसिङभन्दा बढी मोडलिङ गरेको भनी कोटेश्वरबाट इन्स्पेक्टर एलिजा गिरी तानिएकी छन् । त्यहाँ अर्की इन्स्पेक्टर सुभद्रा वाइवा गइन् । गौशालाबाट केही प्रहरी अख्तियारको रंगेहातमा परेपछि पक्राउ परेका प्रहरीको बयानका आधारमा त्यहाँका डिएसपी प्रदीपकुमार सिंहमाथि छानबिन शुरु भएको खबर जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७