कांग्रेसले बिपीलाई बुझेन : वरिष्ठ नेता पौडेल

‘जनतालाई गाउँमै बसुँबसुँ बनाउनु पर्छ’


२५ भाद्र २०७६, बुधबार

तनहुँ, २५ भदौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् ।

राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसात गर्न नसकेको बताए ।

‘बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो’, वरिष्ठ नेता पौडेलले भने, ‘बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नु पर्छ ।’ उनले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए ।

बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । निमुखालाई न्याय र विपन्नलाई आय काङ्ग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा उनले बिपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका–३ बिपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अङ्कित बोर्डको अनावरण गरेका थिए ।

तनहुँ आएर पहिलो पटक राखेको उद्गारलाई चीरस्थायी बनाउन होर्डिङ बोर्ड राखिएको काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । राष्ट्रिय जागरण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा सभा, सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७