विप्लवका छोरा प्रकाश पक्राउसँगै चितवन मेडिकल कलेजमा झडप


२५ भाद्र २०७६, बुधबार
prakash chanda 1

चितवन, २५ भदौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाशलगायतका विद्यार्थी पक्राउसँगै चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । अस्पतालभित्रबाट जान खोजेका आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेटेर गेट बाहिर पु¥याएको थियो ।

उनीहरुलाई प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा केही विद्यार्थीहरु घाइते समेत भएका छन् । विद्यार्थीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए ।

प्रहरीले आन्दोलनकारी १६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दसमेत छन् । उनकै अगुवाइमा यहाँ आन्दोलन हुँदै आएको छ ।

चितवन मेडिकल कलेजमा विभिन्न तहमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राखी विगत दुई सातादेखि आन्दोलनमा छन् । उनीहरुले कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको जस्ता आरोप कलेज प्रशासनमाथि लगाएका छन् ।

यता कलेज प्रशासनले भने आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ ।
कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तीमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ । कलेजसँग सम्बन्धित मागमा वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तीमा उल्लेख छ । विद्यार्थीहरुले उठाएका मागहरु कलेज प्रशासनभन्दा बढी सरकार र सरकारी निकायसँग सम्बन्धित भएको प्रमुख प्रशासक देवकोटाले बताएका छन् ।
हेर्नुस विज्ञप्ती

press realise

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७