विदेशी बुहारीलाई नागरिकता दिने विषयमा समितिमा चर्को विवाद

‘एक हातमा सिन्दूर, अर्को हातमा नागरिकता स्वीकार्य हुँदैन’


२५ भाद्र २०७६, बुधबार
samiti

काठमाडौं, २५ भदौं । बुधबारको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको वैठकमा फेरि ‘विदेशी बुहारी’ लाई दिइने नागरिकताको विषयमा सांसदहरुबीच चकाचर्की परेको छ ।

समितिमा रहेका अधिकांश सांसदहरुले विदेशी बुहारीलाई दिइने नागरिकतामा कडाई हुनुपर्ने माग गरेका छन् । सांसदहरुले बिबाह गरेर नेपाल आउने विदेशी महिलालाई नागरिकता दिन कडा प्रावधान राखिनु पर्ने माग गरेका छन् ।

उनीहरुले एक हातमा सिन्दूर र अर्को हातमा नागरिकता दिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै बैबाहिक अङ्गीकृत नागरिकताको प्रावधान कडा हुनुपर्ने बताए । सत्तारुढ दलका केही सांसदले कडा प्रावधान राख्नुपर्ने धारणा राखे पनि प्रतिपक्षी दल र मधेस केन्द्रीत दलका सांसदले भने वैबाहिक अङ्गीकृत नागरिकता दिन कडा प्रावधान राख्न आवश्यक नरहेको बताएका छन् ।

बुधबारको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा वैवाहिक अङ्गीकृत नागरिकता दिनेबारेको छलफलमा सांसदहरुबीच यसबारे विवाद उत्पन्न भएपछि बैठक बिनानिष्कर्ष सकिएको छ । छलफलका क्रममा सांसदहरुबीच चर्काचर्की भएको छ ।

समितिको यसअघिका छलफलहरु पनि यसरी नै विना निष्कर्ष टुङ्गिदै आएका थिए । छलफलमा भाग लिंदै नेकपा सांसद झपट रावलले विदेशी महिलाले नेपालमा विहे गरेर आएको १०–१५ वर्षपछि मात्रै वैबाहिक अङ्गीकृत नागरिकता दिंदा हुने धारणा राखेका छन् ।

भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्सलगायतका देशको उदाहरण दिंदै उनले नेपालमा मात्रै एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिनेखालको व्यवस्था गर्न नहुने स्पष्ट पारे ।

उनले माल्दिभ्समा त धर्म नै परिवर्तन नगरेसम्म विदेशी बुहारीले नागरिकता पाउन नसक्ने व्यवस्था रहेको उल्लेख गर्दै भुटानमा पनि बच्चा जन्माएपछि मात्रै नागरिकता दिने व्यवस्था भएको दृष्टान्त पेश गरे । उनले भने, ‘एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिने काम गर्नु हुँदैन । कम्तिमा पनि बिहे भएको १० देखि १५ वर्षपछि मात्रै वैवाहिक अङ्गीकृत नागरिकता दिने प्रावधान राखिनु पर्छ ।’

यस्तै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि कम्तिमा पनि १५ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था गरिनुपर्ने विचार राखेका छन् । उनले भारतमा समेत ७ वर्षको व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा चाहिँ किन कडा प्रावधान नराख्ने भन्दै प्रश्न गरे ।

यता समाजवादी पार्टीका सांसद रामसहाय यादवले विदेशी महिला नेपाली बुहारी बनेर आएपछि नागरिकता दिंदा के हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले नागरिकता दिन वर्षौ कुनुपर्ने कुरा किन र कहाँबाट आयो भन्दै आक्रोश पोखे । उनले कडा प्रावधान राखिए आफूहरु चुप लागेर नबस्ने पनि चेतावनी दिएका छन् ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नागरिकतामा राखिने कडा प्रावधानले नेपाल भारतबीचको सम्बन्धमा असर पुग्ने धारणा राखे । नेपाल चीनतिर ढल्किएको भन्ने टिकाटिप्पणी हुँदै आएको बेला कडा प्रावधानको कुरा ल्याउँदा नेपाल–भारतको सम्बन्धमा समेत असर पुग्ने उनको चेतावनी थियो । नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको उल्लेख गर्दै कडा प्रावधान राखिँदा ठूलो असर पर्ने उनले धारणा राखे ।

यस्तै कांग्रेसका अर्का सांसद मिना पाण्डे डिला संग्रलौले कँडेलको धारणामा सहमति जनाएकी छन् । यस्तै नेकपा सांसद पम्फा भुसालले भने अङ्गीकृत नागरिकतामा कडा प्रावधान राख्नुभन्दा पनि भारतसँगको खुला सीमाना शिल गर्नुपर्ने धारणा राखेकी छन् ।

उनले भारतीय सीमामा नेपाली सेना र सशस्त्र प्रहरी तैनाथ गरिनुपर्ने समेत बताइन् । अङ्गीकृत नागरिकताको विषयमा सांसदहरुबीच विवाद देखिएपछि बैठक बिना ष्किर्ष सकिएको छ । बैठकमा सभापतिले शशी श्रेष्ठले यो विषयमा चाँडोभन्दा चाँडो सहमति जुटाउन आग्रह गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७