मीरा राईलाई अमेरिकी विश्वविद्यालयद्वारा मानार्थ पिएचडी उपाधि


२४ भाद्र २०७६, मंगलवार
mira rai

काठमाडौं, २४ भदौ । चर्चित अष्ट्रा ट्रेल रनर मीरा राईलाई अमेरिकाको एक युनिभर्सिटीले मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । अमेरिकास्थित विश्वप्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले राईको साहसिक कार्यको सम्मान गर्दै मनार्थ उपाधि दिएको हो ।


प्रेसिडेन्सियल बिजनेश स्कुलद्वारा आयोजित दीक्षान्त समारोहमा राईलाई आइतबार याक एण्ड यति होटलमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्रा.डा. डेभिड मेकेनीले संयुक्त रुपमा विद्यावारिधी उपाधि प्रदान गरेका हुन् । प्रेसिडेन्सियल बिजनेश स्कुल वेस्टक्लिफको सम्बन्धनप्राप्त नेपालस्थित बिजनेश कलेज हो ।


मीराले आफूले सपनामा पनि नसोचेको उपलब्धि हासिल गरेको बताइन् । ‘यो उपाधि पाउँला भनेर सपनामा पनि सोचेकी थिइन्, यसले मलाई औधी खुशी बनाएको छ,’ उनले भनिन्, ‘म यो उपाधिका लागि वेस्टक्लिफ युनिभर्सिटी र प्रेसिडेन्सियल बिजनेश स्कुललाई विशेष धन्यवाद दिन चाहन्छु ।’

Mira rai convocation day
उनले यो उपाधिबाट आफूजस्तै परिश्रम गरेर अष्ट्रा ट्रेलमा दौडने नवप्रतिभाहरुलाई पनि थप मेहनेत गर्न प्रेरणा मिल्ने आशा ब्यक्त गरिन् । सो अवसरमा राईले आफूले कक्षा ७ मा पढाइ छोडेर जनयुद्धमा होमिएको र त्यसपछि पुनः फर्केर खेलसँगै उच्च शिक्षाको भोकले पढाइमा लागेको कुरा पनि स्मरण गरिन् । उनले जीवनमा आइपर्ने संघर्षदेखि हार नमानेर अगाडि बढ्दा महत्वपूर्ण उपलब्धि हासिल हुने बताइन् ।


भोजपुरममा जन्मिएकी राई अन्तर्राष्ट्रिय अल्ट्रा धावकको रुपमा चर्चित छिन् । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराइसकेकी छन् ।


सो अवसरमा उपराष्ट्रपति पुन र प्राडा मेकेनीले वेस्टक्लिफ युनिभर्सिटीबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका प्रेसिडेन्सियल विजनेश स्कुलका ९५ छात्रछात्रा दीक्षित गरेका थिए।


युनिभर्सिटीका प्राडा मेकेनीले बजारको आवश्यकता र मागअनुसार विश्वविद्यालयले पठनपाठन गरिरहेको चर्चा गर्दै नेपाली छात्रछात्राको अध्ययन उत्कृष्ट रहेको दाबी गरे । स्कुलकी शैक्षिक कार्यक्रम निर्देशक कल्पना गुरुङले प्रेसिडेन्सियल बिजनेश स्कुलमा सैद्धान्तिक तथा व्यवहारिक अध्ययन हुने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७