डेंगु नियन्त्रण गर्न ‘महाअभियान’ चलाइँदै

सुरक्षाकर्मीदेखि विद्यार्थीसम्मलाई घरघरमा परिचालन गरिने


२६ भाद्र २०७६, बिहीबार
dengu birami

काठमाडौं, २६ भदौं । ३० वैशाखमा धरानमा देखिएको डेंगु करिब चार महिनामा ५६ जिल्लामा फैलिएर महामारीको रूप लिएपछि सरकारले नियन्त्रणका लागि ‘महाअभियान’ चलाउने भएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी र स्वयंसेवकलाई डेंगु प्रभावित क्षेत्रका घरघरमा खटाएर नियन्त्रण गर्ने तयारीमा सरकार जुटेको हो ।

मंगलबार साँझ सम्बन्धित सबै निकायका अधिकारीलाई सरकारी कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले महाअभियानको तयारीबारे छलफल गरेका छन् । देश संघीयतामा गएसँगै प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारभित्र परे पनि प्रभावकारी काम गर्न नसकेपछि डेंगु महामारी रोक्न संघीय सरकार नै सक्रिय हुन लागेको हो ।

‘सरकारले खटाउने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक र विद्यार्थी घर–घरमा पुग्नेछन् । भुइँदेखि छतसम्म निरीक्षण गर्छन् । जमेको पानी र फोहोर हटाउने छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालले भने, ‘टोलीले हरेक घरका सदस्यलाई डेंगुबाट बच्न परामर्श दिनेछ ।’

छलफलमा डा. लालसहित मुख्यसचिव लोकदर्शन रेग्मी, विभिन्न मन्त्रालयका सचिव, सबै सुरक्षा निकायका प्रमुख, काठमाडौं, भक्तपुर र ललितपुर महानगरपालिकाका प्रमुख, प्रधानमन्त्रीका सल्लाहकार, स्वास्थ्यसचिव, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक, रोग नियन्त्रण महाशाखाका निर्देशक, सरुवारोग अस्पताल टेकुका डा. अनुप बास्तोलालगायत सहभागी थिए ।

छलफलमा उपत्यकाका तीन महानगरका प्रमुखहरूले भने आफूहरूले गर्नुपर्ने कामबारे सुझाब मागेका थिए । स्रोत–साधन पर्याप्त भए पनि कामबारे ज्ञान नभएको उनीहरूको भनाइ थियो । ३० वैशाखयता आठ हजार पाँच सय ३८ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो समय संक्रमण गुणात्मक रूपमा बढेको छ । १ साउनदेखि २४ भदौसम्म मात्रै पाँच हजार एक सय १३ जनामा संक्रमण देखिएको छ । हालसम्म डेंगुले ६ जनाको ज्यान गइसकेको छ ।

नेतादेखि डाक्टरसम्मलाई डेंगु
एमाले नेता वामदेव गौतम, कृषिमन्त्री चक्रपाणि खनाल र वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई डेंगु भएको छ । त्यस्तै, शुक्रराज अस्पतालका लालबहादुर वैबा, शारदा दाहाल, रवीन्द्र अर्याल र डा. असीम कँडेल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत फिरोज महर्जन, लक्ष्मी अधिकारी र सीताराम भण्डारीलाई पनि डेंगु संक्रमण भएको छ । टेकुमा मात्रै १३ स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको अस्पतालले जनाएको छ ।

डेंगु नियन्त्रण गर्न आठ करोड
सरकारले डेंगु रोग नियन्त्रणका लागि यस वर्ष सात करोड ९३ लाख विनियोजन गरेको छ । केन्द्रीय सरकारअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा एक करोड २० लाख, सातवटा प्रदेशमा चार करोड ८३ लाख र स्थानीय तहमा एक करोड ९० लाख गरी सात करोड ९३ लाख विनियोजन भएको हो ।

यो रकम डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने, सचेतनाका कार्यक्रम र डेंगु संक्रमितको उपचारलगायतमा खर्च गर्नुपर्छ । तर, डेंगुले महामारीको रूप लिँदा समेत यस्ता कार्यक्रम हुन सकेका छैनन् ।

डेंगुको डरले ‘लामखुट्टे फोबिया’
डेंगुबारे जानकारी कम हुँदा सर्वसाधारणलाई ‘लामखुट्टे फोबिया’ हुन थालेको छ । जुनकुनै लामखुट्टेले टोक्दा पनि डेंगु हुने डरले सताएको छ । कैयौँ व्यक्ति आत्तिँदै अस्पताल पुग्ने गरेका छन् ।

टेकुस्थित सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले आफूकहाँ आइपुगेको एक प्रतिनिधि घटनाबारे भने, ‘बालाजुकी एक महिला साथीका दुई बच्चालाई डेंगु लागेको थाहा पाएपछि भेट्न गइन् । घर फर्किंदा उनलाई एउटा लामखुट्टेले दाहिने खुट्टामा टोकेछ । लामखुट्टे मारिन् । तर, त्यसलगत्तै ती महिलाको खुट्टा झमझमाउन र दाहिने कम्मर दुख्न थाल्यो । डेंगु पो लाग्यो कि भनेर उनी आत्तिँदै टेकु अस्पताल आइपुगिन् । लामखुट्टे फोबियाले सताएर उनी यो अवस्थासम्म पुगिन् ।’

डेंगुको लक्षण
सामान्य लक्षण स् दुईदेखि सात दिनमा देखिन्छ

रुघा लाग्नु, सामान्य ज्वरो आउनु
टाउको दुख्नु (आँखाको पछाडिको भाग)
बान्ता आउनु, वाकवाकी लाग्नु
पेट दुख्नु, पखाला लाग्नु
मांसपेशी, हाड र जोर्नी दुख्नु
छालामा रातो फोका देखिनु
गम्भीर लक्षण स् चारदेखि सात दिनमा देखिन्छ

उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटसम्म)
नाक र मुखबाट रक्तस्राव हुनु
रगतमा प्लेटलेट्सको मात्रामा कमी आउनु
रक्तचाप अत्यधिक घट्नु
कसरी सर्छ डेंगु ?

एडिज एजिप्ट जातको संक्रमित लामखुट्टेको टोकाइबाट
संक्रमित व्यक्तिको रगत वा कुनै अंग प्रत्यारोपणबाट
गर्भावस्थामा आमालाई डेंगु लागेमा शिशुमा समेत सर्ने सम्भावना रहन्छ
डेंगु भाइरस चार प्रजातिका
डेंगु भाइरस चार प्रजातिका हुन्छन्– डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एक पटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको दोहोरिँदैन । तर, अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

महाअभियानमा हरेक घरको सफाइदेखि परामर्शसम्म हुन्छ
डा. विवेक लाल, निर्देशक
इपिडिमियोलोजी महाशाखा
महाअभियानअन्तर्गत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक घरघरमा पुग्नेछन् । विद्यार्थी पनि खटाइनेछन् । उनीहरूले भुइँदेखि छतसम्म निरीक्षण गरेर जमेको पानी तथा फोहोर भए हटाउँछन् । घरका सदस्यलाई डेंगुबारे परामर्श दिन्छन् । अब जनचेतनाभन्दा व्यवहार परिवर्तनको खाँचो देखिएको छ । बंगलादेश सरकारले पनि डेंगु नियन्त्रण गर्न हालसालै २० हजार स्वयंसेवक घरघर पठाएको छ । सबै आ–आफ्नो ठाउँबाट पनि अभियानमा सामेल हुनेछन् ।

लामखुट्टेबाट जोगिन लिक्विड बालेर उपचार गर्छन् डाक्टर
उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नै डेंगुको संक्रमण भएपछि टेकुस्थित सरुवा रोग अस्पतालका चिकित्सकले लामखुट्टे धपाउने लिक्विड बालेर बिरामीको उपचार गर्न थालेका छन् । तर, लिक्विड पनि प्रभावकारी नदेखिएको डा. शेरबहादुर पुनले बताए ।

बिरामीको भिड बढेपछि गाडी राख्ने ग्यारेजलाई समेत गत सोमबारदेखि क्लिनिक बनाइएको छ । चिकित्सकहरू बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म उपचारमा खटिएको अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले बताए । टेकुमा तीन हजार ६ सय ७२ जनाले डेंगु परीक्षण गर्दा दुई हजार ७४ मा पोजेटिभ देखिएको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७