अब त्रिभुवन विमानस्थलमा ‘वीग सिक्स’ ले मात्र विमानस्थलभित्र आफ्नै गाडी लैजान पाउने


२६ भाद्र २०७६, बिहीबार
Tribhuvan International Airport

काठमाडौं, २६ भदौं । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था लागू हुने भएको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने जनाएका थिए ।

उक्त निर्णय कार्यान्वयनमा आएको विमानस्थलले बिहीबार एक सूचना जारी गर्दै जानकारी दिएको हो । अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षले मात्र आफ्नो सवारी साधन आन्तरिक उडानको जहाज नजिकै लैजान पाउने भएका छन् । साथै, सम्माननीय सरह मर्यादा पाएका विदेशी समकक्षीलाई समेत उक्त सुविधा दिइएको छ ।

त्यस बाहेक अब विशिष्ट व्यक्ति (भीआईपी) हरुले भने वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारी साधन नै चढेर जहाजसम्म पुग्नु पर्ने भएको छ । यसको मतलव अब पूर्व प्रधानमन्त्री, वहालवाला मन्त्री तथा अन्य विशिष्ट व्यक्तिहरुले अन्य यात्रुसँगै टर्मीनलबाट जहाजसम्म बसमा यात्रा गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७