एनआरएन बेलायतको निर्वाचनमा कसले मार्ला बाजी ?


२७ भाद्र २०७६, शुक्रबार
nrn

लण्डन, २७ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतको निर्वाचन १४ सेप्टेम्बरमा सम्पन्न हुँदैछ । निर्वाचन हुनु केही दिन मात्रै बाँकी छ । निर्वाचनबाट आगामी दुई बर्षका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) ले नयाँ नेतृत्व पाउँदैछ ।

नयाँ नेतृत्व लिनका लागि बर्तमान उपाध्यक्षहरू पुनम गुरूङ र शेरबहादुर सुनार चुनावी मैदानमा छन् । प्यानल बनाएर चुनावमा जान नपाउने मापदण्ड बनाए पनि दुई समूह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षका प्रत्यासी गुरूङ र सुनार आफ्नो पक्षमा मत सिर्जना गर्न कार्यक्रमहरूमा व्यस्त छन् । प्रत्यासीहरू अन्तिम समयसम्म पनि समूहगत छलफल र कार्यक्रमहरूमा व्यस्त हुँदै आएका छन् । अध्यक्षका प्रत्यासी मात्र होइन अन्य पदाधिकारीहरू पनि प्यानल र व्यक्तिगत रूपमा भोट मागिरहेका छन् । उनीहरु आफ्नो पक्षमा माहौल सिर्जना गर्ने काम गरिरहेका छन् ।

अध्यक्षका प्रत्यासी बनेका दुई पुनम गुरूङ र शेरबहादुर सुनार बर्तमान उपाध्यक्ष हुन् । सम्मान पदमा कार्यरत दुवै जना अहिले अध्यक्षका प्रत्यासी बनेका छन् । यतिबेला दुईको प्रतिष्पर्धा रोचक बन्न सक्ने आँकलन गरिएको छ । व्यवसायी पेशा पृष्ठभूमि भएका दुवै जना गोर्खा समुदायभित्रका हुन् ।

पुनम गुरूङ बेलायती भुतपूर्व गोर्खा सैनिककी पत्नी हुन् भने शेरबहादुर सुनार बेलायती भुपू गोर्खा सैनिक हुन् । लामो समयदेखि एनआरएनमा क्रियाशिल दुबै जना एनआरएनका लागि उस्ता उस्तै पात्र भएको अधिकांशको ठम्याई छ । सामाजिक पृष्ठभूमिका दुई जनामध्ये को आउँछ त्यसको नतिजा हेर्न केही दिन मात्रै पर्खनु पर्ने हुन्छ ।

पुनम गुरूङ महिला, त्यसमध्ये पनि आदिवासी जनजाति समुदायकी र शेरबहादुर सुनार दलित समुदाय भएकाले यस पटक एनआरएन बेलायतको नेतृत्वमा समावेशी अनुहार आउने निश्चितप्रायः छ । गैरआवसीय नेपाली संघका लागि दुवै उपयुक्त पात्र ठानिएको छ । निर्वाचन आउनु केही दिन मात्र बाँकी रहेकाले नयाँ नेतृत्वको नतिजा अबको केही दिनभित्र छ ।
सम्मान एजेण्डा

यस पटकको गैरआवासीय निर्वाचनका लागि दुई प्रतिष्पर्धीको सम्मान चुनावी एजेण्डा रहेको छ । उनीहरूले व्यवस्थित एनआरएन, गोर्खाहरूको समस्या समाधान, नागरिकता निरन्तरता, दोहोरो नागरिकता जस्ता महत्वकांक्षी चुनावी एजेण्डा बनाएका छन् । यसभन्दा अघिको निर्वाचनहरूमा चुनावको बेला दिनअघि सारिएको एजेण्डा निर्वाचनपछि पूरा नगरिएकाले अधिकांश मतदाताहरूले एजेण्डामा खासै महत्व दिएको पाइँदैन ।

यस पटक पनि व्यक्तिगत रुपमा कसले प्रभाव पार्न सक्छ उसैले जित्न सक्ने आँकलन गरिएको छ । एनआरएन निर्वाचनमा बेलायतमा नेपाली समुदाय दुई समूहमा विभाजित छ । कसले जित्छ भन्न नसकिने अवस्था रहेको अधिकांशको भनाई छ । दुईमध्ये एक जना जोकोही आए पनि एनआरएनमा समान दृष्टिकोण र सोंचका साथ काम गर्ने धेरैको ठम्याई छ । दुई प्रत्यासीमा तीव्र प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।
एजेण्डा कार्यान्वयनमा सकस
अध्यक्षका दुई प्रत्यासीको चुनावी एजेण्डामा समानता छ । निर्वाचनपछि निर्वाचित भएर गईसकेपछि पूरा गर्ने प्रतिवद्वता व्यक्त गरे पनि कार्यान्वयनको चरणमा हेर्नुपर्ने हुन्छ । तर, दुई प्रत्यासीले अघि सारेका चुनावी एजेण्डा कार्यान्वनको हिसावमा भने जटिल छ । गोर्खाहरूको समानता अधिकार, नागरिकता निरन्तरता र दोहोरो नागरिकतामा जस्तो जटिल बिषयबस्तुहरु कार्यान्वयनमा भने सकस छ ।

गोर्खाहरूको समस्या समाधान नेपाल र बेलायतबीच कुटनीतिक तहबाट हुने बिषय हो । सडक, सदन र अदालतसम्म पुगेको बिषय अहिले कुटनीतिक तहमा अडकिएर बसेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणपछि प्रधानमन्त्रीस्तरमा पहिलो पटक गोर्खाहरूको बिषयमा कुराकानी भएको थियो । यो तह र अवस्थामा रहेको गोर्खाहरूको समस्या नेपाली समुदायका गैरआवासीय संघले कतिसम्म दवाव र प्रभाव राखेर समस्याको हल गर्नमा पहुँच राख्न सक्छ भन्ने प्रश्न पनि उतिकै महत्वपूर्ण छ ।

गोर्खाहरूको समस्या समाधानको बिषयमा दवाव र पहलमा एनआरएन बेलायतले राख्न सक्ने पहुँच आफैमा छर्लङ्गै नै छ । एनआरएन त्यो तहको संस्था होइन भन्ने पनि कसैमा दुईमत छैन । यति थाहा हुँदाहुँदै प्रत्यासीहरूले यसलाई चुनावी एजेण्डा बनाउनु कार्यान्वयन भन्दा पनि मतदाता आकर्षित गर्नमा सीमित देखिन्छ ।

गैरआवासीय संघ बेलायतको यतिसमय बितिसक्दा पनि संस्थागत अभ्यास हुन सकेको छैन । एनआरएनको कुनै कार्यालय छैन । व्यवस्थित अभिलेख छैन । संघलाई अगाडि बढाउने कुनै ठोस कार्ययोजना देखिंदैन । यस्ता सामान्य तर महत्वपूर्ण कुरामा समेत ध्यान नदिएको परिस्थितिमा आगामी नेतृत्व कसरी अघि बढ्छ त्यो भविष्यले अवश्यक देखाउँछ ।
संस्थागत बहस
गैरआवासीय नेपाली संघलाई बृहत, बलियो र साझा बनाउनका लागि हालसम्म ठोस अभ्यास र बहस हुन सकेको छैन । गैरआवासीय नेपाली संघलाई माथि उठाउन सकिने बौद्विक बहस अझै हुन सकेको छैन । जसको कारणले एनआरअएन बेलायतले हालसम्म कुनै फड्को मार्न सकेको छैन ।
गैरआवासीय बहस
बेलायतमा बस्ने नेपालीहरूको संख्या दुई लाखको छेउछाउ रहेको अनुमान छ । बिदेशमा बसेर त्यही देशको नागरिक लिएका मानिसहरूले नेपालसँग जोडिन गैरआवासीय नेपाली संघ स्थापना गरेका थिए । नेपालको संविधानमा समेत गैरआवासीय नेपाली नागरिकको अधिकारलाई सुनिश्चत गरेको छ ।

बिदेशमा बस्ने गैरआवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र साँस्कृितक अधिकार प्रदान गरेको छ । बेलायतमा बस्ने धेरै नेपालीहरू बेलायती भुतपूर्व गोरखा सैनिक र तिनका सन्ततीहरू छन् । उनीहरू आफूलाई गैरआवासीय भन्न रूचाउँदैनन् र समाहित हुन चाहँदैन ।

कतिपय बेलायतको नागरिकता लिएकाहरू भने समावेश छन । गोर्खा समुदायहरू नेपाली नागरिकतामा नै आवासीय भिसा लिएर बसेका छन् भने कतिपयले बेलायती नागरिकता लिएका छन् । गोर्खा समुदाय दुई बर्गमा बिभाजित छन् । यही कारणले पनि गैरआवासीय बिषयमा गोर्खा समुदाय विभाजित छ । तर गैरआवासीय नेपाली संघको सदस्य बन्नका लागि बेलायतमा बस्ने सबैलाई योग्य ठानेको छ ।
आगामी यात्रा
गैरआवासीय नेपाली संघ बिदेशी नागरिक लिएका बिदेशमै कर्म गर्ने नेपालीहरूलाई आफ्नो मातृभूमिसँग जोडने माध्यमको रूपमा स्थापना गरी शुरुवात गरिएको थियो । त्यसपछि एनआरएनले नेपालमा हरेक पक्ष क्षेत्रमा सहयोग र टेवा पुर्‍याउँदै आएको सबैमा जगजाहेर नै छ ।

गैरआवासीय नेपालीहरूको योगदान नेपालप्रति धेरै कुरामा रहँदै आएको छ । एनआरएन बेलायतको नयाँ चयन हुने नेतृत्वको धेरै अभिभाराहरू रहेको छ । संस्थागत बिकास, दोहोरो नागरिकता, नागरिक निरन्तरताहरूलगायत धेरै बेलायतमा बस्ने नेपालीहरूको पक्षमा काम गर्नुपर्ने बिषयबस्तु छ ।

अर्काे मुख्य पाटो नयाँ आउने पिढीहरूलाई यो अभियानमा सहभागी गराउने । नयाँ पिढीहरूलाई एनआरएनको अभियानमा ल्याउनु अति आवश्यक हुन्छ । तर नयाँ आउने पिढीहरुलाई सहभागी गराउनु आफैमा चुनौतीपूर्ण छ ।

बेलायतमा बस्ने नयाँ आउने पिंढीहरु यो बिषयमा बेखवर जस्तै छ । नयाँ आउने पिढीहरुहरुलाई एनआरएन अभियानको बारेमा जानकारी गराउन नसके यो अभियान यही एक पुस्तामा मात्रै सीमित हुने देखिन्छ । नेपाली मातृभूमि, विशेषता र पहिचानका लागि पनि नयाँ पुस्तालाई यो बारेमा जानकारी गराउने समावेश गराउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७