नेपाली सेनालाई खुशीको खबर, शान्ति सेनामा जानेको तलव बढ्यो


२७ भाद्र २०७६, शुक्रबार
army 1

काठमाडौं, २७ भदौं । नेपाली सेनालाई खुशीको खबर आएको छ । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा जानेको तलब बढाउने भएको छ ।

कन्टिजेन्टका रूपमा शान्ति मिसनमा जानेको न्यूनतम तलब एक हजार २९ डलरबाट बढाएर एक हजार एक सय १४ डलर दिने प्रस्ताव गरेको छ । अबदेखि मिसन जानेको बेसिक तलब एक हजार एक सय १४ हुने र पदअनुसार भत्ता हुने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

अहिलेसम्म एक हजार २९ देखि एक हजार तीन सय ७८ डलरसम्म पाउँदै आएका थिए । मिसनमा सबैको जिम्मेवारी उस्तै हुने भएकाले तल्लो तहको तलब बढाउने प्रक्रिया अघि बढाइएको, तर कल्याणकारी कोष सञ्चालन समितिबाट स्वीकृत भइनसकेको उनले बताएका छन् ।

राष्ट्रसंघीय शान्ति मिसन निकै चुनौतीपूर्ण हुने भएकाले विकसित देशले त्यहाँ जानेलाई राष्ट्रसंघले दिने तलबमा पनि थपेर दिने गरेको छ । मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पनि कल्याण कोषमा हुने कटौती कम गरेर थप सुविधा दिनेबारे योजना अघि बढाएको सुनाएका थिए ।

बटालियन तथा एफपियूका रूपमा जाने सैनिक–प्रहरीलाई राष्ट्रसंघले प्रतिव्यक्ति महिनाको एक हजार चार सय २८ डलर दिने गरेको छ । विकसित देशले यसमा थपेर उनीहरूलाई तलब दिने गरेका छन् । कतिपय देशले यसबाट पनि कटौती गरेर दिन्छन् ।

नेपालमा प्रहरीले एक हजार चार सय २८ डलर नै दिने गरेको छ भने सेनाको हकमा थोरै कम छ । राष्ट्रसंघले तोकेअनुसार बन्दोबस्ती र गस्तीका सामान नभएको अवस्थामा भने राष्ट्रसंघले तलब समेत कटौती गर्छ ।

सिपाहीहरुको पसिनाको कमाई धेरै कटौती गरेर कल्याण कोषमा थुपार्नु भन्दा उनीहरुको तलब नै बढाउने प्रस्ताव प्रधानासेनापति थापाले अघि बढाएका छन् । एक महिनापछि नयाँ तलब लागू हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७