तोङ्बा र सुकुटीले तानेको मन


२८ भाद्र २०७६, शनिबार
taplegunj koseli

‘नखानु पानी तोङ्बाको 
त्यो पारीपट्टि भट्टीको
तोङ्बाको पानीले फनन 
साहुनीको नाम के हो भनन…’
‘मंगोलियन हार्ट’ गायकका राजु लामाको यो गीतले एकपल्ट बजार तातेको थियो । लामा धेरैजसो अमेरिका बस्थे तर स्रोता स्वदेशमैं । तर अहिले लामा पनि नेपालमै छन् । ब्याण्डको नाम जस्तै मंगोलियन युवा–युवतीको मुखैमा थियो यो रौसे गीत । लघु जमघट भयो कि लामाको गीत घन्काएर तोङ्बा घुट्क्याउने एक होइन अनेक हुन्थे ।

पछि गीतको क्रेज घट्यो, स्रोता फेरिए, अरु नैं गीत चले । तर, किराँती सभ्यता बोकेको तोङ्बा तान्ने चलन कहिल्यै फेरिएन । अझ तोङ्बामा सुकुटीको तिख्खर स्वाद थपिएपछि यो खान्की मंगोलियनको मात्र रहेन, सबै जाति र भाषीले रोज्ने प्रिय परिकार बन्यो । अहिले तोङ्बाको तिर्सना राख्दै हिमालीथलो ताप्लेजुङ उक्लिने बढ्दै छन् ।

मदिरापानमा रुचि राख्नेहरु ताप्लेजुङ आएपछि तोङबाको चुस्की नलिई फर्किंदैनन् । कतिपय युवाले त घुम्न आउनेक्रममा यहीं तोङ्बा तान्न सिक्छन् । कसै कसैले ‘हट वियर’ समेत भन्ने तोङ्बा ताप्लेजुङका सबैजसो गाउँमा सर्वसुलभ छ ।

ओलाङचुङगोला, घुन्सा, लेलेप, तापेथोक, दोभानमा मात्रै होइन पाथीभरा काखका सुकेटार र फेदी जस्ता बजारमा पनि सर्वसुलभ छ तोङ्बा । सितनका रुपमा सुकुटी हुने भैहाल्यो । सदरमुकाम फुङ्लिङका सबैजसो होटलमा बरु दूध पाईंदैन अर्डर गर्ना साथ तुरुन्तै उपलव्ध हुन्छ तोङ्बा ।

एक लाख २७ हजार जनसंख्या रहेको ताप्लेजुङमा तोङ्बा र सुकुटी नचाख्ने थोरै मात्र भेटिन्छन् ।
‘ताप्लेजुङ भन्यो कि तोङ्बा जोडिइहाल्छ, इलामको चिया भने जस्तो’ सुकेटारमा होटल गर्दै आएका लक्ष्मी तिवारीले भने, ‘धार्मिक आश्था राख्दै पाथीभरा दर्शन गर्न आउनेहरु तोङ्बाको चुस्की नलिई फर्किंदैनन् ।’ चैत र कात्तिक पाथीभरामा तीर्थयात्री धुइरिने मौसम हो ।

त्यसबेला हरेक दिन तीनदेखि चार हजारको संख्यामा मानिसहरु फुङलिङ–सुकेटार हुँदै पाथीभरातर्फ उक्लिइरहेका हुन्छन् । धाम पुग्नुअघि मासु नखानेहरु तोङ्बाको रसिलो र मादक स्वाद लिन भुल्दैनन् । कुनै बेला मदिरापान गर्दा लुक्ने क्षेत्री–ब्राम्हण समुदायका युवा अहिले तोङ्बा र सुकुटीका पारखी बन्दैछन् । उनीहरु घाममा बसेर गफिदै नसामा झुम्छन् ।

अचम्म त यो छ, फुङ्लिङ र सुकेटारमा होटल गर्ने क्षेत्री ब्राम्हण महिलाहरु तोङ्बा र सुकुटी बनाउन खप्पिस छन् । मदिरा र मंशलाई कुनैबेला घृणा गर्ने यो समुदाय अहिले ग्राहक पट्याउन तोङ्बाका भाँडा बेस्मारी माझेर टल्काउने मात्रै होइन, होटलको बोर्डमैं ‘यहाँ स्वादिष्ट तोङ्बा र सुकुटी पाइन्छ’ लेख्न प्रतिष्पर्धी छन् । तोङ्बा राखिसकेपछि सुकुटी नहुने कुरै भएन ।

‘ताप्लेजुङमा होटल गर्ने आर्यन समुदायका महिला पहिले पहिले लजाउँदै तोङ्बा र सुकुटी बेच्थे, अचेल मुस्कुराउँदै यसको व्यापार गर्छन्’ होटलको जिम्मा श्रीमतिलाई दिएका तिवारीले थपे, ‘खाने पनि आफ्नै समुदायका थपिएपछि मासु र मदिरा बेच्न के को लाज !’

कञ्चनजंघा र कुम्भकर्ण हिमालको काखमा अवस्थित ताप्लेजुङ घुम्न थुप्रैखाले मानिस आउँछन् । हिमालतिर जानेमा विदेशी बढी स्वदेशी कम हुन्छन् । पाथीभरा दर्शन गर्नेमा स्वदेशी बढी विदेशी कम । सुकेटारसम्मै कालोपत्रे सडक फैलिएपछि तराईबाट मोटरसाइकलमा हुईकिंदै घुम्न आउनेको कमी छैन । एनजिओ आइएनजिओका नौला अनुहारको पनि कमी छैन ।

‘जो जे उद्देश्यले आओस, मदिरा र मासु चल्ने छ भने तोङ्बा र सुकुटीमा रम्छ रम्छ’ फुङ्लिङमैं फिल्म सुटिङमा व्यस्त कलाकार मित्र लिङ्देनले भने, ‘गाडीबाट ओर्लेर होटलमा रात बिताउनुअघि एउटादेखि तीनटासम्म तोङ्बा सुईंक्याउने युवाहरु धेरै देखेको छु ।’

प्रतिगोटा सयदेखि एक सय २० रुपैयाँसम्म बिक्री हुने तोङ्बा प्रायः कोदोको हुन्छ । कोदोलाई पकाएर गुम्स्याएपछि यसमा मर्चा छरिन्छ । त्यसलाई केही दिन अझ गुम्स्याएपछि प्लाष्टिक या काठको भाँडोमा हालिन्छ । ग्राहकको अर्डरअनुसार काठ, बाँस र प्लाष्टिकको त्यो मादक बास्ना आउने रसिलो कोदो भाँडोमा भरिन्छ । त्यसमा उम्लेको पानी घोलिएपछि तोङ्बा तयार हुन्छ ।

पिपा भनिने काठ, निगालो या सिल्भरको सुइरोले त्यो पानी तान्दा हल्का मात लाग्छ । ‘ओछ्यानमा बसेर तोङ्बा तान्दै सुकुटीको सितन खाँदा घण्टौं बितेको पत्तो हुँदैन’ लिङ्देनले थपे, ‘झन् आगोको छेउमा गफिन पाए तोङ्बाका पारखीलाई उठ्न मन लाग्दैन ।’

भरखरै विकासमा पाइला चाल्दै गरेको ताप्लेजुङले तोङ्बा र सुकुटीलाई पर्यटक तान्ने माध्यम बनाउन सक्छ । सुकेटारको एउटा रिसोर्टको आँगनमा तोङ्बाको ठूलो आकृति ठड्याई सकिएको छ । ताप्लेजुङको परिचय झल्किने पुस्तिकाहरुमा यो परिकारको नाम छुट्दैन ।

धेरै खाँदा तोङ्बाले पनि मात नलाग्ने होइन । भर्खर सिक्नेलाई एउटै काफी हुन्छ भने पियक्कडलाई तीन वटाले पनि टिप्दैन । पानीको मात्रा अत्यधिक र अल्कोहलको मात्रा कम हुनु यसको राम्रो पक्ष हो । जसले जति खाओस त्यो आफ्नो कुरा, तर तोङ्बाले कडा रक्सी जस्तो जीउ खङ्गार्दैन । अति पिउनेलाई त कसको के लाग्छ, एउटा चर्चित गीतै छ नि,
‘होस गर है सोल्टिनी
तोङ्बा तान्या छु
लाईदेउ माया सुटुक्कै
नत्र जान्या छु… ’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७