कांग्रेस सभापतिको हात भाँच्नेलाई कार्वाही हुन्छ : गृहमन्त्री


२८ भाद्र २०७६, शनिबार
Ram Bahadur Thapa राम बहादुर थापाalso known as Badal He is the current Home Minister of Nepal He is a leader of Nepal Communist Party

काठमाडौं, २८ भदौं । गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् । ‘हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ’, उनले भने ।

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जोकोहीलाई पनि कानूनी कारवाही हुने बताए । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाई थियो ।

काङ्ग्रेस काठमाडौंका सभापति सबुज बानियाँले काङ्ग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताए ।

काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली काङ्ग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए ।

यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उनको आरोप थियो । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसले सञ्चालन गरेको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको आरोप लगाए ।

काङ्ग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ । उक्त घटनामा परी काङ्ग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७