बिआरआईमा सैन्य गठबन्धनको गन्ध छैन : प्रचण्ड


२९ भाद्र २०७६, आईतवार
Prachanda

काठमाडौं, २९ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मा सैन्य गठबन्धनको गन्ध नभएको स्पष्ट पारेका छन् ।

उनले बिआरआई नेपालको हितमा रहेको समेत दावी गरेका छन् । नेपाल बुद्धिजिवी संगठनको आइतबार काठमाडौंमा आयोजित ‘बिआरआई संवाद बिचार गोष्ठी’ लाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले बिआरआईले कुनै सैन्य गठबन्धनको गन्ध नदिएको बताएका हुन् । प्रचण्डले बिआरआई परियोजनाको लक्ष्य विश्व शान्ति, मानव जातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने रहेको औंल्याए ।

Pro Ktm Bichargosti 1

‘बिआरआईले कुनै सैन्य गठबन्धनको गन्ध दिएको छैन । यसले सामुहिक ढङ्गले शान्ति, विकास, समृद्धि र सोसियल हारमोनीको पक्षमा अपिल गरेको छ । त्यसकारण यो सबैको लागि सहज र स्वीकार्य हुन पुगेको छ,’ प्रचण्डले भने, ‘यसबाट हामीले धेरै लाभ लिन सकिन्छ । बिआरआईको उद्देश्य विश्व शान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने परिकल्पना गरेको छ ।’

अध्यक्ष प्रचण्डले दुई तिहाई जनसंख्याले बिआरआईलाई सकारात्मक लिनु पछाडिको कारण यसले सुपर पावर बन्नका लागि कुनै सैन्य गठबन्धनको कुरा नगरेको बताएका छन् ।

‘यसले कुनै सुपर पावर बन्नका लागि सैन्य गठबन्धनको कुरा गरेको छैन । यसले सामुहिक धारणा र कलेक्टिभ एफोर्टको कुरा गरेको छ । हारमोनियस सोसाइटीको कुरा गरेको छ । त्यसकारण यो सबैलाई मान्य भएको छ’, प्रचण्डले भने, ‘हाम्रो लागि बिआरआई आवश्यक छ । किनभने यसले रोड कनेक्टीभिटीको मात्र कुरा हैन, रेल, पाइपलाइन, कम्युनिकेशन कनेक्टीभिटी र संरचनागत कनेक्टीभिटी लगायत विशाल परियोजनामासमेट्न खोजिएको छ ।’

प्रचण्डले बिआरआईलाई अगाडि बढाउन केही ढिला भएको स्वीकार्दै अब सही समय आएको बताएका छन् । ‘बिआरआईका प्रोजेक्ट छनौट गर्ने कुरामा र यसलाई अगाढि बढाउन भित्रबाट गृहकार्य गर्न केही ढिला भयो । तर अब यसलाई गति दिने समय आएको छ,’ उनले भने, ‘राष्ट्रिय हितलाई प्रवद्र्धन गर्नको लागि सबै एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु ।’

कार्यक्रममा प्रचण्डले निकट भविष्यमा हुन सक्ने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बीचमा बिआरआईको विषयमा बहस शुरु हुनु सकारात्मक भएको समेत बताएका छन् ।

‘मानिसहरु अलि बढी सेन्टिमेन्ट, भावनामा वा उत्तेजनामा आउने र समाजलाई त्यस हिसाबले प्रभावित पार्ने प्रवृत्ति देखिएको छ । यसले समाजमा धेरै नकारात्मक सोचहरु बढ्ने खतरा छ ।

विवेकले गाइड गर्न छोड्यो भने आवेग आउने र आवेगले प्रायः दुर्घटनातर्फ समाजलाई लैजाने खतरा रहन्छ,’ प्रचण्डले भने, ‘विश्व इतिहास र आधुनिक राष्ट्रका विकास र विनास लाई हेर्दा कति बेला विवेकले, विचारले, विज्ञानले गाइड गर्‍यो र कतिबेला आवेगले, सेन्टिमेन्टले गाइड ग¥यो, ती देशहरुको भविष्य त्यसै अनुसार प्रभावित हुने गरेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७