विद्युत प्राधिकरणमा कुलमानको तीन वर्ष : घाटामा गइरहेको प्राधिकरण ११ अर्ब नाफामा

तीन वर्षमा ३७५ मेगावाट जलविद्युत आयोजना सञ्चालन


२९ भाद्र २०७६, आईतवार
kulman

काठमाडौं, २९ भदौं । एउटा कायालय प्रमुखले चाह्यो भने एकाध वर्षमा नै कार्यालयको अवस्थामा सुधार ल्याउन सक्छ भन्ने उदाहरण अहिले नेपाल विद्युत प्राधिकरणलाई नियाले हुन्छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै दृढ इच्छाशक्तिका कारण अहिले घाटामा गइरहेको विद्युत प्राधिकरण नाफा गर्न सफल भएको छ । प्राधिकरणले गत तीन वर्षमा साढे ११ अर्ब रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ ।

गत आर्थिक वर्ष २०६२–७३ मा मात्र ८ अर्ब ८९ करोड खुद घाटामा रहेको प्राधिकरणले आव ०७३–७४ देखि आव ०७५–७६ सम्म आइपुग्दा यति ठूलो सफलता हात पार्न सकेको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङ प्राधिकरणको प्रमुख जिम्मेवारीमा आएको तीन वर्ष पूरा भएको अवसरमा आइतबार राजधानीमा घिसिङद्धारा आयोजित पत्रकार सम्मेलनमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कार्यक्रममा सिईओ घिसिङले आफू पदवहाली भएपछि प्राधिकरणले आव ०७३–७४ मा १ अर्ब ४७ करोड, आव ०७४–७५ मा २ अर्ब ८५ करोड र आव ०७५–७६ मा अधिकतम ७ अर्ब २० करोड रुपैयाँ दुख नाफा आर्जन गर्न सफल भएको जानकारी गराएका छन् ।

यसैअ वसरमा घिसिङले आर्थिक वर्ष २०७२–७३ मा रु ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरणले उक्त नोक्सानीलाई आव ०७३–७४ मा रु २८ अर्ब १७ करोड, आव ०७४–७५ मा रु २५ अर्ब ५९ करोड र आव ०७५–७६ मा आएर रु १५ अर्ब २२ करोडमा झार्न सफल भएको बताएका छन् ।

‘आर्थिक वर्ष २०७२–७३ मा प्राधिकरणको आम्दानी जम्मा रु ३५ अर्ब ७ करोड मात्र थियो । तर हाल आव ०७५–७६ मा आइपुग्दा प्राधिकरणले कुल रु ७३ अर्ब ४६ करोड आम्दानी गर्न सफल भएको छ ।’ घिसिङले भने, ‘प्राधिकरणले आव ०७३–७४ मा रु ५१ अर्ब २० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । त्यस्तै, आव ०७४–७५ मा रु ६१ अर्ब ९७ करोड रुपैयाँ प्राधिकरणले आम्दानी गरेको थियो ।’

यसै अबसरमा घिसिङले पछिल्लो तीन वर्षयता विद्युत व्यवस्थापनामा मात्र नभई उत्पादनमा समेत वृद्धि आएकाले अब छिट्टै मुलुक विद्युतमा आत्मनिर्भर हुने बताएका छन् । प्रर्याप्त उत्पादनले आफ्नो देशलाई धान्ने अवस्था आयसँगै व्यवसायीक रुपमा समेत प्राधिकरण अघि बढेको र अब छिट्टै भारत विद्युत निर्यात गर्ने पक्षमा रहेको बताएका छन् ।

तीन वर्षमा ३७५ मेगावाट जलविद्युत आयोजना सञ्चालन
प्राधिकरण प्रमुख घिसिङले आफू पदवहाली भएपछिको तीन वर्षमा प्राधिकरण र निजी क्षेत्र गरी कूल ३७५ मेगावाट जलविद्युत आयोजना सञ्चालनमा आएको जानकारी गराएका छन् । यस अवधिमा प्राधिकरणका तर्फबाट १०४ मेगावाट र निजी उत्पादकहरुबाट २७१ मेगावाट जल विद्युत आयोजनाहरु सञ्चालनमा आएका छन् ।

घिसिङले लामो समयदेखि अलपत्रमा परेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पपछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको त्रिशुली ३ ए जलविद्युत आयोजनाको निर्माण काम सुचारु गराई निर्माण सम्पन्न गरिएको र १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भइ विद्युत उत्पादन गर्न सक्ने अवस्थामा पुगिसकेको जानकारी गराएका छन् ।

त्यस्तै, प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेको १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको काम पनि द्रुत गतिमा अघि बढिरहेको जानकारी गराएका छन् ।

राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी यसै आर्थिक वर्षभित्र सक्नेगरी काम गरिरहेको घिसिङको भनाई छ । चिलिमे जलविद्युत १११ मेगावाट, रसुवागढी १०२ मेगावाट, मध्यभोटेकोसी ४२.५ मेगावाट र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेको बताइएको छ ।

१०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको तयारी अन्तिम चरणमा पु¥याईएको र ९९.६ मेगावाटको तामाकोशी ५ को समेत विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडि बढाइएको जानकारी भएको छ ।

१४० मेगावाट विद्युत व्यापार सम्झौता
प्राधिकरणले निजी क्षेत्रका ३४० आयोजनाहरुसँग ६ हजार ४४ मेगावाटको विद्युत खरिद संझौता (पीपीए) भएको । आव २०७२–७३ मा २७ आयोजनासँग ४७४ मेगावाटको पीपीएभएकोमा आव ०७३–७४मा २८ आयोजनासँग ५५६ मेगावाट, आव ०७४–७५ मा ४५ आयोजनासँग ११०३ मेगावाट र ०७५–७६ मा ५ आयोजनासँग १४० मेगावाटको पीपीए गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७