सुरक्षा चुनौती बढ्दै गएपछि हङकङमा गोर्खा सुरक्षाकर्मी परिचालित


२९ भाद्र २०७६, आईतवार
ghurkhas hongkong 4

हङकङ, २९ भदौ । हङकङ सरकारले सुपुर्दगी सम्बन्धी विधेयक ल्याएसँगै अशान्त छ । मुख्य भूमि चीनमा सुपुदर्गी गर्ने प्रावधानसहितको विधेयक ल्याएसँगै विरोध प्रदर्शन चर्केपछि प्रमुख कार्यकारी क्यारी लामले विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन् । तर पनि जारी आन्दोलन थप उग्र र हिंसात्मक बन्दै गइरहेको छ ।

आन्दोलन १४ औँ हप्तामा प्रवेश गर्दा अन्दोलनकारीहरुले व्यापक तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिको क्षति पुर्याएका छन् । प्रहरीले जवाफमा व्यापक अश्रुग्यास, रबर बुलेट प्रहार गर्नुका साथै धरपकड समेत गरेको छ । आन्दोलन शान्त हुनुको सट्टा झनै चर्किएर गएको छ ।ghurkhas hongkong 2

आन्दोलनकारीहरुले सहरका वित्तीय जिल्लाको मुटु मानिने सेन्ट्रलको रेलवे स्टेसनमा ब्यापक तोडफोड र आगाजनी गरे । गत आइतबार गार्डेन रोड, सेन्ट्रल अवस्थित अमेरिकी महावाणिज्य दूतावास अगाडि अमेरिकी झण्डा बोकेर प्रदर्शन समेत गरे थिए ।

आन्दोलनकारीहरुले वान चाई, मोङ कोक र प्रिन्स एडवार्ड स्टेस्नहरुमा समेत क्षति पुर्याएको थिए । जसको कारण रेल सेवा नै केही समयका लागि बन्द गर्नु परेको थियो । सोमबार बिहानसम्म रेल सेवा सामान्य रुपमा सञ्चालनमा आएको छ । सोमबार बिहान प्रमुख कार्यकारी क्यारी लामका साथमा यातायात तथा आवास सचिव फ्रान्क चान, रेल सेवाका उच्च पदस्थ अधिकारीहरु अध्यक्ष रेक्स औयेउङ पाक कुएन, सीईओ ज्याकोब काम चाक पुई, सञ्चालन निर्देशक अडी लाउ तीन शिङसहित घटनास्थलको क्षति निरीक्षण गर्न पुगेका थिए ।

आन्दोलन झनै उग्र बन्दै गएपछि गोर्खा सुरक्षाकर्मी परिचालित
आन्दोलन झनै उग्र बन्दै गएपछि हङकङमा गोर्खा सुरक्षाकर्मी परिचालित गर्न थालिएको छ । हङकङका आन्दोलनकारीले रेलवे स्टेसनमा समेत प्रदर्शन गर्ने क्रममा तोडफोड र आगजनी गर्न थालेपछि गोर्खा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

बिहिबार परिक्षणका रुपमा केही नेपाली सुरक्षाकर्मीलाई रेल स्टेसनहरुमा तैनाथ गरेका थिए । शनिबारबाट करिब एक सय ५० गोर्खा सुरक्षाकर्मी विभिन्न रेलवे स्टेसनमा तैनाथ भएका छन । हङकङको रेलवे स्टेसनमा गोर्खा सुरक्षाकर्मी पहिलो पल्ट परिचालन गरिएको हो ।

आन्दोलनकारीहरुले निशाना बनाएका रेलवे स्टेसनहरुमा प्रति स्टेसन ४ जना गोर्खा सुरक्षाकर्मी खटाइएको छ । रेलवे स्टेसनमा अहिले करिब एक सय ५० जना गोर्खा सुरक्षाकर्मी तैनाथ गरिएको हो ।

हङकङमा मेट्रो रेल यात्राका लागि सबैभन्दा भरपर्दो, सुरक्षित र सस्तो साधन मानिन्छ । दैनिक लाखौं यात्रु रेलमा यात्रा गरिरहेका हुन्छन् ।

यसअघि हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा नै हिंसात्मक अवरोध भएपछि हङकङ सरकारले गोर्खाली सुरक्षाकर्मी परिचालन गरेको थियो । विमानस्थलमा पहिलो पटक नेपाली सुरक्षाकर्मी तैनाथ गरिएको थियो । एक सय ५० बढी गोर्खाली सुरक्षाकर्मी विमानस्थलमा अस्थायी रुपमा परिचालन गरिएको थियो ।

हङकङमा पहिले ब्रिटिश सैनिक र पछि स्थायी बासिन्दा भएर सुरक्षागार्डका रुपमा समेत काम गर्दै आएका गोर्खाली सुरक्षाकर्मी चर्चित छन् । हङकङको सुरक्षा क्षेत्रमा नेपालीको पहिचान राम्रो बनाएको छ । अध्यागमन लगायतका सरकारी अड्डा, कर्पोरेट हाउस र ठूला व्यवसायीले गोर्खाली सुरक्षाकर्मीलाई विश्वास गर्ने गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७