शून्य लागतमा नेपाली श्रमिक मलेसिया जान शुरु


३० भाद्र २०७६, सोमबार
malesiya 3

काठमाडौं, ३० भदौं । नेपाली श्रमिक शून्य लागतमा रोजगारीका लागि मलेसिया जान पाउने दुई मुलुकबीचको समझदारी कार्यान्वयन शुरु भएको छ ।

आइतबारबाट कुनै शुल्क नतिरी नेपाली श्रमिक मलेसिया जान पाउने व्यवस्था लागू भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

‘नेपाल सरकार र मलेसिया सरकारबीच १२ कात्तिक ०७५ मा भएको श्रम समझदारीअन्तर्गत स्थापित संयुक्त कार्यसमूहको २४ र २५ भदौमा मलेसियामा भएको दोस्रो बैठकबाट गत वर्ष हस्ताक्षरित श्रम समझदारी कार्यान्वयनलाई औपचारिक रूपमा अगाडि बढाउन सहमति भएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२ जेठ ०७५ मा श्रम मन्त्रालयले मसेलिया जाने कामदार ठगी गर्ने संस्थामाथि कारबाही शुरु गरेपछि कामदार जाने क्रम रोकिएको थियो । दुई मुलुकबीच २४ र २५ भदौको सहमतिपछि कामदार पठाउने क्रम पनि सुरु भएको छ । नयाँ समझदारीअनुरूप आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच शुल्कलगायत खर्च सम्बन्धित रोजगारदाताले नै बेहोर्नुपर्नेछ ।

विगतमा नेपाली कामदारलाई तिर्दै आएको लेबी पनि अब तिर्नु नपर्ने भएको छ । करार अवधि तीन वर्ष रहँदै आएकोमा अब दुई वर्ष कायम भएको छ । कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चितता भएको छ । अतिरिक्त समयमा काम गरेबापत थप पारिश्रमिक एवं सेवा सुविधा प्राप्त हुनेछ ।

त्यस्तै, रोजगारदाताले कामदारका लागि उचित कार्यवातावरण र बासस्थानका साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रबन्धसमेत गर्नुपर्नेछ । नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानु पर्नेछ ।

त्यसो हुन नसके श्रमिकले गर्नुपरेको खर्च रोजगारदाताले नै बहन गर्नुपर्ने व्यवस्था गरिएको छ । महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्नेछ । त्यसैगरी रोजगारदाताबीच श्रमसम्बन्धी विवाद उत्पन्न भई मुद्दा विचाराधीन रहेसम्म कामदार मलेसिया बस्न पाउने छन् ।

मलेसियामा कार्यरत नेपाली श्रमिकले आफ्नो परिवारको निकटतम सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउने छन् ।
कार्यस्थलमा हुने कामदारको दुर्घटना बिमा र स्वास्थ्य बिमालाई मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुनेछ ।

भविष्यमा मलेसिया सरकारले बिमासम्बन्धी नयाँ योजना लागू गरेमा त्यो पनि नेपाली कामदारलाई समेत लागू हुनेछ । कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताकै हुनेछ ।

समझदारीपत्रअनुसार नेपाली कामदारलाई मलेसियाको श्रम कानुनबमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइएसरहको संरक्षण प्रदान गर्ने व्यवस्था गरिएको छ । दुवै देशका सरकारले आ–आफ्नो देशमा कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्नुपर्नेछ ।

रोजगारदाता कम्पनी विघटन भएमा, रोजगारदाताले कामदारलाई दुर्व्यवहार गरेमा, कुनै प्रकारको शारीरिक वा मानसिक हिंसा गरेमा वा रोजगारदाताले गर्नुपर्ने दायित्व पूरा नगरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।

सम्झौता अवधि समाप्त भएपछि कामदारले रोजगारदाता छनोट गर्न सक्ने प्रावधान छ । करार अवधिपछि कामदार नेपाल फर्कन पाउने र त्यसका लागि रोजगारदाताले हवाई टिकट उपलब्ध गराउनुपर्नेछ । नेपाली कामदारले राहदानीलगायत आफ्ना निजी कागजात आफैँसँग राख्न पाउने अधिकार पनि सुनिश्चित गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७