मन्त्री मातृका यादवका ज्वाइँको सांसद पद धरापमा


३० भाद्र २०७६, सोमबार
Dilip Sah 1

सिरहा, ३० भदौं । जिल्ला अदालत धनुषामा प्रदेश २ का प्रदेशसभा सांसद दिलिपकुमार साहमाथि बहुविवाहको मुद्दा परेको छ ।

श्रीमती संगीतादेवी यादवले सांसद साहमाथि बहुविवाहको मुद्दा दिएपछि प्रदेशसभा सदस्यको पद नै जोखिममा परेको हो । जिल्ला अदालत धनुषाले भदौ ४ गते प्रदेश नम्बर २ को संसद सचिवालयलाई फैसलाको जानकारी पत्र पठाएपछि सांसद साहको पद धरापमा पर्ने देखिएको छ ।

उनी सिराहा क्षेत्र नम्बर ४ (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । सांसद साहको मन्त्री मातृकाप्रसाद यादवको छोरी संगीतादेवी यादवसँग ०५७ सालमा अन्तर जातीय विवाह भएको थियो ।

उनलाई धनुषा जिल्ला अदालत र उच्च अदालत जनकपुरले बहुविवाह गरेको कसूर ठहर गर्दै १ वर्ष कैद र ५ हजार रुपियाँ जरिवाना समेत ठहर गरिसकेको छ ।

घरमा पत्नी हुँदाहुँदै सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेको भन्दै उनलाई जिल्ला अदालत धनुषाका तत्कालीन जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले २०७२ जेठ १३ गते दोषी ठहर गर्दै फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलालाई चुनौती दिँदैै साह उच्च अदालत पुगे । तर यतिबेला उच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विनोद मोहन आचार्य र रमेश ढकालको संयुक्त इजलाशले २०७६ असार २५ गते जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।

‘पहिलो श्रीमती संगीतादेवी यादव र उनका २ सन्तान हुँदा हुँदै सम्बन्ध विच्छेद नगरि जानकी कुमारी साहसँग अर्को बिहे गरेका कारण साहले बहुविवाह कसूर गरेको जिल्ला अदालत र उच्च अदालतले ठहर गरेको हो ।

जिल्ला अदालतले फैसला गर्दा साहकी दोस्रो पत्नी जानकीकुमारी साहलाई भने सफाई दिएको छ । तर जानकीले आफू दिलिपको पत्नी नरहेको दावी गर्दै आइरहेकी छन् ।

न्याय प्रशासन ऐन २०७३ को दफा ९ (ख) बमोजिम उच्च अदालतमा १० वर्ष वा सो भन्दा बढी कैद सजाय हुने गरी फैसला भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने प्रावधान छ ।

३ वर्षभन्दा बढी कैद वा ५ लाख रुपियाँ वा २५ लाख रुपियाँभन्दा बढी बिगोमा आंशिक ठहर गरे मात्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने प्रावधान रहेको छ । उच्च अदालतले गरेको फैसलाले माथिल्लो निकायमा पुनरावलोकन गर्न भन्दै म्याद समेत जारी गरेको छैन ।

प्रदेशसभा सदस्य साह भने उच्च अदालतको फैसलालाई समेत चुनौती दिँदै सर्वोच्च अदालतको शरणमा पुगेका थिए ।

सर्वोच्चले गत भदौ ८ गते उच्च अदालत जनकपुरको आदेश अनुसार १ वर्षको सजाय मध्ये ३ महिना २७ दिनसम्म सभासद साह कारागारमा रहिसकेको र बाँकी ८ महिना ३ दिन कारागारका लागि दिनको ३ सय रुपियाँको दरले ७४ हजार ४ सय र ५ हजार जरिवानासहित जम्मा ७९ हजार ४ सय रुपियाँ बुझाइसकेको पत्र उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषालाई पठाइसकेको छ ।

सर्वोच्च अदालतले ०७६ भदौ ८ गते मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ७४ तथा दफा ७५ बमोजिमको कागज गराइ प्रस्तुत दोहोर्‍याइ पाउँ भनि दिएको पत्र फौजदारी कसुरमा दर्ता गरी प्रतिवादी साहलाई तारेखमा राखी इजलास समक्ष पेश गर्न सम्बन्धित मुद्दा फाँटमा बुझाइदिन र उच्च अदालत जनकपुर तथा धनुषा जिल्ला अदालतलाई पत्र पठाइदिन आदेश दिएको छ ।

संगीताले पछि धनुषास्थित प्रशासन कार्यालयमा समेत मुद्दा दिएर मिलापत्र गरिन् र दिलिप कारागारबाट साढे ३ महिनापछि रिहा भएर आउँदा दिलिप, संगीता र २ छोराको नाममा ४ ठाउँमा अंशवण्डा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७