आईएनजीओको कार्यक्रम कति पारदर्शी ? एक वर्षमा २७ अर्ब लगानीको सम्झौता


३० भाद्र २०७६, सोमबार
Ingo

काठमाडौं, ३० भदौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालमा झण्डै २७ अर्ब रुपैयाँ लगानी गर्नेेसम्बन्धी परियोजना सम्झौता गरेका छन् ।

समाज कल्याण परिषद्का अनुसार आर्थिक वर्ष २०७५–७६ मा आईएनजीओले ४९ परियोजनाका लागि २६ अर्ब २५ करोड ४७ लाख ९१ हजार ४ सय ६२ रुपैयाँ ४७ पैसा लगानी गर्ने स्वीकृति पाएका छन् । आईएनजीओको त्यति धेरै लगानीको पारदर्शितामा भने बारम्बार प्रश्न सिर्जना हुने गरेको छ ।

आईएनजीओहरूले स्वास्थ्य, शिक्षा, बाल कल्याण, मानव बेचविखन, कृषि तथा पशुपालनलगायतका परियोजनामा खर्च गर्ने गरी सम्झौता गरेको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताए । एक वर्षदेखि ५ वर्षसम्मका यी परियोजना हाल सञ्चालनमा रहेको पनि उनले बताए ।

‘विगतको तुलनामा गत वर्ष आधाभन्दा कम संख्यामा परियोजना सम्झौता भएको हो । यो संगै आईएनजीओको लगानीमा पनि उल्लेखनीय कमी आएको छ,’ सूचना अधिकारी भट्टराईले भने, ‘अघिल्लो आर्थिक वर्षमा आईएनजीओहरूको लगानीमा झन्डै ८० वटा परियोजनाको सम्झौता भएको थियो ।

यसका लागि झन्डै ४६ अर्ब रुपैयाँ लगानी गर्ने स्वीकृति परिषद्बाट पाएका थिए ।’ आईएनजीओले नेपालमा लगानी गर्न स्वीकृत पाएका परियोजनाहरू गैरसरकारी संस्था (एनजीओ)मार्फत कार्यान्वयन गर्ने गरिन्छ ।

यसरी लगानीमा कमी आउनुको प्रमुख कारण भूकम्प पुनर्निर्माणसम्बन्धी परियोजनाहरू सम्पन्न हुँदै जानु रहेको परिषद्ले जनाएको छ । तर, स्रोतका अनुसार सरकारले आईएनजीओहरूमाथि कडाइ गर्ने खालका ऐन नियम ल्याउने तयारी गरेसँगै ती संस्थाले आफ्नो लगानी कम गर्दै लगेका हुन् ।

सरकारले विभिन्न विवादित गतिविधिमा आईएनजीओको लगानी रहेको पाइएपछि ती संस्थामाथि कडाइ गर्ने तयारी गरेको बताइएको छ । आईएनजीओबाट सञ्चालित परियोजनाको उपलब्धि हालसम्म सन्तोषजनक नै रहेको उनीहरूले दाबी गर्दै आएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७