१५ सय क्षमताको केन्द्रीय कारागारमा तीन हजार १२९ कैदीबन्दी


३० भाद्र २०७६, सोमबार
nakkhu karagar

काठमाडौं, ३० भदौं । मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ ।

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका छन् ।

केन्द्रीय कारागार विभागका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद सापकोटा एक हजार ५०० क्षमता भएको कारागारमा दोब्बरभन्दा धेरै संख्यामा कैदीबन्दी हुँदा समस्या भएको बताउँछन् । ‘देशको राजधानी काठमाडौंमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको संख्या बढी भएको हो’, उनी भन्छन् ।

केन्द्रीय कारागार परिसरभित्र हाल तीन वटा जेल रहेका छन् । जसमध्ये केन्द्र जेलमा एक हजार ९१०, भद्र जेलमा ८३२ र महिला जेलमा ३७८ कैदीबन्दी रहेका छन् । कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न किसिमका रोग समेत लाग्ने गरेको छ ।

केन्द्रीय कारागार तथा देशका अन्य कारागारमा रहेका कैदीबन्दीको उपचारका लागि जगन्नाथदेवलमा केन्द्रीय कारागार अस्पताल समेत सञ्चालन भएको छ । उक्त अस्पताल हाल ३० शैंयाको रहेको छ ।

कारागारभित्र रहेका कैदीबन्दीमध्ये सबैभन्दा धेरै अर्थात् ४७९ जना लागुऔषध कारोवारका रहेका छन् । यस्तै ३५७ जबरजस्ती करणी, १३५ चोरी, ९९ डाँका, ७८ सार्वजनिक अपराध, ७४ ठगी, ४४ ज्यान मार्ने उद्योग, ५२ वन र २८ अपहरण मुद्दामा जेल परेका छन् ।

पछिल्लो समय नेपाल सरकारले कारागारको सुरक्षाका लागि सिसी क्यामरा जडान र विद्युतीय हाजिर जडान गरेको छ । सिसी क्यामरा र विद्युतीय हाजिरको जडानसँगै कारागारभित्रको सुरक्षामा सहज हुने जेलर सापकोटा बताउँछन् ।

विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौं र दाङमा दुई–दुई कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन ।

हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्र सञ्चालनमा रहेका छन् । विभागका अनुसार हाल देशभर २२ हजार ६७६ कैदीबन्दी रहेका छन् । देशभर कारागारको क्षमता भने १५ हजार ४६६ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७