विदेशी कम्पनीलाई मात्र द्रुतमार्गको पुल र सुरुङको ठेक्का


३० भाद्र २०७६, सोमबार
surung

काठमाडौं, ३० भदौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–निजगढ द्रुतमार्गमा बन्ने पुल र सुरुङको ठेक्का नेपाली कम्पनीले नपाउने भएका छन् ।

‘डिजाइन एन्ड बिल्ट’ मोडलमा बनाइने पुल र सुरुङ्गको ठेक्का विदेशी कम्पनीले मात्र पाउने भएका छन् । ‘डिजाइन एन्ड बिल्ट’ मोडलअनुसार काम गर्दा आधारभूत नक्साङ्कनका आधारमा ठेकेदार कम्पनीले नै डिजाइन गर्नुपर्ने नेपाली सेनाले जनाएको छ । त्यसलाई सेनाले स्वीकृत गरेपछि मात्रै काम शुरु गर्न सक्नेछ ।

पुल र सुरुङ बनाउने ठेक्का विदेशी कम्पनीलाई मात्र दिइने छ । पुल बनाउन ६ वटा कम्पनी सूचीकृत भइसकेको सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । त्यसमा ५ वटा चिनियाँ र एउटा टर्किस कम्पनी छन् ।

सुरुङ मार्गका लागि पनि कम्पनीहरु सूचीकृत गर्ने प्रक्रिया चलिरहेको पाण्डेले जानकारी गराए । उनले भने, ‘तीन महिनाभित्रै सुरुङमार्ग बनाउने कम्पनी छनोट गरिसक्ने योजना छ ।’

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्गमा ८७ वटा पुल र तीन वटा सुरुङमार्ग निर्माण गर्नुपर्ने छ ।

भदौ पहिलो साता मन्त्रिपरिषदले स्वीकृत गरेको (डीपीआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाइने छ । द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ । यो आयोजना लागत एक खर्ब ७५ अर्ब अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७