त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनःर्स्थापना


३० भाद्र २०७६, सोमबार
IMG 5515

काठमाडौं, ३० भदौ :  पुनर्निर्माण भइरहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनर्स्थापना गरिएको छ । गजूर पुनर्स्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुल लगायतले मन्दिरको अवलोकन गरेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा सत्तलहरुको काठमाडौं विश्वविद्यालयको स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ ।

विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कार्यका संयोजक डा. लोचन रिजालले मन्दिरको करिब ८० प्रतिशत र समग्र गुरुयोजनाको करिब ३५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरीलाई पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ । सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाएकी थिइन् ।

यसैबीच प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आइतबार अपरान्ह सिंहदरबार, धरहरा र रानीपोखरीको पनि अवलोकन गरे । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा प्रबलीकरणको काम भइरहेको छ ।

प्रबलीकरण आगामी चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ । धरहरा टावरको माथिल्लो बेसमेन्टमा काम भइरहेको छ भने पहिले हुलाक कार्यालय रहेको भवनहरु भत्काइँदै छ । स्थानीय जनताको सहजताका लागि तेबहालबाट टुँडिखेल निस्कने नयाँ बाटो पनि खोलिएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७