बाँके घटनाले फेरि भाँडियो संसद, कांग्रेसको नाराबाजीपछि वैठक स्थगित


३० भाद्र २०७६, सोमबार
samsad

काठमाडौं, ३० भदौं । प्रमुख विपक्षी दलले संसद अवरोध नगर्ने बताएपछि आज (सोमबार) को प्रतिनिधिसभा वैठक शुरुवातमै अवरुद्ध बन्न पुग्यो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले अरोपित वडाध्यक्षलाई मुद्दा लगाए स्वीकार्य नहुने बताएसँगै संसद खुल्न दिने सहमति एकाएक भाँडिन पुग्यो । योसँगै संसदमा नयाँ गत्यावरोध उत्पन्न भएको छ । संसद सुचालु गर्न सहमत भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको छ र बैठक स्थगित भएको छ ।

बाँके घटनालाई लिएर खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सुचालु गर्न सहमत भएको थियो । त्यसअनुसार सोमबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सदनको दबाबपछि जाहेरी दर्ता भएको भन्दै अवरोध हटाउने बताएकी थिइन् ।

लगतै नेकपाका सांसद नन्दलाल रोकायले विशेष समय लिएर बोल्दै आरोपित वडाध्यक्षको बचाउ गर्दै नेकपाका कार्यकर्ताले कांग्रेसको कार्यक्रममा आक्रमण नै नगरेको दाबी गरे ।

वडा नम्बर १ का कांग्रेस कार्यकर्ता भुवनसिंह थापा र ७ का अस्लाम भाटको विवादमा यो घटना भएको उनको दाबी छ । भुवनसिंहको पक्षमा रहेका चार जना कांग्रेसको कार्यक्रममा गएको र उनीहरुमध्ये तीन जना हलमा प्रवेश गरेको भन्दै सांसद रोकायले भने, ‘कसैले हात पात गरेको छैन । धकेलाधकेल पनि भएको छैन ।’ ‘करिव डेढ दुई सयको जमघटमा तीन जना केटाकेटीले हातपात गर्न सक्दैन’, उनले अघि भने ।

तर कांग्रेसले गलत आरोप लगाएको भन्दै उनले वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नहुने बताए । ‘वडाध्यक्ष एकदमै बेकसुर छ । वडा मुद्दा लगाउने भन्नु कुरा तै सहन सक्दैन । कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौं’, उनले भने ।

यसबारे संसदीय छानविन समिति बनाउनुपर्ने उनको माग छ । नेकपा सांसद रोकाय बोलिरहँदा नै कांग्रेस सांसदहरू उठिसकेका थिए । उनले बोलिसके लगतै रोष्टम घेराउ गर्दै नाराबाजी गरे । सभामुखले यसबारे केही भन्छु भन्दा पनि नाराबाजी रोकिएन र संसद १ असोजसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७