गुरु नानकको स्मृतिमा सिक्का प्रकाशन हुँदै


३१ भाद्र २०७६, मंगलवार
guru nanak dev

काठमाडौं, ३१ भदौ ।
शिख धर्मावलम्बीका प्रवद्र्धक श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा नेपाल राष्ट्र बैंकले सिक्का प्रकाशन गर्ने भएको छ । गुरु नानकले धर्मका माध्यमबाट समाजिक विकासमा योगदान गरेका कारण बैंकले सम्मानस्वरुप उनको स्मरणमा सिक्का ल्याउन लागेको हो ।

रू १० हजार, रू एक हजार र रू १०० मूल्यका १० हजार सिक्का असोजको दोस्रो सातासम्ममा प्रकाशन गर्न लागिएको बैंकका उपनिर्देशक थानेश्वर आचार्यले जानकारी दिए । बैंकले विभिन्न कालखण्डमा समाजका विभिन्न तह तथा क्षेत्रबाट मुलुकको विकास र प्रगतिमा भूमिका निर्वाह गरेका ऐतिहासिक व्यक्ति तथा संस्थाका नामबाट सिक्का प्रकाशन गर्दै आएको छ ।

सन् १४६९ अप्रिल १५ मा लाहोर नजिकै तलबन्डी गाउँमा जन्मिएका गुरु नानकले शिख दर्शन र साहित्यको प्रवद्र्धन गरेका थिए । उनको गाउँ ननकानाका नामले प्रख्यात छ । ननकाना पहिले भारतमा थियो तर विभाजनपछि हाल यो पाकिस्तानमा छ । धार्मिक गतिविधिका माध्यमबाट उनले तत्कालीन समाजमा जातीय विभेदको अन्त्य गरी न्याय, समानता, भ्रातृत्व कायम गरेका थिए ।

गुरु नानक नेपालमा आएर पशुपतिनाथ, बालाजुलगायतका क्षेत्रमा भ्रमण गरेको विश्वास छ । विश्वका विभिन्न मुलुकमा छरिएका ती धर्मावलम्बी हाल करीब दुई करोड ७० लाखको संख्यामा छन् । नेपालमा भने करीब सात हजारको संख्यामा छन् । गुरुको शिक्षामा श्रम र सेवालाई विशेष महत्व दिएका कारण मेहेनतमा विश्वास गर्ने शिख इमान्दार मानिन्छन् ।

अन्तरर्राष्ट्रिय तहमा फैलिएका शिख अनुयायीले शिक्षा, स्वास्थ्य, यातायात, उद्योगलगायत क्षेत्रका विकासमा लगानी गरी प्राप्त हुने आम्दानीको निश्चित एकाइबाट विद्यालय तथा अस्पताल स्थापना गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७