कालजयी गीत ‘गाउँ-गाउँबाट उठ’ का गीतकार तमोट भन्छन्, ‘रिमिक्स गीत बन्दै गर्नुपर्छ’


३१ भाद्र २०७६, मंगलवार
shyam tamot

‘गाउँ–गाउँबाट उठ, बस्ती बस्ती बाट उठ…’ जनतालाई उठाउन गाइएको यो गीत नसुन्ने नेपाली को होला ? यसलगायत धेरै प्रगतिशील गीतले नेपालको वामपन्थी आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपुर्‍याएका छन् । यस गीतले पञ्चायतकालदेखि संसदीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्न धेरै ऊर्जा दिएको थियो । यस्ता कालजयी गीतका गीतकार श्याम तमोटको नाम भने गीत जति चर्चामा आउन सकेको छैन ।

हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटमा क्रान्तिकारिता मात्र होइन, सरलता र शालीनता उत्तिकै छ । उनको गीत नेपाललगायत विश्वका १७ भाषामा अनुवाद भएर विश्वभर क्रान्तिकारी जनताबीच गुञ्जिरहेको छ । उनै गीतका सर्जक तथा सङ्गीतकार तमोट केही वर्षअघिसम्म भोजपुरको दाँवामा एक साधारण शिक्षकका रुपमा जीवन व्यतीत गरिरहेका थिए । पाँच वर्षदेखि मात्र काठमाडौंमा बस्दै आएका तमोटसँगको अन्तरङ्ग कुराकानीको सम्पादित अंश :-

आफ्नो जन्म र बाल्यकालवारे बताई दिनुहुन्छ कि ?
मेरो जन्म भोजपुर जिल्लाको टक्सारमा २०११ असार १५ गते भएको हो । म नेवारी समुदायको व्यापारी परिवारमा जन्मेको हुँ । हामीले भोजपुरको दाँवामा कपडा, किराना पसल चलाएका थियौं । मैले थाहा पाएदेखि नै हामी दाँवामा थियौं ।

अध्ययन कहाँ–कहाँ गर्नुभयो ? पेशा के लिनुभयो ?
मैले कक्षा ८ सम्म सिद्घेश्वर मावि, दाँवामा पढें । त्यसपछि कक्षा ९ र १० पढ्न भोजपुर सदरमुकामको विद्योदय माविमा गएँ र त्यहींबाट २०२७ सालमा एसएलसी परीक्षा पास गरें । त्यसपछि भोजपुर क्याम्पसमा कमर्श विषय नभएकाले २०२८ सालमा कमर्श पढ्न धरान झरें र महेन्द्र कलेज धरानमा पढें । आइकम पास गरेपछि २०३२ सालमा सिद्घेश्वर मावि, दाँवामा शिक्षक भएँ । त्यहाँबाट सेवाकालीन अवस्थामै सानोठिमी क्याम्पस भक्तपुरमा बिजनेस (व्यवसाय) विषयमा २०३५—३७ सम्म तालीम लिएर बिएड उत्तीर्ण गरें ।

पारिवारिक पृष्ठभूमि कस्तो थियो ? विवाह कोसँंग र कहाँ भयो ?
मेरा बुवाको नाम विष्णुकुमार र आमाको नाम शुभलक्ष्मी हो । मेरा एकएक दिदी, बहिनी र भाइ छन् । छोरामा जेठो र सबैमा माहिलो सन्तान हुँ । विवाह २०३५ फागुनमा खोटाङ बजारकी गङ्गा उदाससँंग मागी विवाह भएको हो ।

राल्फाली कलाकारसँग कसरी सम्पर्क भयो ? राजनीतिक झुकाव कतातिर थियो र कुन–कुन दलमा संलग्न हुनुभयो ?
म कक्षा १० मा पढ्दा राल्फा समूहका सङ्गीत अभियानकर्मीहरु रामेश, मन्जुलहरु दाँवा आएका थिए र विद्यालयमा कार्यक्रम गरेका थिए । सदरमुकाम आसपास पनि कार्यक्रम गरेका थिए । उनीहरुले गाउने गीतको सन्देश र पृष्ठभूमि बेग्लै र आकर्षक हुन्थ्यो । यसक्रममा मञ्जुल प्रभावशाली तरिकाले बोल्नुहुन्थ्यो । उहाँले विशेष प्रभाव पार्नुभयो ।

उहाँका कुराले निर्धा निमुखाको मन छुन्थ्यो, कति त धर्धरी रुन्थे, मन पगाल्थ्यो । राल्फा समूहमा पारिजातको नेतृत्वमा रामेश, रायन, मञ्जुल आदिको साङ्गीतिक समूह बनेको थियो । युवामा विद्रोहको भावना थियो । राल्फा शब्द रामेश र मञ्जुलले सिर्जना गर्नुभयो, सबैलाई स्वीकार्य भयो तर यसको कुनै शाब्दिक अर्थ भने छैन । यो शब्द नाममा जातभन्दा फरक हुने र विभेद हटाउने गरी प्रयोग गरिएको थियो ।

तपाईको चर्चित गीत ‘गाउँ–गाउँबाट उठ’ कहिले लेख्नुभयो, त्यसको पे्ररणा स्रोत के थियो ? यो केमा छापियो ?
यो गीत मैले २०३१ सालमा लेखेको हुँ । राल्फासंँग भेट भएपछि उनीहरुका गीतले तान्यो, धरानमा पनि प्रगतिशील विद्यार्थीसंँग सङ्गत भयो । त्यहाँ रामेश, बम देवान, गोविन्द विकल आदिसंँग भेट भयो । चिनियाँ क्रान्तिको प्रभाव पनि परेको थियो, किनकी माओत्सेतुङले गाउँ पहिले मुक्त हुनुपर्छ र शहरलाई घेर्नुपर्छ भन्नुभएको थियो ।

चीन जस्तै नेपालमा पनि किसानको नेतृत्वमा क्रान्ति हुने स्थिति भएकाले माओको प्रभाव परेको अवस्थामा यो गीत भोजपुरको दाँवामा लेखेको हुँ । यो गीत सर्वप्रथम विसं २०३६ मा ‘सङ्कल्प’ पत्रिकामा छापिएको थियो ।

यसमा सङ्गीत कसले र कहिले दिनुभयो र शुरुमा यसको प्रभाव कत्तिको थियो ?
यसमा सङ्गीत २०३१ मा म आफैले दिएको हुँ । पहिला गीत गाउँदा त्यति वास्ता भएन तर क्याम्पसका सरहरुले भने मन पराउनु भयो । पहिलो पटक भोजपुर क्याम्पसमा एउटा कार्यक्रममा भोजपुरका शम्भु श्रेष्ठ, दिल्पाका डिल्लीरमण राई र मैले गाएका थियौं । त्यस बेला भोजपुर क्याम्पसमा सुरेन्द्र जोशी क्याम्पस चिफ हुनुहुन्थ्यो । पछि यस गीतलाई एक जना भाइले काठमाडौं ल्याएर रामेशलाई देखाएछन् । त्यसपछि उहाँले यसलाई गाउन थाल्नुभयो ।

यसको रेकर्डिङ कसको स्वरमा कहिले भयो ?
यो गीत २०३५–३६ सालतिरै रामेश र मञ्जुलको स्वरमा रेकर्डिङ भए पनि पछि २०५४ सालमा ‘बलिदान’ फिल्मका लागि रामेश, रामकृष्ण ढकाल, ओम श्रेष्ठ र लासिमित राईको स्वरमा रेकर्डिड भएको हो ।

यसको अनुवाद कति भाषामा भएको छ, ती के–के हुन् ?
यो गीत १७ भाषामा अनुवाद भइसकेको छ । ती भाषाहरुमध्ये केही नेपालका जिरेल, तामाङ, मैथिली, नेवार, राई वान्तवा, लिम्बू छन् भने विदेशी भाषामा हिन्दी, चिनियाँ, अङ्ग्रेजी, फ्रेञ्च आदि रहेका छन् ।

राल्फा समूहमा भोजपुरका को–को सहभागी हुनुहुन्थ्यो ?
राल्फामा रामेश, रायन, मञ्जुल, रेमन (लक्ष्मी कोइराला), नोरेम (हरि श्रेष्ठ), निनु चापागाईँ, विमल चापागाइँ, प्रदीप नेपाल (सिरोज, सोनोभ), अरिम आदि हुनुहुन्थ्यो ।
प्रसिद्घि देशभर अझ विदेशमा पनि भए पनि किन राजनीतिमा प्रत्यक्ष संलग्न हुनु भएन ? के

तपाईलाई सांसदको टिकट दिइएन ? या प्रयासै गर्नुभएन ?
मलाई राजनीतिभन्दा साङ्गीतिक क्षेत्र नै मन पर्‍यो । त्यो मेरो व्यक्तिगत स्वभावले गर्दा पनि होला । घरायसी समस्याले गर्दा पनि पार्टी राजनीतिमा लागिएन । सङ्गठकको रुपमा काम गरिएन ।

अहिले नेपाल स–गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सदस्य सचिव हुनुहुन्छ, यस पदमा कसरी आइपुग्नुभयो ?
विसं २०३०–३२ देखि नै सङ्गीत क्षेत्रमा लागियो, लेखन खासगरी गीत लेखनमा लागि लोकतन्त्र स्थापनाका लागि, पञ्चायती व्यवस्था अन्त्यका लागि काम गरेको हुँ र अहिले लोकतन्त्रका अनुयायीहरु नै सरकारमा भएकाले मलाई सम्झनुभयो । मेरो गीति योगदानलाई कदर गर्दै लोकतान्त्रिक गणतान्त्रिक सरकारले मलाई यस पदमा उपयुक्त ठान्यो । यसका लागि तपाईको संचार माध्यममार्फत सरकारलाई पनि धन्यवाद दिन चाहन्छु ।

यस प्रज्ञा–प्रतिष्ठानले के गरिरहेको छ यसको आवश्यकता कत्तिको छ ? यसका कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
प्रतिष्ठानले नेपाली सङ्गीत नाट्य विधाको संरक्षण, सम्वर्धन, अनुसन्धान जस्ता प्रमुख काम गरिरहेको छ । हामी २०७५ पुसमा प्रतिष्ठानमा आएपछि खास काम गर्न थालेको त पाँच–छ महिना भयो । नयाँ आवमा हामी संविधान दिवसको उपलक्ष्यमा नेपाली बाजाको मात्र खासगरी सारङ्गीको वाद्यवादन कार्यक्रम असोज २ गते साँझ राष्ट्रिय नाचघरमा गर्दैछौंं । त्यो सुनिदिनुहुन म सबैलाई अनुरोध गर्दछु ।

सङ्गीत नाट्य, ललितकला र नेपाल प्रज्ञा –प्रतिष्ठानहरु गाभिनु पर्छ भन्ने भनाइ कतिको उचित हो ?
देशको आवश्यकता र परिस्थितिले तीन वटा प्रतिष्ठान सिर्जना भएका हुन् । फेरि एउटैमा आउनु जायज होइन । यिनीहरुलाई अलग अलग ढङ्गले नै विकास गर्नुपर्छ । व्यवस्थापन गर्न कठिन भएकाले बेग्लै विधागत विकास गर्नुपर्छ ।

यस प्रतिष्ठानका कामलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ?
लोप हुन लागेका लोकगाथा, लोकभाका, लोकनृत्यको खोजी, सङ्कलन, छायाङ्कन गरी विश्वमा हाम्रो लोकसंस्कृतिको प्रचारप्रसार गर्नुपर्छ । अन्तर्राष्ट्रियस्तरमा गोष्ठी आयोजना गर्ने, सार्कसंँग सम्बन्ध बढाउने र सार्कस्तरीय कार्यक्रम गर्ने, अतीतको संरक्षण गर्ने र भविष्यतर्फ जाने उद्देश्य रहेको छ ।

प्रतिष्ठानले विभिन्न प्रदेश तथा दूरदराजका लोप हुन लागेका गीतसङ्गीतको संवर्धनमा के गर्न सक्छ र के गरिरहेको छ ?
हालसम्म प्रतिष्ठानको कार्यालय एउटै मात्र छ, यसका प्रदेश शाखा, प्रशाखा छैनन् । यसअघि प्रतिष्ठानले सातै प्रदेशको गीत सङ्गीतको अनुसन्धान गरी पुस्तक निकालिसकेको छ । ती बाहेक केही छुटेका भए मेचे, धिमाल, तथा अन्य अल्पसंख्यकको अनुसन्धानमूलक कार्य गरिनेछ, जस्तै मगरको घाँटुनाच आदि तथा लोपोन्मुख भाषा, संस्कृतिका सङ्गीतको अनुसन्धान गरिनेछ ।

प्रतिष्ठानले नेपाली गीत सङ्गीत तथा नाटकको विदेशमा प्रचारप्रसार गर्न सकेको छ कि छैन र कुन कुन देशसंँग सम्बन्ध स्थापित गर्न सकेको छ ?
अहिले यसमा हामी अलि कमजोर छौँ, आगामी दिनमा गर्नेछौंँ । विगतमा भारतमा गएर कार्यक्रम भएका छन् । अहिले अपेक्षित काम हुन सकेको छैन ।

नेपाली गीत सङ्गीतको जुन हिसाबले विकास भइरहेको छ, त्यसमा सन्तुष्ट हुनुहुन्छ ?
लोकतन्त्र स्थापनापछि मात्रात्मक रुपमा विकास प्रशस्तै भयो, विद्युतीय सञ्चारमाध्यमका कारण पनि परिमाणात्मक धेरै वृद्घि भयो । पहिले त एउटा रेडियो मात्र थियो, अहिले माध्यमको अभाव छैन । अहिले संख्या र विषयवस्तुको विविधीकरण भए पनि अझै प्रयत्न गर्नुपर्ने आवश्यक देखिन्छ । हिन्दी र अङ्ग्रेजीसँंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

अहिले दोहोरी गीतहरु व्यापक भइरहेको सन्दर्भमा अन्य लोकगीतहरु खासगरी पूर्वीय भाकाहरु ओझेलमा परेको जस्तो लाग्छ कि लाग्दैन, ती गीतहरुको उत्थान हुन सक्छ कि सक्दैन ?
दोहोरीको विकास प्रशस्तै भएको छ यो खुशीको कुरा हो तर प्रस्तुतिमा आधारभूत रुपमा भिन्नता नहुनु, छेडखान, होच्याउने क्रम आदि बढेको छ, पहिले यस्तो थिएन । पूर्वमा पनि लोकगीत, दोहोरी गीत भए पनि पूर्वको भाकाले प्रभाव जमाउन सकेन । यसले पश्चिमको जति प्रभाव जमाउन सकेको छैन तर पनि यसमा केही संस्था लागिपरेका छन् । पूर्वको अलि ढिलो तालको भएकाले पश्चिमको तुलनामा जम्न सकेन ।

हाल वामपन्थी नै सरकार सत्तामा भए पनि जनवादी तथा प्रगतिशील गीतसङ्गीत ओझेलमा परेको जस्तो लाग्छ कि लाग्दैन ?
यो एउटा बृहत् बहसको विषय हो । कतिपय गीतको पहिलेको प्रभावले राम्रो नतिजा दिएको छ । ती गीतले सामाजिक विकृति विसङ्गतिलाई उजागर गर्थे । अहिले सबैजसो गीतमा जनताका दुःख र विभेदका कुरा आउँछन् । ढिलासुस्ती, भ्रष्टाचारको विरोध आदि प्रगतिशीलताकै प्रभाव हो । हाल ती गीत ओझेलमा परेजस्तो देखिएको छ । त्यतिबेला प्रतिबन्धित अवस्थामा ती गीत प्रभावशाली थिए । अँध्यारोमा सानो दियो पनि निकै उज्यालो हुन्छ । दिनको उज्यालोमा पेट्रोल मेक्स पनि फिका हुन्छ ।

मूलप्रवाहको गायनमा आधुनिक गीत सङ्गीतर्फ अम्बर गुरुङ, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामा जस्ता गायक–गायिका हाल उदाउन नसकेको जस्तो लाग्छ कि लाग्दैन ?
कलाकारको आफ्नो आ–आफ्नो विशेषता हुन्छ, तुलना न्यायोचित नहोला । उहाँहरुको आफ्नोपन थियो । अहिले पनि आफ्नोपन छ, तुलना गर्न उचित हुँदैन ।

हाल समग्र सङ्गीत जगतमा नेपाली गायक गायिकाको नाम लिँदा कसलाई लिन सकिन्छ ? नयाँ पुस्ताका गायक गायिकामा कसको नाम लिन सकिन्छ ?
एक दुई जनाको मात्र नाम लिनु उचित नहोला, सबैको आफ्नोपन छ । लोकगीत छन्, प्रगतिशील गीत छन्, गायन सङ्गीतमा उज्यालो भविष्य छ । धेरै कलाकार मेहनतका साथ लाग्नुभएको छ । गायन अहिले राम्रो आम्दानीको स्रोत पनि बनेको छ भने यो पेशाको रुपमा विकास भएको छ ।

राम्रा गीतकार र सङ्गीतकारमा कसलाई सम्झनुहुन्छ ?
बिर्सन नसकिने गीतकार धेरै हुनुहुन्छ । तैपनि राष्ट्रिय भावनाका गीतमा गोपाल योञ्जन र शालीन गीतमा भक्तराज आचार्य, स्वरमा नारायणगोपाल, प्रगतिशील गीतमा रामेश आदिले जनताको समयको आवाज दिनु भएको छ ।

हाल यहाँका गीतको संख्या कति पुग्यो ? आफ्ना मन पर्ने गीतहरु कुन–कुन हुन् ?
मैले रचना गरेका गीतहरु तीन सयभन्दा बढी छन् । विसं २०५८ मा एउटा गीतसङ्ग्रह प्रकाशित भएको छ । मैले नेपाल भाषामा पनि आठ नौ वटा गीतको एउटा सङ्कलन निकालेको छु । मेरो गीत ‘गाउँ गाउँबाट उठ’, बिएको पाठयक्रममा पनि राखिएको छ । आफ्ना सबै सिर्जना राम्रै लाग्छ, तर पनि ‘आँधी बताससँंग जुधेर फुलेको सुन्दर फूलजस्तो’ र ‘मलाई पनि वरपीपलझैँ हुन मन लाग्छ, म कथा भनिरहन्छु’ विशेष राम्रा लाग्छन् ।

रिमिक्स गीतबारे यहाँको धारणा के छ ?
रिमिक्स गीत बन्द नै गरिनुपर्छ, कभर सङ (गीत) सम्म ठीकै छ । अनुमति मागेर प्रयोग गर्न सकिन्छ । स्रष्टालाई आम्दानी जानुपर्छ ।

गीत सङ्गीत बाहेक यहाँका अन्य रुचिबारे बताई दिनुहुन्छ कि ?
पढने, लेख्ने, गीत सुन्ने मात्र हो, अरु कुरामा घर परिवारका कारण पनि ध्यान दिन सकिएन । विसं २०४२ मा बुवा बित्नुभएपछि घरको जिम्मेवारी र व्यवसाय पनि धान्नुपरेकाले परिवार चलाउनेतर्फ मात्र लागियो । हाम्रो समयमा खेलकूद, सिनेमा थिएन । राजनीतिमा केवल चासो मात्र राखिन्थ्यो । त्यसैले अरु कुनै कुरामा मन गएन ।

र, अन्त्यमा, यहाँको जनसमुदायलाई, संस्कृति मन्त्रालयलाई वा सरकारलाई भन्नुपर्ने केही छ कि ?
आम जनसमुदायलाई भन्न चाहन्छु–नाटक, सङ्गीतका कुरा हेर्दा चनाखो गरी हेर्ने सुन्ने गर्नुहोला । त्यसले सकारात्मक, नकारात्मक के प्रभाव पार्ला भन्ने बुझेर मात्र हेर्नुहोला । भावी पुस्तालाई कुन बाटोमा डोर्‍याउला भन्ने बुझेर राम्रालाई प्रोत्साहन र नराम्रालाई दुरुत्साहन वा हेर्न छोडिदिनुपर्छ ।
सरकारलाई म यस पदमा भएकाले आफ्नै माध्यमबाट पहल गरी सहयोगको माग गरेकै छु र स्रोतको व्यवस्थापन गरिएकै छ ।

(रासस प्रमुख समाचारदाता तीर्थ भट्टराईले गरेको कुराकानी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७