‘लाहुरेनी फूल उपन्यास : लाहुरे सँस्कृतिभित्रको कथा, व्यथा र बास्तविक मनोविज्ञान’


३१ भाद्र २०७६, मंगलवार
rupa

नेपाली समाजमा लाहुरे सँस्कृतिको छुट्टै विशिष्टता र विशेषता छ । दुई सय बर्षदेखि नेपाली समाजमा हुर्केको लाहुरे सँस्कृति अझै पनि जीवन्त छ । त्यही साँस्कृतिक मनोविज्ञानले नेपाली समुदायमा गहिरो प्रभाव पारेको छ । विशेष गरी यो साँस्कृतिक मनोविज्ञानले किशोर उमेरबाट युवावस्थामा प्रवेश गरिसक्दा धेरै उथलपुथल आउँछ ।

यसले विकल्पहीन सपना, पारिवारिक जीवनमा ल्याउने परिवर्तन र व्यक्तिको जीवनमा पु¥याउने गम्भिर असरहरुको घाउ यो सँस्कृतिभित्र छ । पछिल्लो समय अर्थोपाजनमा केही सहजता ल्याउने यो सँस्कृतिबाट केही युवाहरु आर्कषित छन् ।

लाहुरे सँस्कृतिभित्रको जीवन, प्रेम र मनोविज्ञानलाई समावेश गरेर सुष्मा रुपाबुङ राईले ‘लाहुरेनी फूल’ उपान्यास लेखेकी छन् । लाहुरे सँस्कृति, त्यसभित्रको प्रेमको भावावेगमा आर्थिक तथा साँस्कृतिक मनोदशाले जीवनको सन्दर्भमा कसरी वर्चश्व जमाउँछ, त्यही कुराहरु उपन्यासमा समाविष्ट छ । लाहुरेनी फूल त्यही प्रेमकथा हो । हाम्रो समाज र अवस्थामाभित्रका कुराहरुलाई अर्थबोध गराउँछ ।

लाहुरेको गौरवगाथा धेरै लेखिएका छन् । तर, यसभित्रको लाहुरे हुनुभन्दा अगाडिदेखि लाहुरे भएर र नभएको अवस्थासम्मा किशोर र युवावस्थाको वास्तविक कथा, व्यथा लेखिएको थिएन । तर, सुष्मा रुपाबुङले लाहुरेनी फूलमा समावेश गरेकी छन् ।

यही कारणले पनि लाहुरेनी फूल चर्चित छ । सुष्मा रुपाबुङ राई जसले लाहुरे सँस्कृति र त्यसभित्रको कथा, व्यथा र बास्तविक मनोविज्ञान पनि बुझेकी छन् । लाहुरे सँस्कृतिभित्रको महत्वपूर्ण पाटोलाई चिरफार गर्ने रुपाबुङको कथा लेखन अब्बल दरिएको छ । लेखक तथा साहित्यकार सुष्मा रुपाबुङ राईसँग पत्रकार किरण राईले गरेको कुराकानीको अंश :-

लाहुरेनी फूल कस्तो उपन्यास हो ? यसले समाजको कुन चाँही पाटोलाई प्रतिनिधित्व गरेको छ ?
सामान्यतया हेर्दा यो प्रेम उपन्यास हो । प्रेमलाई मुख्य माध्यम बनाएर समाजका विभिन्न पाटोहरुलाई प्रतिनिधित्व गरेको छ । हाम्रो समाजमा भइरहेको साँस्कृतिकहरु पाटाहरु छन् । जुन हामीले फेस गरिरहेको छौं । तीनै कुराहरु उपन्यासमा समावेश छन् । प्रेम सँगसँगै सामाजिक उपन्यास भन्न रुचाउँछु । यो उपन्यास हिजोको इतिहास, अहिले सँस्कारको रुपमा रहेको लाहुरे सँस्कृतिभित्रको वास्तविक कुरा छन् । यसमा मुख्य इतिहासको पाटो छुट्टै छ । त्यसको बहस भइरहेकै छ ।

अहिले हाम्रो समाज र हाम्रा परिवेशमा हाम्रा युवाहरुमा लाहुरे जानुपर्छ भन्ने सँस्कार जस्तै बनिसकेको अवस्था छ । लाहुर जानका लागि हजारौं युवाहरु लाइन लाग्नु हुन्छ । आफ्नो पढाई छोडेर लाहुरे बन्न लाग्छन् । त्यसमा पनि ५ या ६ प्रतिशत मात्रै लाहुर लाग्छन् । लाहुर लाग्नेहरुको अलिकति सामाजिक, आर्थिक हैसियत बढ्छ । यसको पाटो छुट्टै छ । तर, ९५ प्रतिशत युवाहरु ४–५ बर्ष लाहुर भिड्नमा समय बिताएको हुन्छ । तर, फर्केर आउँदा पढाई पनि छुटिसकेको हुन्छ । पढाई छुटेपछि मानसिक तनाव शुरु हुन्छ । उनीहरुले खोज्ने पाटो के हो भन्ने सन्दर्भमा अल्मलिरहेको हुन्छ । जुन उनीहरुको सपना निरन्तर पूरा गर्न नसकेर अल्मलिरहेको हुन्छ ।

त्यसपछि ती युवाहरुको पहिलो रोजाई वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने गर्छन् । विशेष गरेर यस्ता समस्याहरु युवा वर्गहरुले भोग्दै आइरहेका छन् । विदेश गएर पनि भविष्य कस्तो छ त भन्ने कुराहरुलाई उपन्यासमा देखाउन खोजेको छु । तर, पाठकले आ–आफ्नो दृष्टिकोणले हेरेको हुन्छ । लाहुर नलागेका युवाहरु र उनीहरुले भोगिरहेको तनाव र सामाजिक पीडाहरुलाई नै उठाउन खोजेको छु ।

तपाईले पहिलो सिर्जनामै यो बिषयबस्तु किन रोज्नु भयो ?
पहिलो कुरा त आफूले लेख्ने बिषयबस्तुबारेमा बुझेको हुनुपर्छ । लाहुरे सँस्कृति मैले र मेरो परिवार, आफन्त र समाजले भोगिरहेको संघर्ष र कथा हो । जुन मुद्दाहरुले सामाजिक, मानसिक आर्थिक कुराहरुमा प्रभाव परिरहेको छ । त्यसैले मेरो पहिलो सोचाइमा आयो । अनि यही कुरालाई नै लेख्छु भन्ने मनमा आयो ।

उपन्यासभित्र लाहुरे सँस्कृतिभित्रको कुन पाटोलाई विशेष महत्व दिनु भएको छ ?
पहिला म कविताहरु लेख्थे । संग्रहको रुपमा ल्याएको छैन । हामीले देख्दै आएको छौं हाम्रो समाजमा लाहुर जानु राम्रो हो कि होइन कस्तो प्रभाव पारिरहेको र्छ भन्ने कुराहरुमा समुदायमा धेरै बहसहरु भइरहेको छ ।

यसले आर्थिक स्थिति माथि उठाए पनि सँस्कार सँस्कृतिको हिसावलगायत अन्य कुराहरुमा असर गरिरहेको छ । यसबाट देशमा केही गर्छु भन्ने युवाहरु पलायन हुन थालेका छन् । विदेशमा मुख्य र अग्रभागमा हाम्रो समुदायहरुको कुनै प्रतिनिधित्व छैन भन्ने वहसको रुपमा आइरहेको छ । लाहुरे हुने सपना बोकेर त्यसले निम्ताएको एउटा युवाको उतार चढावलाई अलिक महत्व दिन खोजेको छु ।

लाहुरेनी फूल नै किन ? लाहुरेसँगको संगत त्यसपछिको जीवन भोगाईहरुले नै हो कि ?
सबैभन्दा पहिला त यसले हाम्रो समुदाय र राष्ट्रलाई प्रभाव पारिरहेको छ । म आफू पनि लाहुरेसँग सम्बन्धित परिवार भएकाले यसलाई प्राथमिकता दिन्छु भन्ने लागेर गरेको हुँ । अर्को कुरा म यसैसँग सम्बन्धित भएको कारण भोग्न देख्न, बुझ्न पाए । त्यही कुरा महसुस गरेर लेख्न सक्छु भन्ने लागेर नै लेखें ।

उपन्यासभित्रको पात्र समाजसँग मेल खाने नै देखिन्छ । तपाईको भोगाई र देखाईसँगै चाँहि कति सम्बन्धित छ ?
यसमा कतिपय कुराहरु देखेको, सुनेको र भोगेको कुराहरु नै छन् । यसलाई म फिक्सन भन्दिनँ ननफिक्सन नै हो । तर, पनि फिक्सन हुँदाहुँदै पनि ननफिक्सन जस्तै भई दियो । किताव लेखेपछि धेरै जना खुलेर आउनु भयो । यो त मेरो कथासँग मिल्यो । मेरो जस्तै लाग्यो, यो पात्र त मै जस्तो लाग्यो । मेरो जीवनसँग मेल खायो भनेर आउनु भएपछि पक्कै पनि यो पात्रहरु समाजमा छन् भन्ने मलाई लाग्यो ।

उपन्यास वियोगान्त छ । किन यस्तो बिषयबस्तु रोज्नु भयो ? यसबाट के सन्देश दिन खोज्नु भएको हो ?
यस बिषयमा धेरै पाठकहरुले गुनासो गर्नुभयो । मुख्य पात्रको रुपमा रहेको दीपलाई कारुणिक तवरले नमारेको भए हुन्थ्यो । दीपले अलिकति भए पनि न्याय पाउनु पथ्र्यो भन्ने कुरा धेरैले गर्नुभयो । अझै पनि मलाई त्यो खालको सन्देश मेसेजहरु गरिरहनुहुन्छ । नेपालमा रहँदा धेरै कार्यक्रम गर्दा धेरै जनाले यस बिषयमा प्रश्न गर्नुभयो ।

मलाई यस्तो लाग्यो कि आफूले मात्र सुखान्तमा समाप्त गर्नुभन्दा पनि बास्तविकता देखाएर आगामी दिनहरुमा हुन नदिनका लागि के गर्नुपर्छ भन्नका लागि पनि सचेत हुन बिषयबस्तु उठान गरें । फेरि पनि हाम्रो जीवनलाई कसरी अगाडि लैजान सकिन्छ,। यस्तो कुराबाट कसरी मुक्त हुने भन्ने कुरा आम मानिसले मनन गरुन् भनेर पनि यो बिषयबस्तुलाई रोजेको हो ।

कतिपयले तपाईलाई अन्य उपन्यासकारहरुसँग तुलना गरेको पाइयो । तपाई उपन्यास लेखनमा कोहीसँग प्रभावित हुनुहुन्छ । त्यही कारणले लाहुरेनी फूलको जन्म भयो भन्छन् वास्तविकता के हो ?
पक्कै पनि आफूले पढेको कितावहरुबाट थोरै प्रभावित जोकोही पनि भइन्छ । जस्तौ प्रकाश कोविदको उपन्यास पनि काँही न काँही पढेको छु । सुविन भट्टराई, राजन मुकारुङ र उपेन्द्र सुब्बाका सिर्जना पनि पढेको छु । यसरी सबैबाट सामान्य प्रभावित हुनु स्वभाविक मान्छु म । यसमा सुविन भट्टराई प्रकाश कोविदलाई पनि पछ्याएको भन्नेहरु पनि छन् । तर त्यो कुरा म मान्दिनँ ।

यसमा प्रेमलाई किन समावेश गरें भन्दा लाहुरेसँग सम्बन्धित जुन उमेर हुन्छ, त्यही उमेरमा प्रेम पनि हुन्छ । यसमा ठयाक्कै मिलेको हो । उनको जीवनमा लाहुर जानका लागि प्रेमले कति प्रभाव पारेको छ । लाहुर जानका लागि पनि प्रेमले प्रभाव पारेको छ । प्रेम सबै ठाउँमा हुन्छ । काँही न काँही प्रेमले प्रभाव पारिरहेको हुन्छ । सामाजिक, मानसिक र हर कुरामा त्यसैले प्रभाव पारिरहेको छ ।

लेखनमा आख्यान नै रोज्नुभएको छ । समाज परिवर्तनमा तपाईले उठाउनु भएको बिषयबस्तुले कस्तो टेवा दिन्छ जस्तो लाग्छ ?
युवाहरुले के सोच्नुपर्छ भने हाम्रो देशमा अधिकार नपाइरहेको महसुस गरिरहेको छौं । यति हुँदाँहुँदै पनि आफ्नो अधिकार डटेर खटेर राम्रो तरिकाले पाइँदैन भने त्यसलाई खोसेर पनि लिनुपर्छ भन्ने हो । अर्को लाहुर जानु हुँदैन भन्ने पक्षमा पनि होइन । यसले गर्दा हाम्रो आर्थिक पक्षहलाई सवल बनाएको छ । आर्थिक हैसियत बढेको छ ।

तर, युवाहरुले के बुझनुपर्छ भने लाहुर मात्रै सबै कुरा होइन । लाहुर जानका लागि कोशिस गरियो । त्यसमा पढाई केही बर्ष छुटयो । मानसिक तनाव भयो होला । तर, पनि देशमा केही गर्न सक्छु भनेर लडेर पनि उठन सक्नुपर्‍यो । डटेर जीवनलाई नयाँ ढङ्गबाट सुचालु गर्न सक्नु पर्‍यो । यहि मात्र सबैथोक होइन ।

मुख्य प्राथमिकता राखे पनि अन्तिम यहि भनेर नराखी यो पनि एउटा अवसर हो भनेर कोशिस गर्ने र अन्य सम्भावनाको बाटो खुल्ला छन् भनेर विकल्प पनि सोच्ने हो । तर म लाहुरे भइन् मेरो सबै सकियो अब विदेश जान्छु भनेर विकल्प खोज्ने होइन । जे पनि यहि मेरो देशमा गर्न सक्छु भन्ने युवाहरुमा भाव आओस् भन्ने हो । त्यसैले यहि आशा गरेको छु ।

सानै उमेरदेखि लेखनमा हात हालिरहनु भएको छ । लेखनमार्फत के गर्ने सोच बनाउनु भएको छ ?
यो उमेर त्यस्तो सानै भन्ने त हैन । हाम्रो देश, ठाउँ, समाजमा अलिक उमेर पाको भएपछि मात्रै साहित्यमा जाने परिपाटी देखिन्छ । तर, अहिले आएर युवा पिंढीहरुको धेरै आवागमन भएको छ । मानिसहरुले पनि त्यही उमेर समूहका लागि पत्याई दिने । धेरै अनुभवको हिसावमा पनि त्यस्तो सोच सबैमा बसेको छ । साहित्यविदहरुले साहित्य समाजको ऐना भनेर धेरै परिभाषा दिनु भएको छ ।

म पनि जुन समाज र समुदायमा हुर्के त्यो कुराले पनि प्रभाव पारेको छ । गाउँमा हुर्के त्यसमा पनि लाहुरे परिवेशमा, लाहुर जानेको जीवनशैलीहरु देखेको छु । उनीहरुको कथा व्यथा देखेको र भोगेको छु । तिनै कुराहरुले प्रभाव पर्‍यो । साहित्य भनेको चिन्तन हो जस्तो लाग्छ । धेरै कुरामा चिन्तन गरियो भने यो कुरा किन, कसरी भयो होला भन्ने सानै उमेरदेखि दिमागमा खेलिरहन्छ । यही कुराहरुले लेखनमा अगाडि बढने सोंच आयो ।

आगामी दिनमा तपाई आफ्नो लेखन यात्रालाई कसरी अगाडि बढाउने सोंचमा हुनुहुन्छ ?
लेखन यात्रालाई सकेसम्म समय दिएर आफूले लेख्न सकेको कुराहरु चाहेको कुराहरु अथवा मैले यो कुरा चाँही लेख्नै पर्छ भन्ने लाग्दा र कतिपय अग्रजहरुले लेख्न छुटाउनु भएको कुराहरु लेख्न मन लाग्छ । आगामी दिनहरुमा पनि आफ्नो समाज समुदायहरुकै कुराहरु लेख्नु पर्छ । विशेष गरेर समाजमा लेख्न छुटेका कुराहरुलाई पहिचान गरेर लेख्ने सोंचमा छु ।

बेलायत जस्तो व्यस्त ठाउँमा बस्नु भएको छ । व्यस्त बेलायतको समाजमा लेखन यात्रालाई कसरी अगाडि बढाउनु हुन्छ ?
पक्कै पनि सहज छैन । तर, यस्तो रहेछ साहित्य भनेको कुरा, मैले आफूले अनुभव गरेको कुरा केही लेख्छु भनेर कोठाभित्र बसेर लेख्छु भनेर पनि आउँदैन । कहिलेकाँही काम गर्दागर्दै केही कुराहरु फुरिरहेको हुन्छ । जति व्यस्त भयो जति दुःख पायो धेरै फिलिङसहरु आउने रहेछन् । त्यहीबाट आफूलाई लेख्ने कुराहरु आउँछन् । साहित्य चाँही त्यही लाग्छ । मैले अनुभव पनि गरें । म दुई बर्षसम्म बु्रनाइमा कामै नगरी बसें ।

त्यो बेला मसँग प्रशस्त समय थियो । मैले चाहेको भए बुक लेख्ने समय थियो तर, त्यो खाली समयमा दिमाग खाली हुने तर, एउटा बुक निकालें तर त्यसमा चित्त बुझेको छ । नेपालमा कति व्यस्त थिएँ । विहानदेखि बेलुकीसम्म व्यस्त थिएँ । तर, पनि केही कुराहरु मनमा आइरहन्थ्यो । मनमा आउनै वित्तिकै लेखिहाल्थे । मसँग समय छैन भनेर, व्यस्त हुँदा लेखेको र फूर्सद हुँदा लेखेको कुरा फरक पर्ने रहेछ । त्यै भएर, त्यही सम्झेर यहाँ पनि लेख्न सक्छु भन्ने लागेको छ ।

लेखनमा हात हाल्नु भएको छ । लेखक हुनु र सामान्य मानिस हुनुमा के फरक पर्ने रहेछ ?
यसमा अलिक फिल गर्ने कुरामा फरक पर्छ जस्तो लाग्छ । लेखकले कुनै पनि हेर्ने दृष्टिकोणलाई मनैदेखि फिल गर्छ । कुनै पनि पनि विषयबस्तुलाई फरक–फरक तरिकाले गहिराईमा गएर हेर्छ । तर, सामान्य हुँदा त्यो कुराहरु हेरिदैन । सामान्य मानिसहरुले डुवेर हेर्ने कुनै कोशिस गदैनन् ।

लेखकले अलिकति भए पनि भित्र गहिरिएर जज गर्छ । साहित्यपना सबै मानिससँग हुन्छ । प्रत्येक व्यक्तिसँग हुन्छ । हाम्रो जीवनशैली, चक्र, हामी बाँचेको, हामीले भोगेको जीन्दगी नै साहित्य हो । तर लेखकसँग त्यसलाई अभिव्यक्त गर्ने शैली अलिक फरक र राम्रो हुन्छ । सबैको अनुभूतिलाई दिलाउने काम गर्छ । आम मानिसहरुसँग पनि साहित्यको कथा व्यथा हुन्छ । तर, बाहिर चाँही निकाल्न सक्नु हुन्न या चाहनु हुन्न । तर फिलिङ्स चाँही सामान्य र लेखकमा बराबरी नै हुन्छ । बाहिर निकाल्ने र ननिकाल्नेमा फरक हुन्छ ।

जीवन के हो जस्तो लाग्छ ?
यो जीवनको बारेमा कति सोचिरहन्छु । कति छन् जीवनको परिभाषा । तर, मेरो विचारमा समयसँगै भोग्दै जाने जस्तै योजना बनाए पनि योजनाअनुसार नचल्ने मानिसको यात्रा, समयसँगै निस्कने अनिश्चित यात्रा हो । समय र परिस्थिति अनुसार भोग्दै जाने कुराहरु नै जीवन हो ।

तपाईले अहिले आख्यानबाट लेखन यात्रा शुरु गर्नु भएको छ । आगामी दिनहरुमा तपाईको सिर्जना आख्यान नै हुन्छ या अरु नै गर्ने सोचमा हुनुहुन्छ ?
शुरु शुरुमा म कविता लेख्थे । कविता लेख्दा कतिपय अग्रजहरुको कुरा अनुसार कविता धेरै गहिराई हुन्छ, त्यो गहिराईमा गएर लेख्नुपर्छ भन्नुहुन्थ्यो । त्यही भएकाले पछि धेरै अनलाइन पत्रपत्रिकाहरुमा कविता लेखे पनि कविता संग्रह निकाल्ने आँट चाँहि आइरहेको छैन । तर, मलाई कविता लेख्न मज्जा लाग्छ । आख्यान चाँही सरल भाषामा लेख्न सकिन्छ । पाठक धेरै पाइन्छ ।

आफूले भनेको कुरा, लेखेको कुरा जति धेरैले सुनिदिए पढिदिए आफूलाई राम्रो लाग्छ । आख्यानले चाँहि आफूले भनेको कुराहरु सुनिदिने भनिदिने, धेरै बुझिदिने हुन्छ हामीले भनेको कुराहरु । यसैले पनि आर्कषित भएको छु । कतिपय कविताहरु आम पाठकले पढदैनन् पढे पनि बुझदैनन् । कविता चाँही साहित्यमा चासो राख्नेहरुले मात्रै पढछन् । त्यसैले पनि म आख्यानमा प्रभावित छु । सायद आगामी दिनमा पनि आख्यानमै कलम चलाउँछु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७