बैंकहरुमा चिनियाँको त्रास, फेरि पनि एटिएम ह्याकिङको जोखिम


३१ भाद्र २०७६, मंगलवार
nepali bank hacking by chiniese hacker

काठमाडौं, ३१ भदौ । विगत दुई वर्षयता पूर्वी यूरोपियन देशका एटिएम ह्याकरहरु नेपालमा पटक–पटक पक्राउ परे । त्यो घटनालाई नेपालका बैंकहरुले खासै ठूलो चासोका साथ लिएनन् । किनकी उनीहरुले विदेशी बैंकमै खाता भएका विदेशी नागरिकहरुको एटिएम ह्याक गरेर नेपालाट पैसा निकालेका थिए ।

यो घटनापछि बैंकहरुले सर्तकता त बढाए तर साइबर सुरक्षामा लगानी बढाउन सकेका छैनन् । अहिले त इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङको प्रयोग एकदमै बढेको छ । तर, प्रविधिको सुरक्षाबारे जानकारी सर्वसाधरणमा समेत कम छ । यस्तो अवस्थामा अन्तराष्ट्रिय ह्याकरहरुले नेपाललाई आफ्नो गन्तब्य बनाइरहेका छन् । यसबाट सबैभन्दा ठूलो चुनौती नेपालका बैंकहरुलाई छन् ।

तर, दुई साताअघि चिनियाँ एटिएम ह्याकहरु काठमाडौंमै पक्राउ परेपछि भने बैंकहरु आत्तिएका छन् । किनकी युरोपियन ह्याकरभन्दा चिनियाँ ह्याकहरु निकै शक्तिशाली देखिएका छन् । उनीहरु नेपालकै बैंकको पैसा चोर्न चीनबाट नेपाल आएका थिए ।

विभिन्न बैंकको एटिएमबाट पैसा निकालेर होटल जाँदा जाँदै चिनियाँ गिरोह पक्राउ परेपछि नेपालका बैंकहरुलाई यसले केही राहत त भएको छ । तर, उनीहरुको त्रास भने हटिसकेको छैन । किनकी चिनियाँहरुले सिष्टम नै ह्याक गरेर यसरी पैसा निकाल्ने जोखिम अझै कायम छ ।

हालसम्मको छानबिनमा उनीहरुले कसरी एटिएम ह्याक गरे भन्ने खुल्न सकेको छैन । सिंगापुरको एक विज्ञ टोली आएर यसबारे बुझेर फर्किएको छ । जसको रिपोर्ट दुई महिनापछि मात्र आउने बताइएको छ । बैंककै प्राविधिकहरुले समेत बुझ्न नसकेको ह्याकिङ प्रहरीले पत्ता लगाउन सक्ने कुरा भएन ।

६ चिनियाँलाई थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ भने, दुई जना चिनियाँ फरार छन् । भाषाको समस्या तथा उनीहरुले ‘राइट टू साइलेन्स’ प्रयोग गरेकाले अनुसन्धानमा प्रहरीलाई समेत समस्या भइरहेको छ । जसकारण यो अनुसन्धान जटिल बनेको छ ।

चिनियाँ ह्याकरले बैंकको परिचय नम्बर (बिआइएन) तथा एटिएम कार्ड प्रयोग गरी पैसा चोरेका हुन् । उनीहरुले पाँच बैंकबाट तीन करोड ४४ लाख निकालेका थिए । भारतीय एसबिआई बैंकको एटिएमबाट एक करोड ७६ लाख तथा विभिन्न नेपाली बैंकको एटिएमबाट एक करोड ६८ लाख निकालेको बताइएको छ ।

सबैभन्दा बढी प्रभु बैंकको बिआइएन नम्बर प्रयोग गरी दुई करोड ४३ लाख रुपैयाँ निकालिएको थियो । त्यस्तै, ग्लोबल बैंकको ३८ लाख, सनराइज् बैंकको २४ लाख, माछापुच्छ«े बैंकको २० लाख र एनआइसी एसिया बैंकको १७ लाख रकम चिनियाँ ह्याकरले निकालेका थिए ।

एउटा बैंकको कार्ड तथा बिआइएन नम्बर प्रयोग गरेर अर्को बैंकको एटिम बुथबाट रकम झिकिएकाले झिकिएको रकमको दायित्व जसको बिआइन नम्बर प्रयोग हुने हो, उसैको हुने बताएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) आबद्ध बैंकहरु यसरी चिनियाँ ह्याकरको निशानामा परेका हुन् ।

चिनियाँ ह्याकरले एटिएमबाट रकम झिक्ने क्रममा सूचना अपरेट गर्न चिनियाँ सामाजिक सञ्जाल ‘वीच्याट’ प्रयोग गरेको थिए । उनीहरुको मोबाइलको समेत प्रहरीले परिक्षण गरिरहेको छ । उनीहरुलाई विदेशबाटै गिरोहका नाइकेले वी च्याटमार्फत एटिएम बुथको लोकसन र कोड नम्बर आउने गरेको विच्याटको अनुसन्धानमा खुलेको छ । गिरोहका नाइके चीनमा रहेको आशंका गरिएको छ ।

एटिएम ह्याकपछि जम्मा भएको रकम साटिदिने ठमेलका डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुले अवैध रुपमा डलर साटिदिएका थिए ।

दुई वर्षअघि एनआईसी एरिया बैंकको स्वीफ कोड नै ह्याक गरी करोडौं रकम लुटिएको थियो । समयमै जानकारी भएकाले त्यसमध्ये धेरै रकम फिर्ता गर्न बैंक सफल भएको थियो । त्यसमा उत्तर कोरियाको लजारुस ग्रुप संलग्न भएको आशंका गरियो । सोही अनुुसार फरार विदेशीहरुविरुद्ध मुद्दा दायर भयो ।

यो घटनापछि बैंकहरुले सर्तकता त बढाए तर साइबर सुरक्षामा लगानी बढाउन सकेका छैनन् । अहिले त इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङको प्रयोग एकदमै बढेको छ । तर, प्रविधिको सुरक्षाबारे जानकारी सर्वसाधरणमा समेत कम छ । यस्तो अवस्थामा अन्तराष्ट्रिय ह्याकरहरुले नेपाललाई आफ्नो गन्तब्य बनाइरहेका छन् । यसबाट सबैभन्दा ठूलो चुनौती नेपालका बैंकहरुलाई छन् ।

चिनियाँ ह्याकरहरु विश्वभरी नै यस्ता गतिविधिमा संलग्न छन् । भारतमा समेत उनीहरुले ह्याकिङ गरिसकेका छन् । इन्डोनेसिया, फिलिपिन्स जस्ता देशहरुमा पनि उनीहरुको यस्ता गतिविधि देखिएको छ ।

नेपालमा बैंकहरुले पुरानो प्रविधिको प्रयोग गरेको चाल पाएर पनि उनीहरुले निशाना बनाएको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन् । बैंकहरुबीच धेरै नाफा कमाउनमा प्रतिस्पर्धा छ । गुणस्तरीय सेवा र बैंकिङ सुरक्षामा अब ध्यान दिनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् । दृष्ट्रिन्यूज

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७