विप्लव समूहका जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई पाँच मुद्दा


१ आश्विन २०७६, बुधबार
Biplab

झापा, १ असोज । झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जनालाई राज्यविरुद्धको कसुर, हातहतियार खरखजाना, सङ्गठित अपराध, विस्फोटक पदार्थ र चन्दा आतङ्कको अभियोग लगाइएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामा सो समूहका जिल्ला इन्चार्ज इलाम माङसेबुङ–१ घर भएका ३४ वर्षीय प्रविण मिश्र, जिल्ला प्रमुख हल्दिबारी–५ का ४४ वर्षीय टीका पोखरेल, मकवानपुर भीमफेदी–२ का २६ वर्षीय अनुल सारुमगरलगायत छन् । सोमबार दिउँसो पाँचै जनालाई विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । अभियुक्तका साथबाट हतियार र प्रचार सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

मिश्र र पोखरेललाई प्रहरीले विर्तामोडको एक चिया पसलबाट पक्राउ गरेको थियो भने मगरलाई डेराबाट दुई थान कुटवा पेस्तोल, चार राउण्ड गोली, चन्दा सङ्कलन रसिदलगायतका कागजातसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले यसअघि नै पाँचथर जिल्लाका इन्चार्ज राजु दास, ताप्लेजुङ जिल्लाका इन्चार्ज सागर लिम्बू, मेची ब्यूरो समन्वय समितिको गणेश कार्की, ताप्लेजुङका सेक्रेटरी नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य यामबहादुर लिम्बूलाई पक्राउ गरेको थियो ।

शिक्षक सरुवामा हस्तक्षेप
प्रदेश नं १ मै पहिलोपटक झापाको हल्दिबारी गाउँपालिकाले १३ शिक्षकलाई आठ दिनअघि अन्तरविद्यालयमा सरुवा गरेको विषयमा जिल्ला शिक्षा समन्वय एकाइ समितिले हस्तक्षेप गरेको छ ।

समितिले गाउँपालिकाका मातहतका विद्यालयलाई मङ्गलबार पत्राचार गरेर गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न, शिक्षकलाई रमाना नदिन र सरुवा भएको विद्यालयमा हाजिर नगराउन निर्देशन दिएको छ । गाउँपालिकाले जिल्ला समितिको पत्राचारलाई हस्तक्षेप भएको भन्दै विरोध जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय तहलाई संविधानले दिएको अधिकारबमोजिम गरिएको शिक्षक सरुवा जायज र कानून सम्मत भएको बताए ।

जिल्लाको पत्राचार आएपछि गाउँपालिका अध्यक्ष लिङ्देन र उपाध्यक्ष डम्बर गिरीले मङ्गलबार विज्ञप्ति जारी गरी गाउँसभाबाट पारित शिक्षा ऐनबमोजिम गरिएको शिक्षक सरुवाको निर्णयबाट पछि नहट्ने जनाए । गाउँ कार्यपालिकाको भदौ २३ गते बसेको बैठकले १३ शिक्षकलाई अन्तरविद्यालयमा सरुवा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७