बार्सिलोना हारबाट जोगियो


१ आश्विन २०७६, बुधबार
messi barcelona
Soccer Football – Champions League – Group F – Borussia Dortmund v FC Barcelona – Signal Iduna Park, Dortmund, Germany – September 17, 2019 Barcelona’s Lionel Messi in action with Borussia Dortmund’s Raphael Guerreiro REUTERS/Leon Kuegeler

काठमाडौं, १ असोज । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा बराबरी खेलेको छ । बोरुसिया डर्टमुन्डका कप्तान मार्को रिउसको दोस्रो हाफको पेनाल्टी प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाएपछि बार्सिलोना हारबाट जोगिएको हो ।


मंगलबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोना र घरेलु टिम बोरुसिया डर्टमन्डले गोलरहित बराबरी खेलेका हुन् । स्पेनिस क्लब बार्सिलोना आफ्नो पहिलो खेलमा नै सुरुवात गर्नबाट चुके । जर्मन क्लब डर्टमन्डविरुद्ध बार्सिलोनाले बल नियन्त्रणमा लिएपनि गोल गर्न भने सकेन ।


पहिलो रोजाइमा कप्तान लियोनल मेस्सीलाई बार्सिलोनाले बेन्चमै राखेको थियो । खेलको ५९औं मिनेटमा मेस्सी अंसु फातीको स्थानमा मेस्सी मैदानमा छिरेका थिए ।


खेलको अवधिभर डर्टमुन्डले निकै अवसर सिर्जना गरेपनि बार्सिलोनाका जर्मन गोलरक्षक स्टेगन बोरुसियाका लागि बाधक बनिरहे । पहिलो हाफमा थ्रोगन हाजार्डले उत्कृष्ट मुभ बनाउँदै रिउसलाई दिएको पासमा कप्तान रिउसको प्रहार स्टेगनले बचाएका थिए । पहिलो हाफमा दुवै टोलीले उल्लेख्य आक्रमण बुन्न सकेनन् ।


दोस्रो हाफको ५७ औं मिनेटमा बोरुसियाले पेनाल्टीको अवसर पायो । बार्सिलोनाका नेल्सन सेमेडोले इंग्लिस विंगर जेडन सान्चोलाई लडाएपछि रेफ्रीले पेनाल्टीको निर्णय दिए । तर रिउसले आफ्नो दायाँ तर्फ प्रहार गरेको पेनाल्टीलाई स्टेगनले पुरै पोस्टको दुरी डाइभ हान्दै विफल पारे । उनले रिबाउन्ड गोललाइन नजिक पुगेपनि दोस्रो प्रयासमा बचाए ।


घरेलु समर्थकमाझ निकै राम्रो प्रदर्शन गरेको बोरुसियाले थप अवसर सिर्जना गर्यो । कप्तान रिउस र पूर्व बार्सिलोना फरवार्ड पाको अल्कासेरको प्रयासमा स्टेगन पुनस् बाधक बने । खेल सकिएपछि बोरुसियाका खेलाडीको हाउभाउले पनि बार्सिलोनाविरुद्ध बराबरी उचित नतिजा नरहेको संकेत गरेको थियो ।


खेलमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सु फातीले नयाँ कीर्तिमान कायम गरे । उनी १६ वर्ष ३ सय २१ दिनको उमेरमा मैदान उत्रँदै च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडी बने । यसअघि बोजानले १७ वर्ष २२ दिनको उमेरमा खेलेका थिए । च्याम्पियन्स लिग इतिहासमै भने उनी तेस्रा कान्छा हुन् । उनले खेलको सुरुवाती समयमा राम्रो लय समातेका थिए । उनलाई सुरुवाती मिनेटमै डिफेन्डर म्याट्स हमल्सले डरलाग्दो ट्याकल गरेका थिए ।

फातीको स्थानमा दोस्रो हाफमा लिओनेल मेस्सी मैदान प्रवेश गरे । चोटका कारण विश्राममा रहेका मेस्सीले सिजनको पहिलो खेल खेल्ने क्रममा राम्रो छाप बसाउन सकेनन् । खेल अवधिभर बार्सिलोनाले पोस्टमा जम्मा एक पटक प्रहार गर्न सक्यो । बार्सिलोनाका लागि गोलरक्षक टेर स्टेगनले म्यान अफ द म्याच प्रदर्शन गर्दै अंकविहिन हुनबाट रोके ।

बार्सिलोनाले सन २००९–१० पछि पहिलो पटक च्याम्पियन्स लिगको पहिलो खेलमा गोल गर्न सकेन । बार्सिलोनाले त्यसबेला इन्टर मिलानविरुद्ध गोल गर्न सकेको थिएन । त्यस सिजन इन्टर नै उपाधि जित्न सफल रहेको थियो । यद्यपि यस नतिजासँगै समूह चरणमा बार्सिलोना पछिल्लो १४ खेलमा जर्मन टोलीविरुद्ध अपराजित नतिजा कायम गर्न सफल रहेको छ । यस क्रममा टोलीले ११ जित र ३ बराबरीको नतिजा दर्ता गरेको छ ।


समूहको अर्को खेलमा इन्टर मिलान र स्लाभिया प्राह १–१ को बराबरीमा रोकिए । पाहुना टोली प्राहाले पिटर ओलायिन्काको ६३ औं मिनेटको गोलमा अग्रता लिएको थियो । इन्ज्युरी समयमा स्टेफानो सेन्सीको फ्रिकिक प्रहार क्रसबारमा लागेर फर्केपछि निको बरेल्लाले रिबाउन्डमा गोल गर्दै हार टारेका थिए । यसै सिजन इन्टरमा आबद्ध भएका बरेल्लाले वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेका हुन् ।

समूहमा सबै टोलीको १–१ अंक छ । गोल गरेको आधारमा प्राहा र इन्टर शीर्ष २ स्थानमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७