५८६ म्यानपावर कम्पनीलाई कारोबारमा प्रतिबन्ध (सूचीसहित)


१ आश्विन २०७६, बुधबार
baideshik rojgar bivag1

काठमाडौं, १ असोज । सरकारले ५८६ वटा म्यानपावरलाई वैदेशिक रोजगारको काम गर्न प्रतिबन्ध लगाएको छ ।

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै ती म्यानपावर कम्पनीलाई रोजगारीसम्बन्धी कुनै पनि काम नगर्न सूचित गरेको छ । वृद्धि भएको धरौटी नराख्ने, अर्कै म्यानपावर कम्पनीमा गाभिएका र यसअघि खारेजीमा परिसकेका म्यानपावरबाट कुनै पनि कारोबार नगर्न–नगराउन विभागले निर्देशन दिएको हो ।

अरु केही थप म्यानपावर कम्पनीमाथि छानबिन भइरहेको विभागले जनाएको छ । विभागको निर्देशन उलंघन गरे वैदेशिक रोजगार ऐन–२०६४ अनुसार हदैसम्मको कार्बाही गरिने विभागका महानिर्देशक भीष्मकुमार कुसालले बताएका छन् ।

विभागका अनुसार २०४ वटा म्यानपावर कम्पनी यसअघि नै खारेज भइसकेका छन् । भदौ १८ भित्र १७० म्यानपावर कम्पनी अर्कैमा गाभिएका छन् । २१२ म्यानपावर कम्पनीले भने बढेको धरौटी नराख्नुका साथै अरु म्यानपावरमा पनि मर्ज भएका छैनन् । यी म्यानपावर अद्यावधिक नभएकाले अब कुनै कारोबार गर्न पाउने छैनन् ।

यसअघि नै २०७७ साल असारसम्म नवीकरण भइसकेका म्यानपावर कम्पनीले पनि कारोबार गर्न पाउने छैनन् । कारोबार माग गर्दै उच्च अदालत पुुगे पनि अदालतले आदेश दिन अस्वीकार गरिसकेको छ ।

सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै धरौटी बढाएको थियो । तीन खाले वर्गीकृत धरौटीअनुसार अब म्यानपावर कम्पनीले कामदार पठाउन पाउने छन् । दुुई करोड धरौटी राख्ने म्यानपावरले वार्षिक ३ हजार श्रमिक पठाउन पाउने छन् । चार करोड धरौटी राख्नेले ५ हजार र ६ करोड धरौटी राखेका कम्पनीले ५ हजारभन्दा बढी कामदार पठाउन पाउने छन् ।

तर, बढेको धरौटी नराखेका ५ सय ८६ म्यानपावर कम्पनीलाई भने १५ दिनभित्र फरफारक गर्न विभानले निर्देशन दिइसकेको छ । गाभिएका म्यानपावर कम्पनीको दायित्व गाभिएकै म्यानपावरमा सर्ने भए पनि अद्यावधिक नभएका र यसअघि खारेज भइसकेकाले ल्याएका डिमान्डसमेत फिर्ता गर्नुपर्नेछ ।

यसअघि पठाएका श्रमिकको श्रम अवधि हुञ्जेल पहिले राखेको ३० लाख धरौटी फिर्ता पाउने छैनन्। ती म्यानपावर कम्पनीले आफूसँग भएका पासपोर्ट, कामदारको रकम, रोजगारदाताका माग पत्र फिर्ता गर्नुपर्नेछ । अब कुनै पनि कारोबार गर्न पाउने छैनन् ।
काम गर्न बन्द गरिएका म्यानपावरको सूची

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७