सिंहदरबारको पुतली बगैंचामा ७ अर्ब ७३ करोड ५२ लाखको नयाँ संसद भवन शिलान्यास


१ आश्विन २०७६, बुधबार
samsad mome

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतली बगैंचामा निर्माण हुने संघीय संसद्को नयाँ भवनको शिलान्यास गरेका छन् ।

शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य शुरु हुनेछ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ ।

kp oli 1

निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिने छ ।

सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ ।
संसद सचिवालयका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ ।

प्रतिनिधिसभा ५ वर्ष र राष्ट्रियसभाका लागि लिइएको उक्त भवन गत वर्ष ६ वर्षसम्मका लागि भनेर सम्झौता गरिएको छ । सम्झौतामा दुई–दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख गरिएको छ । यसकारण केन्द्रको भाडा बढ्दै जाँदा सरकारलाई आर्थिक भार पनि बढ्दै जाने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७