दसैंका नाममा सार्वजनिक सवारीकाे भाडा तेब्बर


१६ आश्विन २०७४, सोमबार
Passengers heading for hometowns दशैं बहस

नुवाकोट : दसैंमा आवत-जावत गर्ने यात्रुहरुले नुवाकोटमा तोकिएको भन्दा दोब्बर भाडा तिर्न वाध्य भएका छन् । नुवाकोटका विभिन्न रुटमा सञ्चालित यातायातका साधनले तोकिएको भन्दा तेब्बरसम्म भाडा लिएको गुनासो यात्रुहरुले गरेका छन् ।

Passengers heading for hometowns दशैं बहस

काठमाडौंबाट नुवाकोटको त्रिशूलीसम्मको भाडा प्रति यात्रु १९० देखि २२० रुपैयाँसम्म तोकिएकोमा बस तथा माइक्रोबसहरुले ५५० रुपैया सम्म लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । यात्रुसंग बढी भाडा लिने सात वटा यातायातका साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बढी भाडा लिएको उजुरी पर्ने विक्तिकै ट्राफिक प्रहरी पठाएर कारवाही गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालले जानकारी दिए । दसैंको अवधिमा आइतबारसम्म वढी भाडा लिएका बस तथा माइक्रोवस गरि ७ वटालाई कारवाही गरिएको उनको भनाइ छ । तोकिएको भन्दा बढी भाडा लिएको प्रमाणित भएपछि कारवाही गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रहरी सहायक निरीक्षक विष्णुराज पुरीले जानकारी दिए । सात वटा यातायातका साधनवाट जरिवाना स्वरुप १० हजार ५ सय रुपैयाँ असुल गरिएको उनले बताए ।

प्रहरीले केही यातायातका साधनलाई कारवाही गरेर धेरैलाई उन्मुक्ति दिने गरेको यात्रुहरुको गुनासो छ । सम्वन्धित् निकायले बढी भाडा लिएका यातायातका साधनलाई उचित रुपमा कुनै पनि कारवाही गर्न नसकेको पीपलटारका एकेश पनेरुले बताए । काठमाडौंदेखि बेलकोटसम्म ५५० रुपैयाँ बस भाडा तिर्नुपरेको बेलकोटका एक यात्रुले गुनासो गरे । नुवाकोटको त्रिशूलीदेखि रसुवाको धुन्चेसम्मको भाडादर दुई सय रुपैया रहेकोमा यात्रुहरु दोव्वर भाडा तिर्न वाध्य भएका छन् ।

टिकट नकाटी रिजर्भका नाममा चलेका बस तथा माइक्रोबसले महंगो भाडादर लिएको गुनासो आएपनि गन्तव्यमा पुग्नै पर्ने वाध्यताका कारण यात्रुहरुले उजुरी नगर्दा झनै पीडित हुने गरेको प्रहरीको ठहर छ । काठमाडौंबाट नुवाकोटको पूर्वी भेग कुमरीतर्फ जाने बस सेवा सञ्चालन नहुँदा यात्रुहरु समस्यामा परेका छन् ।

वर्षायामअघि पासाङल्हामु यातायात सेवा समितिले काठमाडौंदेखि झ्याङ्लीपोखरीसम्म बस सेवा सञ्चालन गरेको भए पनि वर्षापछि समितिले बस सेवा बन्द गरेपछि कुमरी चाउथे, बेलकोट, दुईपीपल लगायतका स्थानमा जने यात्रु समस्यामा परेका हुन् ।

ती स्थानमा जाने यात्रुहरु बसको विकल्पमा मिनिट्रकमा यात्रा गर्दै आएका थिए । ट्राफिक प्रहरीले मालवाहक सवारी साधनमा यात्रु बोक्न नपाउने भन्दै कडाई गरेपछि यात्रुहरु झन समस्यामा परेका छन् । ग्रामिण सडकमा यात्रु बोक्ने एक मात्र विकल्प मिनिट्रकबाट काठमाडौंदेखि कुमरीलगायतका स्थानमा हिँडेका यात्रुलाई प्रहरीले सम्भावित दुर्घटनाको कारण देखाउँदै कडाई गरेपछि यात्रुहरु समस्यामा परेका हुन् ।

बस सञ्चालन नभएपछि विकल्पको रुपमा मिनिट्रकमा क्षमता अनुसारको यात्रा गर्न पाउनुपर्ने माग बेलकोटका रामहरि खनालले बताए । यस विषयमा प्रमुख जिल्ला अधिकारी जगदीशराज वराललाई जानकारी गराएको बताउँदै उनले विकल्पको रुपमा यात्रा गर्न पाउने अधिकार प्रहरीले खोस्न नहुने भन्दै क्षमता भन्दा बढी यात्रु नबोक्ने गरी सर्वसाधारणलाई आवत जावतमा सहजता ल्याउनुपर्ने उनले बताए ।

अन्नपूर्ण पाेष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७