प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ


२ आश्विन २०७६, बिहीबार

काठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो ।

उनलाई घुस बापतको रु पाँच हजारसहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको आयोगले आज जानकारी दिएको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार आरोपी पन्तमाथि अनुसन्धान भइरहेको छ ।

यस्तै नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशीलाई रु १० हजार घुससहित नियन्त्रणमा लिएको छ । जग्गा हालसाविक गर्न स्थलगत निरीक्षणका क्रममा ‘फिल्ड खर्च’ भनी सेवाग्राहीसँग घुस लिएको आरोप उनीमाथि लागेको छ । आरोपी जोशीलाई बुधबार पक्राउ गरिएको भए पनि आयोगले आज सार्वजनिक गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७