सरकारले सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई पार्टी कार्यकर्ता जस्तो बनायो : देउवा


२ आश्विन २०७६, बिहीबार
deuwa

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई पार्टी कार्यकर्ता जस्तो बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन (बिहीबार) वैठकलाई सम्वोधन गर्दै नेता देउवाले आगामी अधिवेशन सरकारका लागि सहज नहुने चेतावनी दिएका छन् ।

उनले सरकारको कद यस्तै रहे धेरै दिनसम्म संसद बन्द हुने चेतावनी दिए । ‘सरकारी कर्मचारी कुनै पनि पार्टीको कार्यकर्ता बन्ने र बनाउने कार्य अक्ष्यम्य अपराध हो’, कांग्रेस सभापति देउवाले संसदमा भने, ‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ता जस्तो हुने कुनै हालतमा हुन सक्दैन, धेरै दिनसम्म रोष्टम बन्द हुन्छ ।’

शान्तिपूर्ण रुपमा भेला हुँदा बाँकेमा कांग्रेस नेताकार्यकर्तामाथि आक्रमण भएको भन्दै उनले उनीहरुलाई कारबाही गराउन पनि संसद अवरुद्ध गर्न पर्नु दुःखद रहेको बताए । जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सिर्जना गर्न खोजेको उनको आरोप छ ।

सरकारले संविधानको मर्म र भावनाअनुसार काम नगरेको तथा डेढ वर्षसम्म संविधानलाई सर्वस्वीकार्य बनाउन, संविधानप्रति जनताको अपनत्व कायम गर्न र संविधानको मर्म र भावनाअनुसार बाँकी कार्यभार पूरा गर्न असफल भएको देउवाले बताए ।

उनले सरकारले न्यायपालिकामा हस्तक्षेप गरेको र व्यवस्थापिकालाई खेलौना बनाएको र सरकारलाई निगरानी गर्ने संवैधानिक निकायलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

अहिलेकै सरकारको पालामा वाइडबडी काण्ड, सुनकाण्ड, बालुवाटार जग्गा काण्डजस्ता ठूला भ्रष्टाचारका घटना भएको भन्दै उनले सिंगो राज्य संरचना नै भ्रष्टीकरण भएको दाबी लगाए । उनले भने, ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा उन्मुक्ति दिनुहुन्न छानबिन गर्नुपर्छ । त्यसका लागि प्रतिपक्षको साथ छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७