रोष्टमबाट नेम्वाङ्गले देउवालाई भने, ‘सिंहदरबार गेटमा कुटाइ खाएको बिर्सिएका छैनौं’


२ आश्विन २०७६, बिहीबार
Subash chandra Nembang

काठमाडौं, २ असोज । संघीय संसदको अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको रोष्टममा सत्ता पक्षका नेता सुवासचन्द्र नेम्वाङ्ग र प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवाबीच रोचक राजनीतिक सवाल जवाफ चल्यो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिपक्षमाथि दमन गरेको कांग्रेस सभापति देउवाको आरोपलाई नेम्वाङले रोष्टमबाटै व्याङ्ग्यात्मक जवाफ दिंदै बिगतमा कांग्रेसबाट आफूहरु दमनमा परेको स्मरण गराए ।

देउवापछि बोल्ने पालो पाएका पूर्व सभामुख नेम्वाङले कांग्रेससँग आफूहरुले प्रतिपक्षको हैसियतले लामो समय सहकार्य गरेको भन्दै बिगतमा आफूहरुले भोगे जस्तो अवस्था अहिलेको प्रतिपक्षमाथि आउन नदिने दावी गरे ।

उनले भने, ‘हामीलाई त्यो बेलाका भोगाई झल्झली सम्झनामा छन् । सत्तापक्षले चिन्न सजिलो होस् भनेर दौरा सुरुवाल टोपी लाएर जनतासँग भेट्न जाँदै गर्दा सिंहदरबारको गेटमा चेप्टिने गरी धुमधाम कुटाइ खाएको पनि झल्झली सम्झना छ । हामीले ती घटनाबाट सिकेको छौं, हाम्रो पालामा त्यस्तो हुन दिंदैनौं ।’

कांग्रेस सभापति देउवाले बाँके घटनाको प्रसङ्ग ल्याउँदै आफूहरुमाथि सत्तापक्ष दमनमा उत्रिएको आरोप लगाएका थिए । नेम्वाङले सम्झिएको घटना भने देउवा गृहमन्त्री हुँदा २०४९ सालतिरको हो ।

नेम्वाङले भने, ‘मैले कतैतिर टिप्पणी गरेको होइन । हिजो कसले कहिले के गर्नुभयो भन्नेतिर म जान खोजेको होइन । हाम्रा हिजोका पृष्ठभूमि पनि थाहा छ । तर प्रतिपक्षका रुपमा हामीले भोगेका सम्पूर्ण भोगाइहरु हामीलाई झल्झली सम्झना छ ।’

कांग्रेसले पटक–पटक संसद अवरोध गरेकोतर्फ संकेत गर्दै नेम्वाङले अब कहिल्यै संसद अवरोध नहुने व्यवस्था गर्न विशेष समिति बनेको बताएका छन् । त्यो विशेष समितिको म्याद थपिएको जानकारी दिंदै आउने अधिवेशनबाट संसद कहिल्यै अवरोध नहुने गरी विशेष व्यवस्था हुने जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७