प्रहरी कार्यालयमा कुनै कामको पैसा लाग्दैन : एसएसपी टेकप्रसाद राई


३ आश्विन २०७६, शुक्रबार
take prasad rai

काठमाडौं, २ असोज :  ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले प्रहरी कार्यालयमा कुनै कामको पनि पैसा नलाग्ने बताएका छन् ।

कतिपय सर्वसाधारणले प्रहरी कार्यालयबाट सेवा लिएको पैसा लाग्दैन बिषयमा जानकारी नहुँदा अनावश्यक रुपमा प्रलोभनमा दिने वा लिइने गरिएको उनको भनाई छ ।

ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको दुई सातापछि विहिबार योजना सार्वजनिक गर्दै एसएसपी राईले जाहेरी दिदा लाग्ने शुल्क हटाउँने बताए । उनले भने, ‘प्रहरी कार्यालयमा कुनै कामको पैसा लाग्दैन । जाहेरी लिने बेला पनि बाहिर बस्नेले त्यसवापत कम्तिमा सय रुपैयाँ लिने गरेका छन् । त्यसलाई हटाउन नमूना फारम प्रहरीले नै टाइप गरेर निकाल्नेछ ।’


एसएसपी राईले ललितपुर जिल्ला र मातहतका प्रहरी युनिटहरुमा सर्वसाधारणलाई रेडिमेड निवेदन उपलब्ध गराउने बताए । यो निवेदन ठाडो उजुरीको हुने र निशल्क पाइने उनको भनाई छ ।


‘अवैध पैसा लिएको प्रमाण देखाए बर्दी फुकाल्छु’
एसएसपी राईले ललितपुर प्रहरी प्रमुखको रुपमा कमाण्ड गर्ने हरेक प्रहरी प्रमुख लेलेमा सञ्चालित अवैध ढुंगाखानीमा जोडिएर विवादमा पर्ने गरेका छन् । यही विषयमा पत्रकारले जिज्ञासा राख्दा राईले आफु कुनै आर्थिक विवादमा नमुछिने बताए । उनले भने,‘अहिलेसम्म २४ वर्षको करियरमा मैले कसैको एक रुपैयाँ पनि खाएको छ भने बर्दी फुकालिदिन्छु ।’


‘हिजो के भयो, त्यतातिर नजाऊ । अब पुलिसको काम विशुद्ध सुरक्षा दिने हो’, उनले सुनाए, ‘कानूनविपरीतका गतिविधिलाई प्रहरीले आफ्नो अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउँछ ।’

एसएसपी राईले पाँच वर्षको अवधिमा ललितपुरको अपराधको प्रवृत्तिको विश्लेषण गरेर सोही अनुरुपको योजना अघि सारिने बताए । ‘गृहमन्त्रीज्यूले सार्वजनिक गर्नु भएको ८२ बुँदे कार्ययोजना, प्रहरी महानिरीक्षकज्यूको सांगठानिक प्राथमिकतालगायतलाई पालना गर्दै हामी अघि बढ्छौं’, राईले भने, ‘आन्तरिक शुद्धीकरणलाई पनि प्राथमकिता दिनेछु ।’

आफूमा भएको असन्तुष्टि प्रहरीले सर्वसाधारण नागरिकमा पोख्न नहुने भन्दै त्यस्तो पाइए तत्कालै कारबाही गर्ने पनि राईले बताए । राईले नेतृत्व सम्हालेको छोटो अवधिमै केही अधिकृत कारबाहीमा पनि परिसकेको उनले बताए ।

नेपाल प्रहरीको विशेष ब्यूरोमा लामो समय अनुसन्धानमूलक काम गरेका राई अनुसन्धानमूलक काममा गहिरो दख्खल राख्ने प्रहरी हुन् । ०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका राईको सेवाको अधिकांश समय ‘इन्टलिजेन्स’ शाखामा वितेको छ ।

आतंकवाद र विशेष प्रकृतिको अनुसन्धानमा खटिने नेपाल प्रहरीको गोप्य निकाय स्पेसल ब्युरो (हाल विशेष ब्युरो) मा सबैभन्दा काबिल प्रहरी अधिकृतको रुपमा उनलाई लिइन्छ ।

प्रहरीको यतिलामो सेवा अवधिमा उनले यसअघि एक पटक मात्रै बाँके प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका थिए । नेपाल प्रहरीका सीमित ‘एफबीआई ग्राजुएट’ मध्ये उनी पनि एक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७