मेरो काम मुर्छित सपना जगाउनु नै थियो : प्रधानमन्त्री

‘संविधान कार्यान्वयनमा पक्ष–प्रतिपक्ष हुँदैन’


३ आश्विन २०७६, शुक्रबार
pm oli

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी ओलीले मुलुकमा विकासका लागि जग बनेको र अब विकासले तीव्रता पाउने बताएका छन् ।

संविधान दिवस मुल समारोह समितिले काठमाडौँको टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो बर्षलाई सरकारले आधार बर्षका रुपमा घोषणा गरेको र त्यो आधार तयार भएकाले अब तला थप्दै थप्दै अघि बढ्ने प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले आफूले विकास र समृद्धिका लागि मुर्छित सपनामाथि पानी छरेकै हो भन्दै अगाडि भने, ‘मेरो काम मुर्छित सपना जगाउनु नै थियो ।’ तर उनले आफू र आफ्नो दल सपनाका सौदागर नभएको भन्दै आफूले पहिला गरेको प्रतिवद्धता अनुसार नै अब केही हुन्छ भनेर नै आम जनतामा आसाको सञ्चार पैदा भएको बताए ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका पक्षमा पक्ष र प्रतिपक्ष नहुने भन्दै त्यसमा सबैको भूमिका उस्तै रहनुपर्ने धारणा राखे । उनले संविधानप्रति असन्तुष्टि राख्ने र संविधानभन्दा बाहिर रहेकाहरुलाई राजनीतिक मुलधारमा आउन ढिला नगर्न आग्रह पनि गरे ।

‘राजनीतिक आन्दोलनको चरण पुरा भएको छ । अब पनि राजनीतिको नाममा शान्तिसुरक्षा र एकता खल्बल्याउने काम भए सरकारले त्यसलाई रोक्छ,’ प्रधानमन्त्रीले भने, ‘लोकतान्त्रिक प्रणाली सुदृढ भए मात्रै जनता सुखी हुन्छन् ।’

प्रधानमन्त्री ओलीले मृत्युलाई आफूले नजिकैबाट देखेको भन्दै आफू जस्तै धेरैको प्रयासबाट मात्रै अहिलेको परिवर्तन सम्भव भएको दावी गरे । उनले नेपालीहरुको सम्मृद्धिको सपना साझा सपना भएको भन्दै त्यो पुरा भएरै छाड्ने पनि दावी गरे ।

‘मुलुकले काँचुली फेर्छ । हाम्रा सपना पूरा हुन्छन् । धैर्य गरौं । मुलुक बन्ने ठोस आधार तयार भएका छन्’ प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले दोहान नगरिएका प्रकृतिक स्रोत रहेको, दृष्टिकोणसहितको सरकार भएको र जनसंख्याकि आधार छ समेत भएकाले अव मुलुक बन्न समय नलाग्ने प्रष्ट पारे ।

उनले थोरै चिन्ता फूर्सदिलो युवापंक्तिमा भएको पनि बताए । ‘मलाई थोरै चिन्ता फूर्सदिलो युवा पंक्तिमा छ, जसको ऊर्जा रचनात्मक काममा भन्दा सामाजिक सञ्जालमा खर्च भइरहको छ,’ उनले सरकारको आलोचना गर्नेहरुलाई लक्षित गर्दै भने, ‘युवाहरुलाई देश बनाउने अवसरमा सहभागी बन्न म आग्रह गर्छु ।’ उनले आजको आवश्यक्ता उछृङखलता र अराजकता गर्ने नभएको भन्दै असन्तुष्टिको खेतीलाई उकेरा लाउने नभई नतिजामुखि बनाउन सबैको सहकार्य अवाश्यक रहेको बताए ।

सम्बोधनको अधिकांश समय सरकारले गरेका कामको चर्चा गरेका प्रधानमन्त्री ओलीले उच्च आर्थिक वृद्धिदर हासिल भएको, विकासले गति लिन लागको र संघीयता कार्यन्वयनमा अघि बढेको चर्चा गरेका थिए ।

असोज ३ गते सबैभन्दा ठूलो चाडको दिन भएको भन्दै उनले संविधान संशोधन गरेर अघि बढ्न सकिने पनि बताए । ‘जुनबेला जे मिल्दैन, त्यसलाई सच्चाउँदै अघि बढ्न सकिन्छ’ प्रधानमन्त्रीको भनाई थियो । धानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताए ।

पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहोर्‍याए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो । समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए । रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७