सञ्चालनमा रहेका ३२ विमानस्थलमध्ये १३ वटा मात्रै नाफामा, यी हुन् नाफामा रहेका विमानस्थल


३ आश्विन २०७६, शुक्रबार
Tribhuvan International airport

काठमाडौं, ३ असोज । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिंदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३२ विमानस्थलमध्ये १३ वटाले मात्र नाफा कमाइरहेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ विमानस्थलले नाफा कमाए । चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज र धनगढी विमानस्थल फाइदामा छन् ।
त्यस्तै लुक्ला, जनकपुर, भरतपुर, जोमसोम र सिमिकोट विमानस्थलले फाइदामा छन् । विमानस्थलले लगानीअनुरुप कुनै प्रतिफल दिएका छैनन् । प्राधिकरणको वार्षिक साधारण खर्च मात्र धान्ने गरेका छन् ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार लगानी गरिएका विमानस्थलबाट मुस्किलले वार्षिक साधारण खर्च मात्र धान्ने गरेका छन् । विकास खर्चमा त्यो रकम समावेश हुँदैन । प्राधिकरणले गत आर्थिक वर्षमा रु छ अर्ब र विमानस्थल शुल्कबापत रु दुई अर्ब गरी जम्मा रु आठ अर्ब नाफा कमाएको थियो । वार्षिक बजेटको तुलनामा यसलाई नाफा कमाएको मान्न सकिन्न ।

उक्त आर्थिक वर्षमा प्राधिकरणले रु ४५ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको थियो ।
प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकमुष्ट रु २३ अर्ब विनियोजन गरिएको छ ।

प्राधिकरणको विवरणमा मुलुकभर रहेका ५० वटा विमानस्थलमध्ये हाल ३२ सञ्चालनमा रहेका छन् । प्राधिकरणले नाफा कमाउनेभन्दा पनि राज्यको नीतिअनुरुप सेवामूलक हिसाबले धेरै विमानस्थल सञ्चालनमा रहेकाले नाफा आर्जन गर्न नसकेको महानिर्देशक पोखरेलको भनाइ छ ।

सन् २०२० को शुरुआतमै सञ्चालन गर्ने लक्ष्यका साथ भैरहवा विमानस्थल निर्माण कार्य तीब्र गतिमा अघि बढको छ । हालसम्म विमानस्थलको ७४ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित सन् २०२१ अगाडि नै निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्य प्रभावकारीरुपमा भइरहेको छ । अहिले यो आयोजनाको प्रगति ३० प्रतिशतभन्दा बढी रहेको छ ।

चालू आवका लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । पहिलो पटक धावनमार्गको स्तरोन्नति ‘रनवे रिह्याव’ हालै सम्पन्न भएको थियो भने सेप्टेम्बर महीनादेखि विमानस्थलको ‘ट्याक्सी वे’ स्तरोन्नतिको काम धमाधम भइरहेको छ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानको शुरुवात हुनु अगाडि नै विमानस्थलको स्तरोन्नतिको काम सकिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७