तीन एसएसपी, दुई एसपीसहित नेपाल प्रहरीमा करिब छत्तीस सय दरबन्दी थप्न सिफारिस


४ आश्विन २०७६, शनिबार
156903669970563301 426883311283286 48661

काठमाडौं,४ असोज । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६ सय दरबन्दी थप्न सिफारिस गरेको छ । ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २ उपरीक्षक (एसपी सहित ३ हजार ५ सय ९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ (ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेस गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए ।पछिल्लो अभिलेखअनुसार प्रहरीमा प्राविधिक र गैरप्राविधिकतर्फ ७५ हजार ९ सय २७ को दरबन्दी रहेकामा करिब ४ हजारको पदपूर्ति हुन सकेको छैन । कायम दरबन्दीमै पदपूर्ति नभएका बेला गृहले प्रहरी संख्या बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो । प्रस्ताव पारित भए सरकारलाई दीर्घकालीन रूपमा आर्थिक भार बढ्नेछ । एकजना प्रहरीलाई भर्नादेखि तालिम सकेर कार्यक्षेत्र पठाउँदासम्म ५ देखि ८ लाख रुपैयाँ खर्च हुन्छ । सम्बन्धित प्रहरी सेवामा रहँदाबाहेक उसको अवकाश र प्रहरीका पतिरपत्नीका लागि समेत सरकारले आर्थिक दायित्व बेहोर्नुपर्छ ।

संघ र प्रदेश सरकारमातहत रहने प्रहरीका दुई छुट्टाछुट्टै विधेयक दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ तर प्रहरी ऐन, २०१२ र त्यसअन्तर्गत बनेको नियमावली, २०६९ भित्र रहेर प्रहरी प्रधान कार्यालयले नयाँ दरबन्दी बढाउन लबिइङ गरेको थियो । ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने’ तथा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय’ सम्बन्धमा व्यवस्था गर्न बनेका दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

दुवै विधेयक प्रमाणीकरण नभई संघीय सरकारले दरबन्दी थप्न प्रस्ताव अनुमोदन गरे संघअन्तर्गत रहेको प्रहरीले दरबन्दी पदपूर्ति गर्न पाउँछ । प्रहरी प्रधान कार्यालयले थपिएको दरबन्दीमा स्थानीय तहका केन्द्र र तहबाटै माग भएर आएका प्रस्तावअनुसार पूर्ति गरिने जनाएको छ । गत साता मात्रै अर्थ मन्त्रालयले गृहको प्रस्तावअनुसार प्रहरीमा नयाँ दरबन्दी थप्न स्वीकृति दिएको थियो ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार गौतम बुद्ध विमानस्थल सुरक्षा प्रमुख र ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमका लागि एसएसपीको दरबन्दी प्रस्ताव गरिएको छ । त्यस्तै ‘ब्यान्ड बाजा’ तर्फ पनि प्राविधिक एसएसपी कायम गर्ने प्रस्ताव छ ।

१ सय ८६ प्रहरी युनिट स्थापना गर्न नयाँ दरबन्दी बढाइएको उनले बताए । हाल प्रधान कार्यालयसहित देशभर प्रहरीको युनिट संख्या २ हजार ५ सय ६४ छ । बढाइएको दरबन्दीबाटै स्थानीय तहका केन्द्रनजिकै प्रहरी युनिट स्थापना गरिनेछ । ‘७ सयभन्दा बढी प्रहरी युनिट स्थापना गर्नुपर्ने प्रस्ताव आएकामा करिब २ सय इलाका र चौकीका लागि दरबन्दी स्वीकृतिको माग गरिएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘धेरैजसो युनिट स्थानीय तहका केन्द्र रहेका ठाउँमा स्थापना गर्नुपर्ने अवस्था छ ।’ मुलुक संघ, प्रदेश र स्थानीय सरकारको अवधारणामा गएपछि दैनिक शान्तिसुरक्षा व्यवस्थापन र अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रहरी जनशक्ति अपुग भएको पोखरेलले बताए । पछिल्लो १५ वर्षमा मात्रै सरकारले प्रहरीमा करिब २० हजार दरबन्दी थपेको छ । २०६० सालसम्म प्रहरीमा ५५ देखि ६० हजार जनशक्ति कायम थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७